नीति कार्यक्रममा छुटेका नारा

 वैशाख २१, २०८२ आइतबार १३:४९:३५ | मिलन तिमिल्सिना
unn.prixa.net

सरकारले ल्याएको नीति तथा कार्यक्रम यो पालि नून नहालेको तिउनजस्तै भो । सत्तापक्षका सांसदले समेत टेबल ठोकेनन् । ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने पुरानै थेगोबाहेक अरू रोचक नारै नभएपछि नीति कार्यक्रम खल्लै भयो ।

पहिले–पहिलेका नीति कार्यक्रममा गजब गजबका नारा हुन्थे । जस्तै : ‘बारीका पाटा र खेतका गरा, हुन्छन् सबै हराभरा’ ‘चिनौँ आफ्नो माटो, बनाऔँ आफ्नै देश’, ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’, ‘सामुदायिक वन, फलाउनेछ धन’, ‘शिक्षक ल्याउने, सिकाउने र टिकाउने’, ‘हाम्रो स्कुल, बनाऔँ राम्रो स्कुल’ । यस्ता रोचक र रसिला नारा सुन्दा आनन्द मिल्थ्यो । सबैथोक पुगेजस्तै, भएजस्तै, मिलेजस्तै लागेर मन गदगद हुन्थ्यो । तर यसपालि सरकारले गदगद बनाउने नीति र कार्यक्रम ल्याएन । उखान टुक्का भन्न र हावादारी सपना देखाउन खप्पिस प्रधानमन्त्रीले समेत रोचक र रसिला नारा मिसाउन अल्छी माने । नीति कार्यक्रम बनाउन बसेका अर्थ मन्त्रालयका मन्त्री र अरू कर्मचारीको दिमागमा पनि नारा फुरेन ।

शिक्षक, डाक्टर, सहकारी पीडितलगायतका आन्दोलनकारीका थरीथरीका मागमा भाग पुर्‍याउन दौडधूप गर्नुपरेकाले पनि नारा मिसाउने फुर्सद मिलेन होला । प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूलाई फुर्सद नभएर के भो त ? फुर्सद त हामीसँग जति पनि छ नि । उनीहरूको भन्दा हाम्रै दिमाग बढी चल्छ । त्यसैले आउनुहोस्, सरकारी नीति तथा कार्यक्रममा नारा मिलाएर आनन्द लिऔँ ।

सरकारले अघिल्ला वर्षहरूजस्तै यसपालिको नीति कार्यक्रममा पनि ‘पढ्दै, कमाउँदै’ भन्ने नारा राखेको छ । तर यो नारा व्यावहारिक रूपमा पूर्ण छैन । यति मात्रै नारा अनुसार त विद्यार्थीहरू यहीँ पढ्दै यहीँ कमाउँदै या यहीँ कमाउँदै यहीँ पढ्दै गर्नुपर्ने हो । तर हिजोआज १२ कक्षा पास गर्नेबित्तिकै विद्यार्थी विदेश हानिन्छन् । कोही उतै पढ्छन्, उतै कमाउँछन् । उतै कमाउने युवाहरूले पठाएको रेमिट्यान्सले देश चलिरहेको छ । यो वास्तविकतालाई बल पुर्‍याउनका लागि पनि ‘पढाउँदै, पठाउँदै, कमाउँदै’ भन्ने नारा उपयुक्त हुन्छ । यस नारा अनुसार विद्यार्थीलाई अलिअलि पढाउने, पढ्न सक्ने र नसक्ने दुवैथरीलाई विदेश पठाउने, उनीहरूले उता पुगेर टन्न कमाउने, अनि देशमा पैसा पठाउने र त्यही पैसाले देश चलाउने ।

सरकारले सार्वजनिक प्रशासनमा सुधार ल्याउन भन्दै ‘फेसलेस सेवा’ नारा ल्याएको छ । तर यो नारा न पूर्ण छ, न स्वादिलो । ‘फेसलेस सेवा : सेवाग्राहीलाई सास्ती, कर्मचारीलाई मस्ती’ भन्दा पूर्ण र स्वादिलो हुन्छ । फेसलेस अर्थात् अनलाइनबाट काम गर्न मिल्ने सेवा त अहिले पनि छ नि । तर अनलाइनमा बल्लबल्ल फारम भर्‍याे, फेरि ल्याप्चे लगाउन कार्यालयमै बोलाउँछन् । कहिले अनलाइनले काम गरेन यतै आउनु भन्छन् । नाम मात्रैको अनलाइन भएपछि सेवाग्राहीलाई सास्ती नै सास्ती । अनि अनलाइन चलेन, प्रविधिले काम गरेन भन्न पाउँदा कर्मचारीलाई मस्ती ।

यसपालिको नीति तथा कार्यक्रममा समेटिएको अर्को अपूर्ण र बेस्वादे नारा हो, ‘निरोगी नेपाल अभियान’ । यो अभियान अन्तर्गत रोगबाट बच्न खोप, स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य जाँच र सफाइ जस्ता प्रतिकारात्मक उपायमा जोड दिने तथा रोग लागेपछि औषधि, शल्यक्रिया वा अन्य चिकित्सकीय विधिबाट उपचार गर्ने भनिएको हो । भन्नलाई जे भने पनि मान्छे सबै निरोगी भए भने यतिका अस्पताल र औषधि पसलका के काम ? लाखौं खर्च गरेर डाक्टर र नर्स पढेकाहरू सबै विदेश जान पनि सक्दैनन् । उनीहरूलाई काम र अस्पताललाई दामका लागि पनि मान्छे रोगी हुनुपर्छ । त्यसैले ‘रोगी नेपालीको हुल : स्वस्थ अस्पतालको शुल’ नारा चाहिँ उपयुक्त हुन्छ ।

परराष्ट्र नीतिका रूपमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नारा अघि सारिएको छ । यो मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार तथा छिमेकी मित्र राष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने सरकारको योजना छ । छन्दको हिसाबले यो नारामा स्वाद त मिसिएको छ, तर वास्तविकतामा अलि मिलेको छैन । दुई ठूला दल मिलेर बनेको सरकार भए पनि छिमेकी देश भारतले अझै ‘कम्फरटेबल’ रूपमा लिएको छैन । मोदीले बोलाउलान् र दिल्ली जाउँला भन्दाभन्दै ओलीको पालो सकिने बेला भैसक्यो । त्यसैले अहिले ओलीका लागि परराष्ट्र नीतिमा मिल्ने नारा ‘मोदीले सोध्लान् नि खै ओली भन्लान्’ चाहिँ गज्जब हुन्छ ।

देश, काल, परिस्थितिअनुसार नीति तथा कार्यक्रममा थप गर्न सकिने अरू नाराहरू :
भत्केका सडक : सप्रेका गाडी, बर्खे भेलमा चल्छ रेलको सवारी
हेर्नलायक बानेश्वरको सडक : नारा जुलुस, जादु र चटक
राजावादीको नपर्नु भर : गणतन्त्रवादीकै व्यवहारले व्यवस्था धरमर
प्रचण्ड दौडेका दौड्यै, ओली बोलेका बोल्यै, देउवा पर्खेका पर्ख्यै, जनता हेरेका हेर्‍यै
हातहातमा मोबाइल, टिकटक र रिल : काम हुने र नहुने सबै व्यस्त, रमाउँछ दिल
खेतबारी बाँझै बेस, बाली खान आउने बाँदरलाई ठेस
जनतालाई अझै के खाउँ, के लाउँ : कागजमा ठिकठाक छ अर्थको भाउ
न नीति, न थीति छास्स र छुस्स : यस्ता नारा त हात्ती आयो फुस्सा !

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया