चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
काठमाण्डाै – उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइनको सञ्चालक संस्था कम्यूनिकेसन कर्नरले २७औं वार्षिकोत्सव मनाउँदैछ । २०५५ साल वैशाख १६ गते स्थापना भएको कम्यूनिकेसन कर्नरले रेडियो तालिम र रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै २०५८ सालदेखि रेडियो नेटवर्कबाट बिहानी समाचार पत्रिका कायाकैरन शुरू गरेको थियो । संस्थाले २०६३ सालदेखि देशव्यापी स्याटलाइट रेडियो, काठमाण्डौमा उज्यालो एफएम ९० मेगाहर्ज र २०६८ सालदेखि ‘उज्यालो अनलाइन डटकम’ सञ्चालन गर्दै आएको छ । कम्यूनिकेसन कर्नर स्थापना भएको २७ वर्षसँगै नेपालमा स्वतन्त्र रेडियोहरूको यात्रा पनि तीन दशक पुग्न लागेको छ ।
कम्यूनिकेसन कर्नरको उज्यालो यात्राका केही महत्त्वपूर्ण तिथिमिति :
२०५४ असार : नागरिकलाई चाहिने कामलाग्दा सूचना, निष्पक्ष खबर र विश्लेषण नेपालीका घरघरमा पुर्याउने उद्देश्यका साथ रेडियो नेपालबाट खोजखबर रेडियो पत्रिकाको शुरुआत
२०५४ पुस : नेपालका गाउँघरमा औधि मन पराइएको कार्यक्रम खोजबर रेडियो नेपालद्वारा विना कारण बन्द
२०५५ वैशाख १६ : देशका कुना–कन्दरामा रहेका आवाजविहीनको आवाज नीति निर्मातासम्म पुर्याउन, नीति निर्माताले बनाएका नीति, नियम–कानूनको जानकारी नागरिकलाई दिने माध्यम रेडियोलाई रोज्दै स्वतन्त्र र निष्पक्ष रहेर सूचना सम्प्रेषण गर्ने उद्देश्यका साथ कम्यूनिकेसन कर्नर दर्ता
२०५५ असार : सूचना र सञ्चारको माध्यमबाट सामाजिक परिवर्तनलाई सघाउन रेडियो नेपालबाट रेडियो पत्रिका हाकाहाकी शुरू
२०५६ : आफ्नै स्टुडियो निर्माण
२०५७ भदौ–२०५८ जेठ : काठमाण्डौ उपत्यकाबाहिर एफएम रेडियो स्टेशन खुल्न थालेपछि काठमाण्डौबाट प्रकाशित हुने पत्रपत्रिकामा छापिएका खबरको संगालो, रेडियो रिपोर्ट र समसामयिक विषय समेटिएको कायाकैरन उत्पादन र वितरण शुरू । शुरूमा अडियो क्यासेटबाट हप्तामा तीन दिन कायाकैरन प्रसारण
२०५८ साउनदेखि : इन्टरनेटबाट कायाकैरन वितरण
२०५८ भदौदेखि : टेलिफोन हाइब्रिडबाट कायाकैरन वितरण
२०६० मंसिर २ : सञ्चार मन्त्रालयबाट स्याटेलाइट रिसिभर र रेडियो कार्यक्रम वितरण गर्ने अनुमति प्राप्त; भिस्याट प्रविधिको प्रयोगबाट कायाकैरन प्रत्यक्ष प्रसारण
२०६० माघ १२ देखि : देश, विदेशका कामलाग्दा र जानकारीमूलक खबरहरूको संगालो ‘नेपाल खबर’ उत्पादन र वितरण
२०६० चैत २७ : दिनभरि काम सकेर थकाइ मार्दै हरेक नेपालीले आज दिनभरि देशविदेशमा के भयो भन्ने कुरा थाहा पाएर सुत्न पाउनुपर्छ भन्ने उद्देश्यका साथ ‘नेपाल दर्पण’ उत्पादन र वितरण
२०६१ माघ २१ : राजाको प्रत्यक्ष शासनका कारण सबै रेडियोका समाचार बन्द; त्यति बेलासम्म नेपालमा ५२ वटा रेडियो स्टेशन सञ्चालनमा थिए र धेरैजसोमा कम्यूनिकेसन कर्नरबाट उत्पादन भएका समाचार र कार्यक्रम प्रसारण हुन्थ्यो ।
२०६२ जेठ ९ : राजाको प्रत्यक्ष शासनका कारण बन्द भएको नेपाल दर्पण जेठ १५ गतेदेखि शुरू गर्ने निर्णय
२०६२ जेठ १३ : तत्कालीन शाही सरकारद्वारा कम्यूनिकेसन कर्नर बन्द गर्ने ठाडो आदेश; आदेशविरुद्ध पत्रकार र मानव अधिकारवादीद्वारा प्रदर्शन
२०६२ जेठ १६ : शाही सरकारको आदेशविरुद्ध कम्यूनिकेसन कर्नरद्वारा सर्वोच्च अदालतमा रिट निवेदन दायर
२०६२ जेठ २४ : सर्वोच्च अदालतबाट कम्यूनिकेसन कर्नर बन्द नगर्न सरकारलाई अन्तरिम आदेश
२०६३ असार ६ : लोकतन्त्र स्थापनापछि सञ्चार मन्त्रालयबाट स्याटेलाइटबाट रेडियो प्रसारण गर्ने अनुमति प्राप्त
२०६३ असोज २२ : सूचना तथा सञ्चार मन्त्रालयबाट फ्रिक्वेन्सी मोडुलेसन प्रसारण स्थापना गरी कार्यक्रम प्रसारण गर्ने इजाजत प्राप्त
२०६३ माघ १५ : सूचना तथा सञ्चार मन्त्रालयबाट पहिलो स्याटेलाइट रिसिभिङ सिस्टम, स्याटेलाइट कम्यूनिकेसन सिस्टम (अर्थ स्टेशन) को लाइसेन्स प्राप्त
२०६३ फागुन ६ : सानेपामा स्थापित भिस्याट अर्थ स्टेशन तथा एफएम स्टेशनबाट उज्यालो ९० नेटवर्क (एफएम र स्याटेलाइट) तथा ओपन च्यानलको परीक्षण प्रसारण शुरू
२०६३ चैत २ : उज्यालो रेडियो नेटवर्क (एफएम तथा स्याटेलाइट) को नियमित १८ घण्टा प्रसारण शुरू; हरेक घण्टामा समाचार
२०६४ देखि २०७० सम्म : लोकतन्त्र स्थापनासँगै देश शान्ति र संविधान निर्माणको बाटोमा केन्द्रित भएको बेला यस प्रक्रियालाई सघाउन देशका विभिन्न ठाउँ र संविधानसभा भवनबाट विशेष कार्यक्रम ‘उज्यालो शान्ति यात्रा' र ‘नेपालीको अभियान नयाँ संविधान’ प्रसारण
२०६८ : सूचना प्रविधिमा आएको विकाससँगै उज्यालोका समाचार र कार्यक्रमलाई विश्वव्यापी बनाउने उद्देश्यका साथ उज्यालो अनलाइन तथा मल्टिमिडिया शुरू
२०७२ वैशाख : १२ गते भूकम्पकै बेला स्टुडियोबाट प्रत्यक्ष प्रसारण; भूकम्पको क्षति, भूकम्पको बेला ध्यान दिनुपर्ने कुराहरूका विषयमा जानकारी; केही दिन भुइँतलाबाट स्टुडियो सञ्चालन; भूकम्पपछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि पालिकादेखि केन्द्रसम्मका जनप्रतिनिधि र निकायलाई उत्तरदायी बनाउने कार्यक्रम ‘जमानी’ उत्पादन र प्रसारण; भूकम्पले क्षति गरेका रेडियो स्टेशनलाई प्राविधिक सहयोग र तालिम सञ्चालन
२०७६ चैत १२ गतेदेखि २०७७ वैशाख २० सम्म : कोरोनाका कारण रेडियो र अनलाइनका काम एकान्तबासबाट; कोरोना संक्रमणको अवस्था, भ्रम र यथार्थता, पालना गर्नुपर्ने नियम, मानसिक समस्या हल गर्ने उपायलगायतका सामग्री समेटिएको रेडियो कार्यक्रम ‘कोरोना क्याप्सूल’ उत्पादन र वितरण
विकसित नयाँ प्रविधि र वैकल्पिक माध्यमको बढ्दो प्रयोगकाबीच आमसञ्चार माध्यमको सत्य, तथ्य र तटस्थ भूमिकालाई ख्याल गर्दै रेडियोसँगै अनलाइन, विभिन्न सामाजिक सञ्जाल र एप्लिकेसनमार्फत उज्यालोको प्रकाशन र प्रसारण संसारभर एकसाथ भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।