आफ्नै पौरखमा बाँचेका कृष्ण : चल्दैनन्  खुट्टा तर चलेका छन् पाखुरा !

 मंसिर २२, २०७५ शनिबार १६:११:३१ | श्यामशितल परियार
unn.prixa.net

जुत्ता सिलाउँदै नेपाली

लमजुङ – शिरमा ‘ढलक्क’ ढाका टोपी । हँसिलो चेहेरा । शरीरमा न्यानो, बाक्लो ज्याकेट । ओठमा मन्द मुस्कान ।

आफ्नै सुरमा जुत्ता सिलाउनमा व्यस्त हुनुहुन्छ, सुन्दरबजार नगरपालिका–९, भोटेओडारका कृष्णबहादुर नेपाली । हातमा सीप छ । मनमा जोसजाँगर । बिडम्बना दुवै खुट्टा चल्दैनन्, कृष्णको । उहाँलाई यताउता गर्नको लागि परिवारको सहयोग चाहिन्छ ।

‘ह्विलचियर’को सहारा चाहिन्छ । खुट्टा चल्दैनन् । तर उहाँको जोसजाँगरका साथ दुई पाखुरा मज्जाले चलेको छ । उहाँ आफ्नै उद्यममा हरदम रम्नुहुन्छ । उहाँले लमजुङ–सुन्दरबजार नगरपालिकाभित्रको एक मुख्य बजार मानिने भोटेओडारको कृष्ण बगैँचामा ‘भोटेओडार शुज सेन्टर’ सञ्चालनमा ल्याउनुभएको छ । विभिन्न प्रकारका नयाँ जुत्ता बनाउनु, पुराना जुत्ता, चप्पल, ब्याग मर्मत गर्दैमा उहाँलाई फुर्सदै हुँदैन ।

विगतमा पुख्र्यौली गाउँ कुसुण्डेमा कर्मी (काठको काम) गर्दै आउनुभएका थियो, कृष्णले । यसै कर्मबाट परिवार पाल्न धौँ–धाँै थियो, उहाँलाई । गाउँमा छदैँ, उहाँको जेठी छोरीको जन्म भइसकेको थियो ।

अचानक एकदिन टौवाबाट खसेर कृष्णको ढाँड, खुट्टामा ठूलो चोट लाग्न पुग्यो । उपचारका लागि देश–विदेशका अस्पताल धाए । भएजत्ति पैसा उपचारमै ‘स्वाह’ भयो । उपचारमा आफ्नो माइलो दाईले पनि सघाएको उहाँ सम्झनुहुन्छ ।

उपचारपश्चात् ढाड त सञ्चो भयो । तर दुवै खुट्टा चलेनन् । सिंगो परिवार पाल्नुपर्ने जिम्मेवारी काँधैमा थियो, कृष्णको । काम गरेर परिवारको पेट पाल्नुपर्ने कृष्णलाई खुट्टा नचल्दा परिवार पाल्नै समस्या भयो । त्यसपछि उहाँ गाउँबाट बेसी (भोटेओडार) झर्ने निधो गर्नुभयो ।

सियो र धागोले उकासेको जिन्दगी

खुट्टा नचलेपछि ‘बल–जोड’को काम गर्न सम्भव थिएन । त्यसैले उहाँले आफ्नो पुख्र्यौली पेशा जुत्ता सिलाउने पेशालाई व्यावसायिकता दिने आँट गर्नुभयो । र गाउँ छोडी बजार पस्नुभयो ।

‘गाउँबाट शहर आउँदा हातमा सियो र धागो बाहेक केही थिएन । २०५६ सालमा गाउँबाट भोटेओडार आएँ । अरु काम गर्न शरीरले साथ दिन्थेन । त्यसैले आफूले जानेको जुत्ता सिलाउने पेशा सुरु गरेँ,’ उहाँले विगतका दिन सम्झनुभयो ।

हिजो ७ सय रुपैयाँबाट सुरु भएको उहाँको व्यवसायले अहिले फड्को मारेको छ । अहिले उहाँ वार्षिक लाखौँ रुपैयाँको आर्थिक कारोबार गर्नुहुन्छ । यसै पेसाबाट उहाँले दुई छोरी र एक छोरालाई राम्रो स्कुलमा पढाउनुभएको छ । जेठी छोरीले पराई घर सम्हालिसक्नुभएको छ ।

उहाँले सियो, धागो खेलाएरै भोटेओडार बजारमै पक्की घर बनाउनुभएको छ ।

सरकारको सहयोग आवश्यक

हातमा सीप, मनमा जोश–जाँगर भए खुट्टा नचलेतापनि पाखुरा चलाई, उद्यम गरी आफ्नै पौरख खान सकिने उहाँ बताउनुहुन्छ ।  उहाँले तीनजनालाई पूर्ण रोजगारी समेत दिनुभएको छ । उहाँको जुत्ता पसलबाट दैनिक २० जोर बढी जुत्ता उत्पादन हुँदै आएको छ ।

उहाँको पसलमा उत्पादित जुत्ता सुन्दरबजार, खत्रीठाँटी, पाउँदी र सिउँडीबारमा रहेका विभिन्न जुत्ता बिक्रेताहरुले खरीद गरी लैजान्छन् । ‘जुत्ता किन्न, जुत्ता–चप्पल सिलाउन, मर्मत गर्न ग्राहकहरु पसलमै  पनि आउँछन्,’ उहाँले भन्नुभयो ।

कर्म गरी खानुपर्छ । समाजमा शारिरीक अपांगता भएका व्यक्तिहरुले पनि सहयोग र अवसर पाए ‘आफुले जानेको ज्ञान, सीप उपयोग गरी सजिलै जीवन निर्वाह गर्न सक्छन’ भन्ने प्ररण कृष्णबहादुरले सबैजनालाई दिनुभएको छ ।

‘आफूले हिम्मत गरी व्यवसाय चलाएको र यसैबाट जीवन गुजार्दै आएको उहाँ बताउनुहुन्छ । विशेषगरीः समाजमा बसी केही उद्यम गर्न चाहने शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुलाई राज्यको साथ, सहयोग आवश्यक हुने उहाँ बताउनुहुन्छ ।

नगरपालिकाको सहयोग

उहाँको पौरख, उद्यम देखेर सुन्दरबजार नगरपालिकाले उहाँलाई सम्मानित समेत गरेको छ । यसैगरी नगरपालिकाले उहाँको व्यवसाय सञ्चालनका लागि ३० हजार रुपैयाँ बराबरको जुत्ता बनाउने मेशिन किनिदिने प्रतिवद्धता समेत जनाएको छ ।

कृष्णको व्यवसायलाई हाँक्नमा श्रीमती र सन्ततीको पनि ठूलो साथ, सहयोग छ । 

अन्तिम अपडेट: मंसिर २६, २०७५

श्यामशितल परियार

उज्यालोका लमजुङ र मनाङ जिल्ला सम्वाददाता श्यामशितल परियारलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया