अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा किन बढ्छ पेट्रोलियम पदार्थको भाउ

 जेठ ३०, २०७५ बुधबार १५:३१:१६ | नवराज फुयाँल

काठमाडौं - केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा फागुन ३ गते (फेब्रुअरी १५) अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल (१५८.९९ लिटर) ६४ डलर थियो ।

यसबीचमा अन्तर्राट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सबैभन्दा धेरै ८० डलर पुग्यो । अहिले त्यो कच्चा तेलको मूल्य प्रति ब्यारेल ७७ डलर छ । 

तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भैराखे पनि नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य लगातार बढिरहेको छ । ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४ महिना पुग्दै गर्दा पेट्रोलियम पदार्थको मूल्य भने ६ पटक बढिसकेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलर हुँदा नेपालमा प्रतिलिटर पेट्रोलको मूल्य ११० रुपैयाँ थियो । अहिले प्रतिब्यारेल ७७ डलर हुँदा पेट्रोलको भाउ १ सय १३ रुपैयाँ छ । कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० हुँदा ९२ रुपैयाँमा पाइने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले पछिल्लो पटक जेठ १९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  

पाँच वर्षअघि २०७० साल असारमा १ सय ४० रुपैयाँ प्रतिलिटरसम्म पुगेको पेट्रोलको मूल्य २०७३ साल साउनमा झरेर ९७ रुपैयाँसम्म आएको थियो । त्यो फेरि निरन्तर उकालो लाग्दै अहिले १ सय १३ रुपैयाँसम्म पुगेको हो । नेपाल आयल निगमले ‘स्वचालित मूल्य प्रणाली’बाट मूल्य समायोजन गरिएको जनाउने गरेको छ ।

‘स्वचालित मूल्य प्रणाली’ अपनाइएको भन्दै सरकारले पनि निगमलाई मूल्य बढाउन स्वतन्त्र छाडिदिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको समयमा पनि नेपालमा भने घट्नुको सट्टा उल्टै बढ्ने गरेको छ ।  

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको बेलामा पनि नेपालमा नघट्ने कारण बताउँदै नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले भन्नुभयो ‘स्वचालित मूल्य प्रणालीसँगै अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको भाउ सबैको मूल्यांकन गरेर मूल्य समायोजन गर्दा नेपालमा मूल्य नघटेको हो ।’ 

स्वचालित मूल्य प्रणाली भनेको विश्व बजारमा बढ्दा बढाउने र घट्दा कम गर्ने हो । तेलको मूल्य तोक्ने यो सबैभन्दा उपयुक्त प्रणाली पनि हो । उहाँले भन्नुभयो, यसको उद्देश्य जसले जति उपभोग गर्छ त्यहीअनुसार मूल्य तिर्नुपर्छ भन्ने पनि हो । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा पनि नेपालमा त्यसको मूल्य बढ्ने कारण डलरको भाउमा हुने उतारचढावसँग जोडिएको छ । फागुन ३ गते (फेब्रुअरी १५)का दिन १ डलरको किन्न १०२ रुपैयाँ भए पुग्थ्यो, तर अहिले १ डलर किन्न १०७ रुपैयाँ लाग्छ । डलरको भाउ घटबढसँगै निगमले भारतबाट किन्ने र सरकारले अत्यधिक कर लगाएका कारण पनि नेपालमा पेट्रोलियम पदार्थको भाउ बढ्ने गरेको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटबढ भए पनि नेपालले भारतसित प्रशोधन गरिएको तेल किन्ने गरेको छ, जुन अन्तर्राष्ट्रिय भाउ अनुसार तय हुँदैन । यसले पनि मूल्यमा फरक पार्छ । प्रवक्ता गोइतका अनुसार भारतीय आयल कर्पाेरेसन (आइओसी) बाटै मूल्य बढेर आउने भएकाले नेपाली बजारमा इन्धनको भाउ वृद्धि हुने गरेको छ ।   

भारतमा ६६ रुपैयाँ ५६ पैसा, नेपाल आइपुग्दा ११३ रुपैयाँ 

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग रक्सौल र बरौनी डिपोबाट उठाउने पेट्रोलकोऔसत खरिद मूल्य ६६.५६ रुपैयाँ पर्छ । त्यही पेट्रोल नेपाल ल्याएर डिपो हुँदै उपभोक्तासम्म पुग्दा ११३ रुपैयाँ पर्ने गरेको छ ।  

त्यस्तै डिजेल ६९.६७ र मट्टितेल ६७.८३ रुपैयाँमा भारतसँग खरिद गरेर ल्याउने गरेको निगमका कार्यकारी निर्देशक सुशील भट्टराइले बताउनुभयो । विभिन्न प्रकारका कर तथा शूल्क जोड्दा भारतमा खरिद गरेकै मूल्यमा नेपालमा बिक्री गर्न नसकिने अवस्था रहेको भट्टराईको तर्क छ ।  

सरकारले अहिले एक लिटर पेट्रोलमा विभिन्न शीर्षकमा झण्डै ३९ रुपैयाँ राजश्व लिने गरेको छ । भन्सार शुल्क, सडक मर्मतसम्भार कर, पूर्वाधार कर, प्रदुषण कर, मूल्य स्थिरीकरण कोष शुल्क, मुल्य अभिवृद्धि कर गरेर सरकारले एक लिटर पेट्रोलबाट ३९ रुपैयाँ कर असुल्ने गरेको छ । त्यसमाथि निगमले एक लिटर पेट्रोलमा प्रशासनिक एवं बिक्री खर्च र प्राविधिक नोक्सानी खर्च शीर्षकमा थप १ रुपैयाँ ४१ पैसा जोड्छ । बीमा खर्च, बिक्रेताको नाफा समेत थप्नु पर्दा कम मूल्यमा खरिद गरे पनि बिक्री मूल्य बढी हुने गरेको निगमको तर्क छ ।  

केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि अहिलेसम्म ६ पटक मूल्यवृद्धि भइसकेको छ । १०३ रुपैयाँ रहेको पेट्रोलको मूल्य यो अवधिमा १० रुपैयाँसम्म वृद्धि हुँदै ११३ पुगेको छ । डिजेल र मट्टितेलको समान ८३ रुपैयाँ रहेकोमा १२ रुपैयाँ बढ्दै ९५ रुपैयाँ पुगेको छ । 

मासिक खपत

आयल निगमका अनुसार अहिले मासिक ४७ किलोलिटर पेट्रोल खपत हुन्छ ।

त्यस्तै डिजेल १ लाख ६० हजार, मटितेल २२ सय किलोलिटर खपत हुने गरेको छ । सबैभन्दा बढी एलपी ग्याँस २३ लाख ७० हजार किलोलिटर खपत हुने गरेको निगमको तथ्यांकमा उल्लेख छ । 

डिजेलको भाउ बढ्दा 

पेट्रोल, डिजेल र मट्टितेलमध्ये नेपालमा सबैभन्दा धेरै डिजेलको खपत हुन्छ । निगमको तथ्यांकले अहिले दैनिक ५ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेकोे देखाउँछ ।   

देशैभर गुड्ने सार्वजनिक यातायात तथा ढुवानीमा प्रयोग हुने ट्रक, बस, ट्यांकर जस्ता साधनमा डिजेल प्रयोग हुन्छ । डिजेलको भाउ बढेसँगै ढुवानी गरिने दैनिक उपभोग्य वस्तु र बजारमा आउने सामानको मूल्य पनि ह्वात्तै बढेको छ । अहिले बजारमा हरेक वस्तुको मूल्य आकासिएको छ । नागरिकले सहज र सुलभ रुपमा प्रयोग गर्ने सार्वजनिक यातायातमा पनि यसले असर गर्ने देखिएको छ ।  

लोककल्याणकारी राज्यको भावना अनुरुप सरकारले नागरिकलाई कसरी सहुलियत दिने भन्नेबारेमा कुनै उपाय नै अवलम्बन गरेको छैन भन्नुहुन्छ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना ।

प्रधानमन्त्रीको कुर्सीमा बस्दै गर्दा केपी शर्मा ओलीले लोककल्याणकारी राज्य स्थापना गर्दै नागरिकलाई राहत दिने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । तर उहाँ प्रधानमन्त्री भएपछि ४ महिनामा ६ पल्ट गरी अहिलेसम्म डिजेलको प्रतिलिटर मूल्य मात्रै १२ रुपैयाँले बढेको छ । ४ महिनामै लिटरमा १२ रुपैयाँ भाउ बढ्दा ढुवानी गरेर ल्याउनुपर्ने खाद्यान्न, तरकारी तथा अत्यावश्यक बस्तुको मूल्य पनि आकासिएको छ ।  

घाटामा निगम

बजारमा बेपत्तासित भाउ बढ्दा पनि केही समय अघिसम्म नाफामा रहेको निगम अहिले भने घाटामा गएको जानकारी दिने गरेको छ । निगमले अहिले विभिन्न पाँच प्रकारका पेट्रोलियम पदार्थको बिक्रीवितरण गर्दै आएको छ ।  

निगमका कार्यकारी निर्देशक भट्टराईका अनुसार, निगमले अहिले ‘पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५९ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४९ पैसा घाटामा कारोबार गरिरहेको छ ।

उहाँका अनुसार, मट्टितेलमा प्रतिलिटर १७ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर ३८ रुपैयाँ नाफा छ । एलपी ग्याँसमा सबैभन्दा बढी प्रतिसिलिन्डर १३९ रुपैयाँ ३९ पैसा घाटा रहेको र अहिले निगमको घाटा १८ करोड ६२ लाख पुगेको भट्टराईको दुखेसो छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया