फेसबुक, इन्स्टाग्रामले सरकारलाई टेरेनन् : अहिलेसम्म चार वटा मात्रै सूचीकृत

 वैशाख २९, २०८२ सोमबार १२:५३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकरण हुन पटक–पटक पत्राचार गरे पनि उनीहरूले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अहिलेसम्म चार वटा सामाजिक सञ्जाल मात्रै सूचीकृत भएका छन् ।

नेपालमा ४० वटाभन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । सूचीकृत हुनेमा भाइबर, विइटक, टिकटक, निम्बज रहेका छन् । मेटाअन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेड्स सूचीकरण भएको छैन ।

त्यस्तै एक्स (पुरानो ट्विटर), स्न्यापच्याट, लिङदिन, विइच्याट, युटुव,टेलिग्राम, ट्रुथ, ग्रेटर, रेिडट, लाइन लगायत नेपालमा सञ्चालित भए पनि नेपालको कानूनअनुसार सूचीकृत हुन अटेर गरिरहेका छन् ।

सञ्चार मन्त्रालयले पहिलो पटक २०८० साल मङ्सिर १५ गते सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था अनुसार सूचना प्रकाशन भएको मितिले तीन महिनाभित्र सूचीकरण हुन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्न भनेको थियो ।

त्यो निर्देशन सामाजिक सञ्जालले मानेका छैनन् । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्बाध रूपमा सामाजिक सञ्जालको प्रयोग गरून् र सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालनकर्ताले निर्देशिकाले तोकेको विधि–प्रक्रिया अनुरूप आ–आफ्नो प्लेटफर्म सञ्चालन गरून् भन्ने अपेक्षाका साथ ताकेता गरिएको जनाएको छ ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धबारे अहिलेसम्म कुनै निर्णय नगरिएको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताउनुभयो । उहाँले सामाजिक सञ्जाल अझै पनि सूचीकृत हुन नआए अब कानून अनुसार प्रक्रिया चालिने बताउनुभयो ।

अहिले किन उनीहरू सूचीकरण हुन आएनन् भनेर कारण खोजिँदैछ । सामाजिक सञ्जालले संवादमा महत्त्वपूर्ण भूमिका खेलेको र यो विषय स्वतन्त्रतासँग पनि जोडिएकाले सीधै बन्द गर्नसक्ने अवस्थामा सरकार नरहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया