बर्दिया निकुञ्जबाट तीन थान भरुवा बन्दुकसहित महिला पक्राउ, चार सिकारीको खोजी हुँदै

 मंसिर २४, २०७५ सोमबार १६:७:५१ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जको उत्तरी क्षेत्रबाट तीन थान भरुवा बन्दुक र विभिन्न बन्दोबस्तीका सामाग्रीसहित एकजना महिलालाई पक्राउ गरेको छ ।

निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने खयरभट्टी पोष्टबाट निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणको नेपाली सेनाको टोलीले स्वीप अपरेसन गस्ती गर्दै गएका बेला निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने पाताचुली इलाकाको खोँचमा लुकाई राखेको अवस्थामा तीन थान भरुवा बन्दुकसहित एकजना महिलालाई पक्राउ गरेको हो ।

निकुञ्जको उत्तरी क्षेत्र तेलपानी नजिकको पाताचुली इलाकाबाट सेनाले सुर्खेत शुकरमाला कि ५० वर्षीया नन्दकली खत्रीलाई तीन वटा भरुवा बन्दुक र विभिन्न बन्दोबस्तीका सामाग्रीसहित पक्राउ गरेको बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गण ठाकुरद्वाराका गणपति प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईँले जानकारी दिनुभयो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले तीन नाल भरुवा बन्दुकसहित १५ थान फलामको गोली, केप १ थान, बारुद ३ सय ग्राम, गन्धक बारुद १ पाकेट, ४ किलो वन्यजन्तुको सुकुटी, २ किलो बाेसाेलगायत सिकार खेल्न प्रयोग गरिने थुप्रै बन्दोबस्तीका सामाग्रीहरु पनि बरामद गरेको छ ।

अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाले चार जना शिकारी रहेको बताएपछि उनीहरुको पनि खोजी भइरहेको निकुञ्ज सुरक्षार्थ वी दल गणका गणपति चापागाईँले बताउनुभयो । महिलाले दिएको बयानका आधारमा सिकारीहरु पनि पक्राउ गर्ने उहाँले बताउनुभयो । 

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकी महिलाले शिकारीलाई खाना पकाएर खुवाउनेलगायत शिकारीलाई विभिन्न सहयोग गर्दै आएको बताएकी छन् । निकुञ्जको कोर एरियामा शिकारी बसेको गोप्य सूचनाको आधारमा दुई दिनदेखि स्वीप अपरेसन गर्ने क्रममा ती महिलालाई हतियारसहित पक्राउ गरिएको सुरक्षा संयन्त्रले जानकारी दिएको छ । 

पछिल्लो समय बर्दिया निकुञ्जमा सेनाले गस्ती अपरेसन तीव्र पारेको छ । केही दिनअघि नेपाली सेनाको सहयोगमा निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रमा चिरानी गरी लुकाई राखेको ३ सय २३ क्युफिट सालका चिरान काठ समेत बरामद थियो ।

निकुञ्जले सवारी गस्ती गर्न नसक्ने स्थानहरुमा छिटो पुग्नका लागि नेपाली सेनालाई २० वटा साइकल समेत उपलब्ध गराएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले निकुञ्जमा हुने अवैध गतिविधि रोक्न पैदल गस्तीसँगै मोटरसाइकल, साइकल, हात्ती र सवारी गस्तीलाई प्राथमिकता दिएको छ ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया