सरकार र शिक्षकबीच ‘निर्णायक’ वार्ता चल्दै

 वैशाख १७, २०८२ बुधबार १७:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकार र आन्दोलरत शिक्षक महासङ्घका पदाधिकारीबीच निर्णायक भनिएको वार्ता चलिरहेको छ । शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ ।

यस्तै वार्तामा सत्तारूढ दल कांग्रेस सचेतक श्यामकुमार घिमिरे र एमाले सचेतक महेश बर्तौला पनि सहभागी रहनुभएको शिक्षा मन्त्रालयले जनाएको छ । यसैगरी वार्तामा संसद्को शिक्षा, स्वास्थ्य समितिका सभापति अमरबहादुर थापा र विद्यालय शिक्षा विधेयकमाथि दफाबार छलफलका लागि गठित उपसमिति संयोजक छविलाल विश्वकर्मा पनि सहभागी हुनुहुन्छ ।

शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी हुने विश्वासिलो आधार माग गरेपछि वार्तामा सतारूढ दलका सचेतकहरू प्रतिबद्धताका लागि उपस्थित भएका हुन् । वार्ताले मन्त्रिपरिषद्‍बाट सम्बोधन गर्न सकिने मागहरूको विषयमा टुङ्गो लगाउने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बेलुका मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । शिक्षकहरूले मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने माग सम्बोधन र ऐन आउने सुनिश्चिता हुने भएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्न सक्ने बताएका छन् ।

शिक्षकहरू विद्यालय लगायत सबै शैक्षिक गतिविधि ठप्प पारेर २९ दिनदेखि काठमाण्डाै केन्द्रित आन्दोलनमा छन् । यसअघि वैशाख ११ गते हुने तय भएको कक्षा १२ को परीक्षा २१ देखि हुने गरी सारेकोमा त्यो मितिमा पनि नहुने सम्भावना बढेपछि सरकार शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी गराउने बाटो खोजिरहेको छ ।

यसअघि बिहान बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने भन्दै भोलिदेखि सहज रूपमा पठनपाठन शुरू हुने विश्वास लिएको बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया