उदाहरणीय सन्तान : बुबाआमाको नाममा दश लाखको छात्रवृत्ति कोष

 मंसिर २३, २०७५ आइतबार ६:३:४३ | रासस

बागलुङ - यहाँका तीन दाजुभाइले बुबाआमाको नाममा दश लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । बागलुङ नगरपालिका–३ टारीका युवराज, जगदीश र महेन्द्र उपाध्याय पौडेलले बुबा स्व विद्यानाथ र आमा विष्णुकुमारी उपाध्याय पौडेलको नाममा ‘विद्या–विष्णु जेहन्दार छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेका हुन् । 

आमा विष्णुकुमारी ८९ वर्षमा प्रवेश गरेको अवसरमा आज एक कार्यक्रमको आयोजना गरी अक्षयकोष घोषणा गरिएको हो । कोषमा रहने दश लाख बराबरको ‘चेक’ र संस्था दर्ताको प्रमाणपत्र पौडेल दाजुभाइले कोषका अध्यक्ष बैकुण्ठ सापकोटालाई प्रदान गरेका थिए । 

जेहन्दार र विपन्न परिवारका विद्यार्थीको पढाइमा टेवा पुगोस् भनेर कोष खडा गरेको कोषका संस्थापक तथा संरक्षक महेन्द्र उपाध्याय पौडेलले बताउनुभयो । “बुबाको प्रेरणासँगै सामाजिक दायित्व सम्झेर कोष स्थापना गरेका हौँ,” उहाँले भन्नुभयो । कोषको रकम वृद्धि गर्दै लगिने परिवारजनले जनाएका छन् । 

घोषणा समारोहमा सांसद मनकुमारी केसीले पौडेल परिवारले अनुकरणीय कार्य गरेको बताउनुभयो । “असल सन्ततिले मात्र बुबाआमालाई अमर राख्न सक्छन्, आज त्यो तपाईंहरुले गर्नुभएको छ,” उहाँले भन्नुभयो, “यस्ता कार्यले अरूलाई पनि उत्प्रेरणा मिल्छ ।” 

शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रलाई समेट्ने गरी कोष स्थापना हुनु सुखद रहेको उहाँको भनाइ थियो । कोषबाट बर्षेनी आउने ब्याज रकम विद्यार्थीको पढाइ र स्वास्थ्यमा खर्च गरिने कोषका अध्यक्ष सापकोटाले बताउनुभयो । 

ब्याजको ३० प्रतिशत रकम धवलागिरि वीरेन्द्र माविका विद्यार्थीको हितमा उपयोग गरिने उहाँको भनाइ छ । बाँकी रकमबाट साबिक धवलागिरि अञ्चलभित्रका चार जिल्लामा माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ र १२ मा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिने भएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया