आर्थिक वर्ष सकिन २ महिना बाँकी हुँदा सरकारको विकास खर्च लक्ष्यको ३४ प्रतिशतमात्रै

सरकारी खाता २ खर्ब ११ अर्बभन्दा धेरैले घाटामा

 जेठ १, २०८२ बिहीबार १५:६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालू आर्थिक वर्ष सकिन दुई महिनामात्रै बाँकी रहँदा सरकारको पूँजीगत अर्थात् विकास खर्च लक्ष्यको ३४ दशमलव १६ प्रतिशतमात्रै भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कानुसार चालू आर्थिक वर्षका लागि पूँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन भएकोमा हिजो अर्थात् वैशाख मसान्तसम्ममा एक खर्ब १९ अर्ब ८६ करोड रुपैयाँमात्रै खर्च भएको हो ।

सरकारले गएको आर्थिक वर्षको वैशाख मसान्तसम्ममा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । आफ्नो लक्ष्य भेटाउन सरकारले अब दुई महिनामा दुई खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ ।

छोटो समयमा धेरै काम गर्दा कामको गुणस्तर नहुने, कतिपय कामै नगरी भुक्तानी दिनेलगायतका समस्या आउने गरेका छन् । सँगै जेठ–असारमा हतारहतार धेरै बजेट खर्च गर्ने र त्यसको उपलब्ध कमजोर हुने भएकोले बारम्बार असारे विकासको विरोध भइरहे पनि सरकारले फेरि आफ्नो पुरानै बानी दोहोर्‍याएको हो ।

विकास बजेटको खर्च कमजोर रहे पनि चालूतर्फ भने लक्ष्यको ६७ दशमलव ७९ प्रतिशत धेरै खर्च भइसकेको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ७१ दशमलव ९६ प्रतिशत खर्च भएकाले सरकारको कुल खर्च भने लक्ष्यको ६२ दशमलव २४ प्रतिशत पुगेको छ । वित्तीय व्यवस्थातर्फको बजेट ऋणको साँवा–ब्याज भुक्तानी तथा शेयर लगानीमा खर्च हुन्छ ।

यस्तै सरकारले आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा लक्ष्यको ६४ दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलनको लक्ष्य लिएको सरकारले वैशाख मसान्तसम्ममा नाै खर्ब १९ अर्ब ३९ करोड रुपैयाँ सङ्कलन गरेकाे छ ।

सरकारले १० महिनामा कुल नाै खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी गर्दा ११ खर्ब ५७ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । जसअनुसार सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब ११ अर्ब रुपैयाँभन्दा धेरैले बढी छ ।

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया