सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुना सहभागी हुने

 वैशाख ३०, २०८२ मंगलबार १७:५९:३९ | रासस
unn.prixa.net

काठमाण्डाै – आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।

सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५ जना विदेशी पाहुनासहित तीन सय ५० जना सहभागी हुने जानकारी दिनुभएको हो । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग 'साइडलाइन' भेटवार्ताको व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरूप सरकारले १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले जानकारी दिनुभयो ।

चीन र भारतबाट प्रतिनिधित्व गर्ने र कोप–२९ का अध्यक्ष एवम् अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नुरहेको परराष्ट्रमन्त्रीले बताउनुभयो । सगरमाथा संवाद ‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन भइरहेको सरकारले जनाएको छ ।

यसैबीच सगरमाथा संवाद सचिवालयका सदस्य सचिव एवम् वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. महेश्वर ढकालले जलवायु परिवर्तनको मुद्दा प्राविधिकसँग राजनीतिक विषय पनि भएकोले त्यहीअनुसार छलफल गरिने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया