संसद्‍मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी

 वैशाख २२, २०८२ सोमबार १४:०:५२ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच घोचपेच चलेको छ । विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्री र नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीबीच भष्ट्राचार निवारण र सुशासन कायम गर्ने सवालमा अघिल्लो सरकार र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर आरोप–प्रत्यारोप चलेको हो ।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालमा छोटो–छोटो समयमा सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण देशको आर्थिक तथा सामाजिक विकास कमजोर भएको उल्लेख गर्दै अहिलेको सरकार ढल्दैछ भनेर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबाट दुष्प्रचार भइरहेको टिप्पणी गर्नुभयो ।

‘अहिले सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । आलोपालो गर्ने भनेर सात बुँदे सहमति भएर सरकार सञ्चालन भइरहेको छ । तर सरकारविरुद्धका चलखेल जारी छन् । सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छ’, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालनका लागि भएको सहमतिअनुसार अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । प्रतिपक्ष दलले सरकार ढल्ने भनेर गरिरहेको प्रचारमा सत्यता नरहेको उल्लेख गर्दै सांसद थापाले सत्तापक्ष दल कांग्रेसका केही सांसदहरूले पनि गठबन्धन विरोधी धारणा सार्वजनिक रूपमा राखिरहेको आरोप लगाउनुभयो । आफ्नो दलभित्रका असन्तुष्टिलाई देखाएर सरकार कमजोर बनाउनुभन्दा त्यसलाई महाधिवेशनमार्फत सल्टाउनुपर्ने पनि सांसद थापाको भनाइ थियो ।

त्यस्तै अघिल्लो सरकारले भ्रष्टाचार र तस्करीलाई प्रसय दिएको आरोप पनि उहाँको छ । विसं २००७ देखि अहिलेसम्म निकै कम सरकारले मात्रै तीन वर्षभन्दा बढी सरकार चलाएको र पछिल्लो ७५ वर्षमा कुनै पनि सरकारले पाँच वर्ष पूरा अवधि काम गर्न नपाउनु लज्जाको विषय रहेको सांसद थापाको भनाइ छ । तीनकुने घटनाको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीले लिनुपर्ने पनि उहाँको भनाइ छ ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्रीको प्रस्तावमा हटेको उल्लेख गर्दै सांसद थापाले त्यसको दोष प्रधानमन्त्रीमाथि थोपर्न नहुने बताउनुभयो । यस विषयमा के भएको हो भनेर कांग्रेसका सांसदहरूले आफ्ना सभापतिलाई सोध्नुपर्ने पनि सांसद क्षेत्रीले बताउनुभयो ।

प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाउनुभयो । ‘यो सरकार जनताको सरकार होइन । यसले जनताको पक्षमा काम गर्दैन । बिचौलिया, तस्करको हितमा काम गर्छ’, उहाँले भन्नुभयो, ‘देश सङ्कटको भुमरीतर्फ गइरहेको छ । जताततै अस्तव्यस्तता छ । नागरिकलाई सेवा प्रवाहमा समस्या छ । दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले ती समस्या समाधान गर्ने तत्परता देखाएको छैन ।’ अहिले लोकतान्त्रिक व्यवस्थामाथि सङ्कट आउनु विद्यमानको सरकारको कार्यशैलीको उजप रहेको उहाँले टिप्पणीसमेत गर्नुभयो ।

त्यस्तै सत्तापक्ष सांसदहरूले आफ्नो कमजोरी र असक्षमता लुकाउन प्रतिपक्षलाई गाली गर्न थालेको धारणा पनि सांसद शाहीको छ । ‘सरकारको व्यवहारबाट भ्रष्टाचारी र तस्करीहरू खुशी भएका छन् । समाजवादउन्मुख अर्थ व्यवस्था कतातर्फको यात्रा हो ?’, संसद्मा प्रश्न गर्दै उहाँले भन्नुभयो । शिक्षक आन्दोलन, निजामती कर्मचारी, चिकित्सक, लघुवित्त तथा सहकारी पीडितलगायत आन्दोलनरत पक्षका विषयमा सरकार गम्भीर नरहेको पनि सांसद शाहीको भनाइ छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ र रिहाइले देशको न्यायिक क्षेत्र र सुरक्षा क्षेत्रमाथि गम्भीर प्रश्न देखिएको शाहीले बताउनुभयो । राज्यको कर्णाली क्षेत्रप्रति हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको रहेको गुनासो पनि उहाँको छ ।

आजको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला जिल्लाको खलङ्गामा भारतीय पक्षबाट नेपाली भूभाग मिचेर तटबन्ध निर्माण गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बाढीपछि महाकाली नदीको धार परिवर्तन हुँदा नेपाली भूभाग भारततर्फ पर्न गएको र त्यो भूमिमा अहिले भारतले भौतिक संरचना बनाइरहेको उहाँको भनाइ छ । सीमा क्षेत्रमा कुनै संरचना बनाउँदा एक अर्को देशको समन्वय र जानकारी हुन आवश्यक रहेको भए पनि भारतीय पक्षले एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको सांसद बडूले बताउनुभयो ।

दुवै देशको बाढी आउनुभन्दा अघि र पछिको सीमाङ्कन गरिएको अध्ययन प्रतिवेदन दुवै देशसँग रहेको उल्लेख गर्दै उहाँले त्याे प्रतिवेदन हेरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो । त्यस्तै दार्चुला जिल्लामा देखिएको सीमा विवाद मामलामा प्राविधिक टोली बनाएर अध्ययन गर्न र विवाद टुङ्ग्याउन कूटनीतिक पहलका लागि बडूले सरकारमार्फत परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: साउन २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया