भारतीय राजदूतद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त

 वैशाख २७, २०८२ शनिबार ८:५३:६ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारले आतङ्कवादविरुद्ध लिएको अडानका लागि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले धन्यवाद व्यक्त गर्नुभएको छ ।

हिजो बेलुका लैनचौरमा रहेको दूतावासमा मूलधारका आमसञ्चार माध्यमका सम्पादकहरुसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले जम्मू–काश्मीर क्षेत्रमा भएको आतङ्ककारी आक्रमणकोविरुद्धमा नेपाल सरकार र नेपाली नागरिक उभिएकोमा खुशी व्यक्त गर्नुभयो ।

काश्मीरको पहलगाममा गएको वैशाख ९ मा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । यो आक्रमण र त्यसपछि विकासित घटनाक्रमका बारेमा राजदूत श्रीवास्तवले जानकारी गराउनुभयो ।

पहलगाम घटनापछि काश्मीर क्षेत्रको ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्टमा आक्रमण भएको र यसमा १६ जना भारतीयको ज्यान गएको उहाँले बताउनुभएको छ । भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारबाही मात्र गरिएको उहाँको भनाइ छ ।

त्यसअघि हिजो राजदूत श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो । विश्व शान्तिको पक्षमा दृढ रहेको नेपालले आफ्नो कुनै पनि भूमि आतङ्कवादकोविरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्नुभएको उहाँले जानकारी गराउनुभयो ।

राजदूत श्रीवास्तवले भारतका संवेदनशील क्षेत्रमा केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको, छिमेकी देश नेपालतर्फको आपूर्ति व्यवस्थामा कुनै पनि किसिमको समस्या नआउने गरी आवश्यक काम भइरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन आग्रह गर्नुभएको छ ।

घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने खाँचो रहेकोमा उहाँको जोड छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया