भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
दुईजना जँड्याहाको लामो अन्तरालमा भेट भयो । लामो अन्तरालका कुरा गर्न जाँड खानै पर्याे । उनीहरू नजिकैको भट्टीमा पसेर पिउन थाले । दुई ग्लास चिरिप्प पारेपछि कानले सुनेका र आँखाले देखेका सबै कुरा मिसमास फुर्न थाले । कुरा यसरी शुरू भयो ।
‘भारत र पाकिस्तानको सिमाना लाँकुरीभञ्ज्याङमा रिसोर्ट लड्यो रे ।’
‘रिसोर्ट लड्या हैन क्या, गन्नेमान्ने नेता लडेका रे ।’
‘नेता हैन देश लडेका, भारत र पाकिस्तान लड्यो भन्छन् त ।’
‘हैन भारत र पाकिस्तान लाँकुरीभञ्ज्याङको रिसोर्टमा लडेका ?’
‘हैट उल्लु, उनीहरू सीमामा लडेका, रिसोर्टमा चाहिँ लाँकुरी लडेको रे ।’
‘लाँकुरीको रुख लडेको कि नेता लडेको ?’
‘अँ राति पिसाब गर्न बाहिर निस्कँदा लाँकुरीको जरामा अल्झेर नेता लडेका रे ।’
‘कम्युनिस्ट नेता कांग्रेसको रुखमा के लड्थे ? चुनाव लडेको होला ।’
‘हो त, चुनाव रुखको आडमा लडे । रुखले कुर्सीबाट झारेपछि अहिले रिसोर्टको ठुटोमा अल्झिएर लडे !’
‘हैन होला लड्नै परेपछि ओछ्यानमा पो लड्छन् त । पक्कै फेरि चुनावमै लड्या हुनुपर्छ ।’
‘चुनाव त आएको भए पो लड्नु ।’
‘त्यसो भए प्रधानमन्त्रीका लागि लड्या होला ।’
‘प्रधानमन्त्रीका लागि त २०८४ सालसम्म लड्दै लड्दिन भनेका छन् ।’
‘भ्रष्टाचारविरुद्ध पो लडे कि ?’
‘भ्रष्टाचारविरुद्ध लडे भने त आफैँ उठ्न नसक्नेगरी लड्छन् । त्यो पनि हैन के !’
‘अनि हो चाहिँ के त ? कहिले गरिबीविरुद्धको लडाइँ । कहिले बेथितिविरुद्धको लडाइँ । कहिले प्रतिगमनविरुद्धको लडाइँ । कहिले महँगीविरुद्धको लडाइँ । कहिले कुशासनविरुद्धको लडाइँ भन्थे । यिनैमध्ये केहीको लडाइँ हुनुपर्छ ।’
‘पख है मलाई याद आयो प्रगतिशीलविरुद्धको लडाइँ रे । दिउँसो पार्टी कार्यालयमा प्रगतिशील विवाह भएकाे थियो रे । विवाहमा पानी मात्रै पिलाएछन् । पानीले धित नमरेपछि राति घाटी भिजाउन लाँकुरीभञ्ज्याङको रिसोर्टमा गएका रे ।’
‘अनि रिसोर्ट लडेको कि लाँकुरी लडेको त ?’
‘हैन क्या ?’
‘त्यसो भए बोत्तल, ग्लास लड्यो ?’
‘पहिले बोतल ग्लासमा लड्यो । ग्लास मुखमा लड्यो । अनि मुख भएको टाउको र टाउको थामेको ज्यान चर्पीमा लड्यो ।’
‘धत् तिमी हामीजस्तो हो र चर्पीमा, दोबाटोमा लड्नलाई ? रिसोर्टमा लडेका । पहिले जनयुद्ध लडे, अहिले रिसोर्टमा लडे ।’
‘त्यतिबेला त निरङ्कुशताविरुद्ध, शोषणविरुद्ध, अन्यायविरुद्ध लडे । अहिलेको यो चाहिँ केविरुद्धको लडाइँ हो त ?’
‘प्रतिगमनविरुद्धको, जडसूत्रवादविरुद्धको लडाइँ हुनुपर्छ । बाहुनले रक्सी छुँदै छुनुहुन्न, रक्सी पिउनेलाई भाटे कारबाही गर्नुपर्छ भन्नु जनसूत्रवादी सोच हो । पहिले–पहिले क्रान्तिमा भीरपाखामा लडेको भन्दैमा अहिले शान्तिको बेलामा पनि दोबाटोमै लड्नुपर्छ भन्ने के छ ? पानीले धित नमरेर रक्सी पिउनु र झुपडीको पीर मेट्न जाँदा रिसोर्टमा लड्नु अग्रगमन हो ।’
‘कहिले बन्दुक बोकेर लडे, कहिले झण्डा हल्लाएर लडे, अनि अहिले चाहिँ कसरी लडे त ?’
‘चिप्लेर लडेको भन्छन् ।’
‘उनको त बेलाबेला जिब्रो मात्रै चिप्लिन्थ्यो त । जिब्रो चिप्लेर पनि कोही लड्छ ?’
‘जिब्रो हैन क्या, खुट्टा चिप्लेको ।’
‘ग्लास चिप्लेको होला ।’
‘पहिले ग्लास चिप्लियो रे, अनि खुट्टा ।’
‘अनि लड्या चाहिँ को त ?’
‘हत्तेरी कति भन्नु, भारत र पाकिस्तान लडेका क्या ।’
‘अनि भारत पाकिस्तान पनि रक्सी खाएर लडेका ?’
‘हत्तेरि... रक्सीले हैन क्या, रीसले लडेका । रक्सीले लड्या भए रिसोर्टमा लड्थे, महँगै अस्पतालमा सुटुक्क उपचार गर्थे । उनीहरू त एकअर्काको रीसले सीमामा लडेका । सुटुक्क हैन, हाक्काहाक्की लडेका । आतङ्कवादविरुद्धको लडाइँ रे ।’
‘आतङ्कको विरुद्ध लड्दा त आतङ्क पो परास्त हुन्छ । झन् आतङ्क बढ्यो । यसलाई कसरी आतङ्कवादविरुद्धको लडाइँ भन्ने ?’
‘ठूला देशहरू, ठूला मान्छेहरू यसै भन्छन्, हाम्लाई के थाहा ? जसले आतङ्क फैलाउँछ, उही आतङ्कवादको लडाइँ लड्छ । जो यस्तै लडाइँमा रुचि राख्छ, उसैले शान्त बस भन्छ ।’
‘जो भ्रष्टाचार गर्छ, उही भ्रष्टाचारविरुद्धको लडाइँ लड्छ ।’
‘हेर साथी लडाइँ त सबै ठाउँमा हुनुपर्छ । सबैतिर लड्नुपर्छ । केही वर्षअघिसम्म संसार कोरोनासँग लड्यो ।’
‘अब दुई वर्षपछि हाम्रा नेताहरू चुनाव लड्छन् । जित्ने चुरीफुरी देखाउनेहरू उठ्नै नसक्नेगरी लड्न ।’
‘लडाइँ त अरू ठाउँमा पनि हुन्छ साथी । कार्यालय समयमा बस चढ्न पनि युद्ध लडेझैँ लड्नुपर्छ ।’
‘कोही सफलताका लागि लड्छन् । कोही देशका लागि लड्छन् । कोही हक अधिकारका लागि लड्छन् । कोही मुद्दा लड्छन् । कोही गरिबीविरुद्ध लड्छन् ।’
‘हैन कति धेरै लडाइँ हो ? अहिले हामी चाहिँ केविरुद्ध लडिरहेका छौँ त ?’
‘हालमा, वर्तमानमा, अहिलेको परिस्थितिमा, तत्काल चाहिँ हामी विगतमा आफ्नै ज्यानले खपेका विछोडको पीडाविरुद्ध ग्लाससित लड्दैछौँ ।’
‘यतिका लडाइँका कुरा हाम्रा दिमागमा कसरी पस्छन् हँ ? झोल मुखमा जान्छ, कुरा दिमागमा फुर्छन् । कसरी फुर्छन् लु भन त !’
‘ल साथी दिमाग भनेर कता घुँडातिर छामेको त ? ओहो घुँडामा चोट पनि लागेछ ।’
‘तिम्रो खुट्टामा पनि चोट छ । लडाइँको कुरा गर्दागर्दै हामी पनि लडेछौँ साथी ।’
‘कसैले सोध्यो भने घरको शौचालयमा लडेको भन्ने है ?’
‘घरकाले सोधे भने नि ?’
‘भारत र पाकिस्तानको झगडा मिलाउन जाँदा अल्झेर लडेको भन्ने ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।