मापदण्ड विपरीत इँटाभट्टा सञ्चालन : मेयर रोक्ने, वडाअध्यक्ष अनुमति दिने

 मंसिर २१, २०७५ शुक्रबार १५:२२:९ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – नमोबुद्ध नगरपालिकामा सञ्चालित सबै इँटाभट्टा मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ ।

नगरको केन्द्र रहेको २ र ३ नम्बर वडामा पर्ने भकुण्डेबेशीमा सञ्चलित कुनै पनि इँटा उद्योगले मापदण्ड पूरा नगरेको वातावरण विभागले जनाएको छ । वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण विभागका प्राविधिक उपसचिव पदमिरा डंगोलले नमोबुद्धमा सञ्चालन भएका इँटा उद्योगीहरुले नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड कार्यान्वयन नगरेको, उद्योगहरुबाट निस्कने धुवाँको परीक्षण गर्नको लागि चिम्नीमा हुनुपर्ने भर्‍याङ र प्लेटफर्म नहुँदा सबै उद्योगबाट नमुना संकलन गर्न नसकिएको, उद्योगीहरुले मापदण्डबारे जानकारी नभएको जानकारी दिने गरेको बताउनुभयो ।

विभागले शिव शक्ति इँटा उद्योग, नमोबुद्ध नगरपालिका २ मा स्याम्प्लीङ होल भए पनि नेपाल सरकारले जारी गरेका ऐन, नियम, मापदण्ड अनुरुप स्याम्प्लीङ प्वाइन्ट र स्याम्प्लीङ प्लेटफर्म नभएको, आईईको प्रतिवेदनको प्रतिबद्धता अनुसार नियम पालना नगरिएको, धुँलोका कणहरुलाई कम गर्न कुनै पनि रोकथामका उपायहरु नअपनाएकोलगायतका कुराहरु समेटिएको प्रतिवेदन बुझाएको थियो ।

वातावराणीय हिसाबमा उद्योग दर्ता गर्नुपूर्व मान्नुपर्ने १७ शर्तमध्ये कुनै पनि पालना नभएपछि स्थानीय सरकारले अहिले ती इँटा उद्यँेगलाई हटाउन लागेको छ । प्रारम्भिक वातावरणीय परीक्षण  प्रतिवेदन र नेपाल सरकार वातावरणीय मापदण्डले भकुण्डेमा सञ्चालित ८ मध्ये कुनै पनि उद्योगले पूर्णरुपमा नियम पालना नगरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

नमोबुद्ध वडा नम्बर २ र ३ मा पर्ने सोती कोरिडोरको ५ सय मिटरको परिधिमा ५ वटा इँटा उद्योग छन् भने डेढ किलोमिटरको दूरीमा ८ वटा इँटाभट्टा सञ्चालनमा छन् । बस्तीबाट १ किलोमिटर, वनबाट ३ किलोमिटर, विद्यालय, मन्दिर, खोला आदीबाट टाढा उद्योग रहनुपर्ने कानुनी व्यवस्था छ ।

नमोबुद्ध नगरपालिकाले एभरेष्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरमार्फत गरेको वायुको गुणस्तर अध्ययन प्रतिवेदनले ९७ प्रतिशत प्रदुषण इँटाभट्टाले, २ प्रतिशत सवारीसाधनले र १ प्रतिशत अन्य कारणले भएको देखाएको छ । प्रदुषण बढेर जनस्वास्थ्य, कृषि र उत्पादन समेतमा असर परेको भन्दै गएको वर्ष विभिन्न ३३ वटा संस्थाले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए ।

मेयर रोक्ने, वडा अध्यक्ष अनुमति दिने

नगर क्षेत्रमा रहेका इँटा उद्योग बन्द गराउन नगर कार्यपालिकाको २०७५ साउन १ गते बसेको बैठकले इँटाभट्टाबारे गरिएका सबै निर्णय खारेज गर्‍यो । त्योभन्दा अगाडि भट्टा रोक्न नगरले विभिन्न समिति निर्माण गर्‍यो ।

नमोबुद्ध नगरमा इँटाभट्टाको अवस्थाका बारेमा वडा नम्बर २ का अध्यक्ष सञ्जिव ढकालको अध्यक्षतामा वडा नम्बर ३ का अध्यक्ष रामशरण हुमागाई, वडा नम्बर ४ का अध्यक्ष उद्धव काफ्ले, वडा नं ७ का अध्यक्ष धर्मसिंह तामाङ, नगरका लेखा अधिकृत ढुण्डीराज दाहाल, वातावरण अधिकृत सन्तोष काफ्ले र प्रहरीका एक प्रतिनिधि सदस्य रहेको समिति २०७४ मंसिर ८ गते बनायो ।

तर भट्टाको अध्ययन गर्न बनाएको समितिका संयोजक वडा नम्बर २ का अध्यक्ष ढकालले नै इँटा उद्योग स्थापनामा अनुमति दिएको खुलेको छ । आफैँ सदस्य भएको कार्यपालिका तथा अध्ययन समितिको संयोजकले नै नगरको निर्णय विपरीत उद्योग स्थापना गर्न अनुमति दिएको भेटिएको हो ।

जनप्रतिनिधि निर्वाचित हुने वित्तिकै नगरलाई वातावरण मैत्री बनाउने उद्घोष गरेका नगर प्रमुखको निर्णयलाई लत्याउँदै वडा अध्यक्ष ढकालले वडा सचिव मुरारी सत्यालले तयार गरेको सत्यनारायण इँटा उद्योगको सर्जिमिन मुचुल्कामा प्रमाणित गरिदिएका थिए ।

सत्यनारायण इँटा उद्योगमा अघिल्लो मिति राखेर ढकालले सिफारिस गरेको देखिन्छ । ढकाल वडा अध्यक्ष हुनु अगाडि कविराज श्रेष्ठ सञ्चालक रहेको फुलवारी इँटा उद्योगमा लेखापाल काम गरेका थिए । भट्टा उद्योग बनाउन सिफारिस गरे बापत ढकालले सत्यनारायण उद्योगबाट जेसीबी नै लगेर आफ्नो वडामा बाटो खानाएका थिए ।

नेताको लगानीमा वडाअध्यक्षको साथ

२०७२ सालको भूकम्प गएपछि अहिलेका मेयर तत्कालीन एमालेका दलीय संयन्त्र प्रतिनिधि टीपीशर्मा तिमल्सिना, तत्कालीन नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने नगर सभापति कुन्साङ लामा, कांग्रेसकै अर्का नेता इन्द्रबहादुर दाहाल, नेता गोपी तिमल्सिनालगायतको हस्ताक्षरमा शिव शक्ति इँटा उद्योगको सर्जिमिन मुचुल्कामा हस्ताक्षर गरे र इँटा उद्योग सञ्चालन भयो ।

त्यसपछि भकुण्डे फाँटमा ८ वटा भट्टा स्थापना भएका छन् । संयन्त्रको निर्णयका आधारमा स्थापना भएको शिव शक्ति इँटा उद्योगमा कांग्रेस नगर सभापति लामाले नै व्यवसायिक साझेदारी गरेका हुन् ।

भकुण्डेमा जति पनि भट्टा छन् ती सबै वडा अध्यक्षको सहयोगमा विभिन्न दलका नेताहरुले सञ्चालन गरिरहेको खुलेको छ । जनप्रतिनिधि बहाल भएपछि नमोबुद्ध २ मा दर्ता भएको सत्यनारायण इँटा उद्योगमा कांग्रेसका पूर्व सभासद चन्द्र महर्जनको लगानी छ ।

नगरपालिकाले इँटा उद्योग दर्ता र नवीकरण समेत रोकेर कृषकलाई समेत जग्गा उपलव्ध नगराउन आब्हान गरे पनि महर्जनको उद्योगको लागि १० नम्बर वडाका अध्यक्ष रामकृष्ण उपाध्यायले नै जग्गा उपलब्ध गराएका हुन्  । अध्यक्ष–उपाध्यायले आफू निर्वाचित हुनुभन्दा २ वर्षअघि नै जग्गा दिने सहमति भएको बताए ।

कांग्रेसका अर्का नेता इन्द्रबहादुर दाहालले पञ्चकन्या इँटा उद्योगमा लगानी गरेका छन् । वडा नं ३ का सदस्य रामकुमार मैनालीको जयशिवशक्ति र शंकर इँटा उद्योगमा गरी उनको २५ प्रतिशत शेयर छ ।

तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट नमोबुद्ध २ मा वडा अध्यक्षका प्रत्यासी कविराज श्रेष्ठले फुलबारी इँटा उद्योगका सञ्चालक हुन् । तत्कालीन नेकपा एमालेका जिल्ला सचिवालय सदस्य रहेका जगत शाहको भैरवकुण्ड इँटा उद्योगमा लगानी छ । शाह काभ्रे इँटा उद्योग व्यवसायी संघका सचिव समेत हुन् ।

भकुण्डेवेशीका सबै इँटा उद्योगले जनप्रतिनिधि, दलका नेताका साथै पैसा र पहु“च हुनेसँग साझेदारी गरेको पाइएको छ । भकुण्डेमा स्थापना भएका सबै इँटा उद्योगमा भक्तपरका व्यवसायीहरुको लगानी छ ।

जग्गा व्यवस्थापन गरिदिने, स्थानीयले विवाद र अवरोध गरे समाधान गरिदिने भन्दै उद्योगीहरुले सानो हिस्साको शेयर स्थानीयहरुलाई दिने गरेका छन् ।  भैरवकुण्ड इँटा उद्योगका सञ्चालक केदार आचार्यले स्थानीयको हिस्सा थोरै हुने दाबी गर्नुभयो ।

स्थानीय सरकारलाई अवज्ञा गर्दै व्यवसायी

भकुण्डेमा सञ्चालन भएका इँटाभट्टा उद्योगले वातावरणमा पारेको प्रभाव र मापदण्ड विपरीत संचालन भएको भन्दै स्थानीय सरकारले बन्द गर्न दिएको निर्देशन अटेर गर्दै पुनः इँटा बनाउन लागेका छन् ।

उनीहरु जसरी पनि इँटा उद्योग सञ्चालन गर्ने पक्षमा छन् । प्रहरीको सहयोगमा स्थानीय सरकार नमोबुद्ध नगरपालिकाले माइकिङ नै गरेर सञ्चालन नगर्न भनेको भए पनि उनीहरु इँटा बनाइरहेका छन् ।

भट्टा उद्योगबाट निस्किएको कालो धुँवा र कणले स्थानीयहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याएको प्रमाणसहित नगरपालिकामा केही महिनाअघि ३३ वटा संस्थाका हजारौं व्यक्तिहरुले ज्ञापन पत्र बुझाएका थिए ।

खोलाको पानी फोहोर भएको, पानीका मुहानहरु सुक्दै गएको, खेतीयोग्य जमिन उजाड भएको तथा मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको स्थानीयहरुको ज्ञापनपत्र उल्लेख गरिएको थियो ।

काभ्रे इँटा व्यवसायी संघका अध्यक्ष जितेन्द्र खयमालीले उद्योग सञ्चालन चलाउन दिनुपर्ने बताउनुहुन्छ । ‘रोजगार दिएका छौं, भूकम्पका घरहरु बनाउन केही सजिलो भएका छन्, यो अवस्थामा भट्टा बन्द गर्नु हुँदैन’, खयमालीले भन्नुभयो ।

मापदण्डमा नभएको भन्दै नवीकरण नगरेको नगरपालिकाले उद्योग नै बन्द गराउने चेतावनी दिए पनि इँटा उद्योगीहरुले त्यसको अवज्ञा गर्दै आएका छन् । इँटा बनाउने सिजन शुरु हुन लागेकोले व्यवसायीले इँटा निर्माणको तयारी थालेका छन् भने नगर कार्यपालिकाले भने सञ्चालन गर्न नदिने बताएको छ ।

कर्मचारीलाई प्रभावमा पारेर पुरानो मितिको सिफारिस बनाएर धमाधम उद्योगहरु स्थापना हुन थालेपछि नगर कार्यपालिको साउन १२ गतेको बैठकले इँटाभट्टा सञ्चालनको लागि  सिफारिस रोक्का गर्ने निर्णय गदै सञ्चालनमा रहेकालाई मापदण्ड अनुरुप बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

२०७४ चैत ९ गतेको बैठकले दर्ता नवीकरण रोक्ने निर्णय गरेको थियो भने २०७५ साउन १ मा इँटाभट्टा सम्बन्धी सबै निर्णय खारेज गरेको थियो । नगरमा कर्मचारीलाई प्रभावमा पारेर विभिन्न नाममा उद्योग स्थापना भएका छन् ।

नमोबुद्ध ३ मा पञ्चकन्या, जय शिवशक्ति र शंकर इँटा उद्योग दर्ता भएका छन् । जनप्रतिनिधि बहाली भइसकेपछि नमोबुद्ध ३ मा दर्ता र नामसारी भएका ती उद्योगको लागि वडा सचिव सरस्वती कार्कीले सर्जिमिन मुचुल्का तयार पारेकी हुन् ।

२०७४ जेठ २ गते सर्जिमिन तयार भएको पञ्चकन्या इँटा उद्योग असार २० गते दर्ता भएको छ भने जय शिवशक्ति २०७४ वैशाख १७ मा मुचुल्का तयार भएर असार १८ गते दर्ता भएको छ । २०७३ मंसिर २६ मा नमोबुद्ध ४ मा दर्ता भएको शंकर इँटा उद्योगले २०७३ चैत्र ०४ गते ठाउँसारी प्रकृया शुरु गरेर २०७४ साउन ९ गते दर्ता गरिसकेको छ ।

पछिल्लो समय नगरका ४५ परिवारले आफ्नो जग्गा भाडामा नदिने प्रतिवद्धतासहित हस्ताक्षर पनि गरेका छन् । नगर प्रमुख टंकप्रसाद (टीपी) शर्मा उद्योग दर्ता गर्दाका शर्त कुनै पनि पालना नगरिएकोले उद्योगको दर्ता र नवीकरण नगरेको बताउनुभयो ।

आफूहरु कार्यपालिकाको निर्णय कार्यान्यवन गर्न तर्फ लाग्ने प्रमुख शर्माको भनाई छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया