सम्झनामा प्रदीप नेपाल : कसले कसरी सम्झिए ?

 वैशाख २४, २०८२ बुधबार १८:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

२०२६ सालमा त्रिचन्द्र कलेजबाट विद्यार्थी राजनीतिमा संलग्न भएर आफ्नो राजनीतिक यात्रा शुरू गर्नुभएका स्वर्गीय नेता प्रदीप नेपाल नेपालको वामपन्थी आन्दोलनका स्मरणीय व्यक्तित्व हुनुहुन्छ । विद्यार्थीकालमै उहाँले नेतृत्व क्षमता देखाउनुभएको थियो । २०३५ सालमा को–अर्डिनेसन केन्द्र (कोके) मा आबद्ध भई सक्रिय राजनीतिमा लाग्नुभएका नेपालले त्यसबेलाको वामपन्थी धारका प्रमुख समूहहरूसँग सहकार्य गरी आन्दोलनलाई एकीकृत दिशामा लैजान महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । कोके मुक्ति, पुष्पलाल श्रेष्ठको मुक्ति मोर्चा, दाङको सन्तोष समूह, झापाको रातो झण्डाजस्ता विभिन्न धारहरूमा सहकार्य गर्दै २०३५ सालमा नेकपा (माले) निर्माणतर्फ पुग्दा उहाँ एक अग्रपङ्क्तिका नेता बन्नुभयो । सक्रिय राजनीतिमा संलग्न रहँदा प्रदीप नेपालले धेरैपटक गिरफ्तारी र जेल जीवन भोग्नुभयो । विशेषगरी २०३३ सालमा ललितपुरको नख्खु जेल तोडेर निस्कनु उहाँको साहसिक र क्रान्तिकारी पक्षको उदाहरण हो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि २०४७ साल पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) गठन भयो । तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादन गरिएको ‘जनताको बहुलीय जनवाद’ सैद्धान्तिक धारलाई पार्टीको नीतिमा उतार्न उहाँको योगदान उल्लेखनीय रह्यो । नेकपा (एमाले) को निर्माण, सुदृढीकरण र सैद्धान्तिक विकासमा उहाँ सधैँ सक्रिय रहनुभयो । २०१० साल पुस २८ गते भोजपुरको गोगनेमा जन्मनुभएका नेता नेपालको २०८२ साल वैशाख २३ गते शुक्रवार (हिजो) ७१ वर्षको उमेरमा निधन भयो ।

स्वर्गीय नेता नेपालबारे कसले के भने ?

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नेपाली कम्युनिस्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ । उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् । दिवङ्गत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैँ सम्झिरहने छौँ ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँलाई ‘नेपाली वाम आन्दोलनका प्रखर नेता र बौद्धिक व्यक्तित्व’ का रूपमा स्मरण गर्नुभएको छ । निरङ्कुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय छ’, प्रचण्डले फेसबुकमा लेख्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले पनि फेसबुकमार्फत श्रद्धाञ्जली दिँदै लेख्नुभएको छ, ‘टुक्राटुक्रामा विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठिन एवम् लामो सङ्घर्षका क्रममा अत्यन्तै निकट सहकार्य गरेका अनेकौँ पहलहरू मानसपटलमा छचल्किरहेका छन् । स्वर्गीय नेपालको बौद्धिकता, लेखन, तिक्ष्णता र सङ्गठनकलाका योगदानहरूले नेपालको कम्युनिस्ट आन्दोलनमा अमूल्य योगदान दिएको छ । उहाँप्रति उच्च सम्मानसहित सधैँ सम्झिरहने छौँ ।’

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उज्यालोसँगको कुराकानीमा स्वर्गीय नेता नेपालसँग संसद्मा दुई पटक सँगै सहकार्य गर्ने अवसर पाएको स्मरण गर्दै उहाँ दृढ इच्छाशक्ति, विचारमा अडिग, साहित्य र पत्रकारितामा प्रखर व्याक्तित्व भएको बताउनुभयो । ‘मन्त्री हुँदा पनि उहाँले राम्रो काम गर्नुभएको छ । जनस्तरबाट उठेर आएको वामपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने योग्य छोरो नेपालले गुमाएको छ’, केसीले भन्नुभयो ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले स्वर्गीय नेता नेपालसँग आफूले प्रत्यक्ष साथ–सङ्गत नगरे पनि उहाँसँग आफ्नो वैचारिक निकटता भने रहेको बताउनुभयो । गुरुङले भन्नुभयो, ‘उहाँले एमालेबाट कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन भूमिका खेल्नुभयो । हामी माओवादीमा लाग्यौँ । त्यसैले उहाँ माक्र्सवादी, लेनिनवादी विचारक हुनुहुन्थ्यो । तुलनात्मक रूपमा अन्य राजनीतिज्ञभन्दा उहाँलाई पृथक रूपमा लिएको छु । विवादरहित उहाँको राजनीतिक जीवन रह्यो । उहाँले श्रमजीवीको पक्षमा वकालत गर्नुभयो । सरकारी पदमा पुगे पनि उहाँको सादगी जीवनशैली, बौद्धिकताजस्ता कुुराले उहाँप्रति सम्मान छ ।’

कांग्रेस महामन्त्री गगन थापाले नेता नेपाललाई फेसबुकमा श्रद्धाञ्जली दिँदै नेपालमा वामपन्थी आन्दोलनका अगुवा, नेकपा एमालेका नेता, पूर्वमन्त्री, लेखक तथा साहित्यकार प्रदीप नेपालको निधनले मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । ‘उहाँले नेपालको प्रजातन्त्र प्राप्तिमा दिनुभएको योगदानलाई हामी सधैँ सम्झिरहने छौँ’, थापाले लेख्नुभएको छ ।

एमाले नेता प्रदीप ज्ञवालीले नेता नेपाल भौतिक रूपमा नरहे पनि पार्टी निर्माण र वामपन्थी धारको विकासमा उहाँको योगदान असाधारण रहेको बताउनुभएको छ । ज्ञवालीले फेसबुकमा लेख्नुभएको छ, ‘उहाँ धेरैका लागि प्रेरणाका स्रोत हुनुहुन्थ्यो र उहाँका साहित्यिक कृतिहरू उहाँको जीवित विरासतका रूपमा रहनेछ ।’

नेपालको पछिल्लो राजनीतिक जीवन 

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो कम्युनिस्ट सरकारमा सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका नेता नेपालले २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीका रूपमा समेत काम गर्नुभयो । साहित्यमा ‘सञ्जय थापा’ नामले चिनिने नेता नेपालका एक दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् । मदन भण्डारी दुर्घटनालाई केन्द्र बनाएर लेखिएको उपन्यास ‘बर्बरिक’ होस् या ‘एक्काइसौँ शताब्दीकी सुम्निमा’, ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘जननी जन्मभूमिश्च’, ‘देउमाईको किनारमा’ यी सबै कृतिहरूले नेपाली साहित्यमा गहिरो प्रभाव छोडेका छन् ।

२०७५ सालमा एमाले र माओवादीबीच एकता हुँदा उत्पन्न असन्तुष्टिले नेता नेपाल राजनीतिबाट केही टाढा बस्नुभयो र पढाइ–लेखनमा केन्द्रित हुनुभयो । उहाँको लेखन सधैँ यथार्थपरक, राजनीतिक चेतनायुक्त र विचारप्रधान रह्यो । उहाँका कृतिहरू नेपाली समाजको ऐनाझैँ छन् ।

नेता नेपालको जीवनले हामीलाई राजनीति केवल सत्ताको मात्र खेल नभई विचार, प्रतिबद्धता, साहस र समाजप्रति निष्ठाको सन्दर्भ हो भन्ने सन्देश दिन्छ । नेपालको वामपन्थी आन्दोलन, साहित्य र राजनीतिक शिक्षाको इतिहासमा उहाँ सधैँ हाम्रो स्मृतिमा रहिरहनु हुनेछ । उहाँकी एक छोरी हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया