चन्द्रमामा अन्तरिक्ष यानको टायर पङ्चर हुने समस्याले वैज्ञानिकहरु...
जेठ ३, २०८२ शनिबार
काठमाण्डौ – अहिले काठमाण्डौ बस्ने धनकुटाका ८६ वर्षीय कविराज खुलाललाई पहिलोपटक रेडियो देखेको र सुनेको दिन अहिले पनि सम्झना छ । ६९ वर्षअघि दशैँको बेला गाउँका सबै जना गोरेटो बाटो सफा गरिरहँदा गाउँकै एकजना लाहुरे काँधमा रेडियो भिरेर गीत बजाउँदै आइपुगे । उनको पछि–पछि तीन जना भरियाहरू थिए । गाउँलेहरू काममा व्यस्त देखेपछि लाहुरे त्यहाँ रोकिए । उनले भरियालाई सामान बिसाउन लगाए । आफूले भिरेको बाकसजस्तै देखिने रेडियो बिसाए, जसबाट गीत बजिरहेको थियो ।
त्यो देखेर सबैजना छक्क परे । खुलाल सम्झनुहुन्छ, ‘हामी त चुपचाप हेरिरह्यौँ । त्यो मान्छे र त्यो बाकसजस्तै चिजलाई एकोहोरो हेरिरह्यौँ । लाहुरेले के ल्यायो के ल्यायो जस्तो लाग्यो ।’ गाउँलेहरूले यस्तो पहिलोपटक रेडियो देखेका थिए । लाहुरेले नै भने, ‘यो रेडियो हो । यसबाट खबर र गीत–सङ्गीत सुन्न सकिन्छ ।’
पहिलोपटक कसैले रेडियो ल्याएको खबर गाउँको लागि नौलो थियो । एक–दुई वर्षमै अरूले पनि यस्तै साना बाकसजस्ता रेडियो ल्याउन थाले । ‘हाम्रो घरमा पनि २०१६ सालतिर रेडियो आयो’ खुलालले सम्झनुभयो ‘बाले मोरङबाट किनेर ल्याउनुभएको थियो ।’
पहिलोपटक त्यो सानो बाकसबाट आवाज आउँदा अरुजस्तै उहाँ पनि अचम्ममा पर्नुभएको थियो । ‘लाग्थ्यो, भित्र साना मानिस बसेर बोलिरहेका होलान् । कहिलेकाहीँ त रेडियो भित्रका मान्छे कतिबेला बाहिर निस्किन्छ र कस्ता होलान भनेर हेरेर बस्थेँ । पछि बल्ल थाहा पाइयो त्यो त एन्टिनाबाट समातेको आवाज रहेछ’ खुलाललाई सम्झिँदा पनि हाँसो लाग्छ ।
त्यसबेला गाउँमा न त हुलाक सेवा थियो, न त सञ्चारका अरु माध्यम । कहिलेकाहीँ त कोही अग्लो रुख वा टाकुरोमा चढेर चिच्याएर खबर सुनाउँथे । बिस्तारै गाउँका खबरहरू रेडियोमा सुनिन थाल्यो ।
‘आज प्रविधिको विकासले सूचना प्राप्ति झन् सजिलो बनाइदिएको छ । मोबाइल र इन्टरनेटले संसारका कुनाकाप्चासम्म पहुँच खोलिदिएको छ । तर, अझै पनि धेरै गाउँघरमा रेडियो नै मानिसको भरपर्दो साथी बनेर टिकिरहेको छ’ खुलाल भन्नुहुन्छ ।
यस्तै लाग्छ लमजुङको दोर्दी गाउँपालिकाका चौबहादुर गुरुङलाई पनि । गुरुङ दुई वर्षदेखि काठमाण्डौको डिल्लीबजारमा सरसफाइको काम गर्दै आउनुभएको छ । गाउँमा दुई जना बुढा बा आमा हुनुहुन्छ । ‘घरमा न टीभी छ, न इन्टरनेट । उहाँहरु मोबाइल चलाउन पनि जान्नुहुन्न । एउटा पुरानो रेडियो छ, दिनभर बजिरहन्छ । रेडियो सुनेरै बाआमाको समय बित्छ’ गुरुङले भन्नुभयो, ‘बा आमाका लागि रेडियो नै साथी हो, सहारा हो, अनि दुनियाँसँग जोडिने एउटै साधन हो ।’
आज प्रविधिको विकासले सूचना पाउन झन् सहज बनाएको छ । मोबाइल र इन्टरनेटले संसारको ढोका खुला गरिदिएको छ । तर अझै पनि धेरै गाउँघरमा रेडियो नै सूचनाको भरपर्दो माध्यम हो । एक समय थियो, मान्छेहरू घडी हेरेर रेडियो सुन्न पर्खन्थे । गाउँमा एउटा मात्रै रेडियो हुन्थ्यो, सबै एकै ठाउँ जम्मा भएर सुन्थे ।
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि रेडियोको महत्त्व अझ बढ्यो । देश–विदेशका समाचारहरू, समाजका आवाजहरू, परिवर्तनका कुरा रेडियोमार्फत गाउँ–गाउँमा बज्न थाले । रेडियो बिस्तारै नागरिकको भरपर्दो साथी बन्दै गयो, जसले जानकारी मात्र हैन, आशा र उत्साह पनि बाँड्थ्यो ।
भान्सामा खाना पकाउँदा, खेतमा गोडमेल गर्दा, बाटो यात्रा गर्दा वा घर सफा गर्दा – जहाँ–जहाँ मान्छे, त्यहाँ–त्यहाँ रेडियो बज्थ्यो । बलियो झोलामा राखेर, एन्टेना ठाडो पारेर घरको कुनामा झुन्ड्याइन्थ्यो र दिनभरि बोलिरहन्थ्यो । चोकका चिया पसलदेखि गाडीका ड्यासबोर्डसम्म रेडियोले आफ्नो ठाउँ बनायो । रेडियोका खबर सुन्दै आँगनको पिँडीमा छिमेकीसँग बहस गर्ने र टोलभरि नयाँ कुरा सुनाउने चलन पनि बढ्न थाल्यो ।
युवाहरू राती चुपचाप बसेर रेडियोमा कथा, कविता र चिठीपत्र पढ्ने कार्यक्रमहरू सुन्थे । कोही आफ्नो भावना रेडियोमार्फत पोख्थे, कोही मनका कुरा गीतमार्फत सुनाउन अनुरोध गर्थे । रेडियो सूचना र मनोरञ्जनको मात्र माध्यम रहेन, यो त भावना बाँड्ने, सम्झना जगाउने र सपना सजाउने भरपर्दो साथीजस्तै बनिसकेको थियो ।
रेडियोको आवाज गाउँ होस् वा शहर, घर–घरमा पुगेर सबैको नजिकको साथी बन्न सफल भयो । आज पनि कतै कतै त्यो पुरानो मिठास बोकेर रेडियो बजिरहेकै छ ।
बागबजारमा मोटरसाइकल वर्कसप चलाउँदै आउनुभएकी जनकपुर हंसपुर नगरपालिकाकी सरिता कुमारी ठाकुर भन्नुहुन्छ, ‘रेडियोले हाम्रो जीवनमा शिक्षा र चेतनाको दीप जलाएको छ ।’
अहिलेको जमानामा धेरै मानिसहरू फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा समय बिताउने गर्छन् । यस्ता माध्यमहरूबाट जानकारी पाउने बाटा खुले पनि, भ्रामक सूचना फैलने जोखिम पनि उत्तिकै बढेको छ । त्यसैले, रेडियोले अझै पनि शिक्षा र चेतनालाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुपर्ने सरिता कुमारीको सुझाव छ ।
‘रेडियो सस्तो छ, सजिलो छ, र सबैलाई जोड्ने एक बलियो माध्यम हो,’ उहाँ भन्नुहुन्छ, ‘मलाई लाग्छ, रेडियो नै सत्य, तथ्य र निष्पक्ष खबर दिने सबैभन्दा भरपर्दो स्रोत हो ।’
मधेशका कतिपय ठाउँमा अझै पनि भेदभाव, महिला हिंसा र बालविवाहजस्ता गम्भीर समस्याहरू छन् । यी समस्याका भोगाइ, पीडा र कथा रेडियोले प्राथमिकताका साथ उठान गर्नुपर्ने सरिता कुमारीको सुझाव छ । उहाँका अनुसार यस्ता आवाजहरू उजागर गरेर मात्रै समाजमा भएका असमानताहरू घटाउन सकिन्छ ।
अहिले मोबाइल र इन्टरनेटले संसारलाई बाँधेको छ, तर पनि रेडियोको मोह घटेको छैन । रेडियोबाट प्रसारण हुने समाचार, मौसम जानकारी र कृषि कार्यक्रम धेरैको रोजाइमा छन् । स्वास्थ्य सल्लाह, बाल कार्यक्रम र लोकदोहोरीको मिठासले पनि रेडियोको आकर्षण घट्न दिएको छैन । स्थानीय भाषा, कला र संस्कृतिको सुगन्ध बोकेर रेडियोले अझै पनि आफ्नो मौलिकता जोगाइरहेको छ ।
मोरङको कानेपोखरी गाउँपालिकाका अधिवक्ता चन्द्रप्रसाद शिवाकोटी अहिले काठमाण्डौको सुकेधारामा बस्नु हुन्छ । उहाँको रेडियोप्रतिको लगाव आज पनि उस्तै गहिरो छ । उहाँ भन्नुहुन्छ्, ‘जति नयाँ प्रविधि आए पनि रेडियो अझै सञ्चारको सबैभन्दा भरपर्दो माध्यम हो । सामाजिक सञ्जालमा आउने खबरहरू कति सत्य, कति झुटो भन्ने थाहा पाउन हामी आज पनि रेडियोमै विश्वास गर्छौँ ।’
बिहान उठ्नेबित्तिकै रेडियो सुन्ने शिवाकोटीको दैनिकी भइसकेको छ । उहाँ भन्नुहुन्छ, ‘रेडियोले देश–विदेशका ताजा समाचार छिटो र सही ढङ्गले सुनाउँछ । विदेशमा रहेका नेपालीलाई पनि रेडियोले आफ्नै घर–आँगनसँग जोडेर राखेको छ ।’
रेडियोले सामाजिक एकता बलियो बनाउन, जनचेतना फैलाउन र शैक्षिक विषयहरूलाई अझ प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।
हिजोआज रेडियो सुन्ने बानी र तरिका फेरिएको छ । एक समय थियो, जब बिहान उठेदेखि राति सुतेसम्म रेडियो नै साथी हुन्थ्यो ।
अहिले भने सबैको हातमा मोबाइल छ, आँखा सामाजिक सञ्जाल र अनलाइनमा हुन्छ । पत्रपत्रिका र टेलिभिजनजस्तै रेडियो पनि नयाँ प्रविधि र सामाजिक सञ्जालको तीव्र विकाससँग जुधिरहेको छ । कतिपयले प्रश्न उठाउन थालेका छन् – के रेडियो अब अस्ताउँदैछ ?
काठमाण्डौको सानोभर्याङ बस्ने गुल्मी धुर्कोट गाउँपालिकाका पुस्तक व्यापारी महाशर्मा भण्डारी भन्नुहुन्छ, ‘सत्य तथ्य समाचार खोज्ने बानी हराएको छैन, र त्यसका लागि पहिलो भरोसा रेडियो नै हो ।’
उहाँका अनुसार, हिजोआज धेरै माध्यममा समाचार तोडमोड गरेर प्रसारण र प्रकाशन गर्ने प्रवृत्ति बढेको छ, जसले मानिसहरूलाई झन् सही सूचना खोज्न प्रेरित गरेको छ । सही सूचनाको लागि रेडियो नै भरपर्दो माध्यम भएको उहाँ बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।