इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी
असार २, २०८२ सोमबार
‘प्रदीप नेपाल अन्तिम अवस्थामा छन् रे’ बालाई कसैले सुनाइदियो ।
‘को नेपाल रे ?!’ बाले कान ठाडा बनाए ।
‘प्रदीप नेपाल !’
‘ए म त नेपाल मात्रै सुनेर अरू नै सम्झेको नि । ती प्रदीपसँग संगत हुन छोडेको त धेरै भयो । के पो गर्दै थिए कुन्नि आजकल ?’
‘घरमै बसेर पार्किन्सस रोगसँग लड्दै थिए नि हजुर ।’
‘ए हो क्यारे । अब पार्टी छोडेरै नहिँडे पनि पार्टीमै छु जस्तो गरेनन् । मेरो वरपर त झन् देखै परेनन् । अनि कसरी सम्झना भैरहोस् त । अन्तिम अवस्थामा त एकपटक भेट्नै जान पर्याे ।’
‘.....ला हजुर भर्खर बितेको खबर आयो ।’
‘हो र, अन्तिम अवस्थामा पनि फलानो भेट्न आएन भनेर कुरा काट्ने भए विरोधीले ।’
‘विरोधीका मुख थुनेर सकिँदैन हजुर । हावाहुरीले रुख ढालेर बिजुली झ्याप्प जान्छ, अनि हजुरलाई मुख छाड्छन् ।’
‘ल यो अपजसे बिजुलीका कुरा गर्न छाडेर फूलमाला खोज । श्रद्धाञ्जली दिन जानुपर्याे ।’
‘श्रद्धाञ्जली दिन पर्दैन रे हजुर । फूलमाला पनि नलेराउनु, पार्टीको झण्डा पनि नओढाउनु, लावालस्कर मलामी पनि नआउनु भनेका छन् रे ।’
‘कसले, उनले नै भनेका ?’
‘अँ हजुर ?’
‘मर्न लाग्दा भनेका कि मरिसकेपछि ?’
‘जिउँदैमा भनेका हजुर । यहाँ उहाँको लेखै छापिएको छ । हजुर आफैँ पढ्ने ..र ! ‘त्यो पर्दैन, तपाईं उच्च स्वरले पढ्नु म सुन्छु ।’
‘मेरो मृत्युपछि, मेरो परिवारले मेरो नाममा कुनै मृत्युकर्म नगरोस् । मृत्युपश्चात् फोन गरीगरी मलामी नबोलाओस् । पार्टी कार्यालय अथवा प्रज्ञा प्रतिष्ठानमा लासको प्रदर्शन पनि नगरोस् । मैले आँखादान गरिसकेको छु र बाँकी रहेका कुनै अङ्ग अर्को मानिसलाई काम लाग्छ भने त्यो पनि यही आत्मस्वीकृतिमार्फत दान दिएको छु । मेरा नाममा श्रद्धाञ्जलीका कुनै कार्यक्रम आयोजना नगरिऊन् । मलामी खुवाउने काम गर्दै नगरियोस् ।
म एक्लै आएँ, जिन्दगीको लामो हिस्सा एक्लै बिताएँ, आफैँ नेता भएँ, आफैँले नेता पद त्यागेँ, आफैँ साहित्यकार भएँ र जाँदा पनि म एक्लै जाने छु भन्ने सत्य मलाई थाहा छ । मेरो मात्र युग समाप्त हुने छ, अरू सबै यथावत् रहने छ । बाँचुन्जेल मैले मेरो स्वतन्त्रतालाई अक्षुण्ण राखेँ । म मर्दा पनि स्वतन्त्र भएरै मर्न पाऊँ । लासको प्रशस्ति गाउने चलन छ नेपालमा । मेरा नाममा त्यो नगरियोस् किनभने मृत्युपछिको कुनै संसार हुँदैन भन्ने मलाई थाहा छ । थाहा मात्र होइन, विश्वास पनि छ ।
म जहाँ जन्मिएँ, जस्तो परिवेशमा हुर्किएँ, त्यहाँदेखि यहाँसम्मको जीवनयात्रा एउटा कथा हो । स्वयम् मेरा लागि पनि कथा हो । धनी भएपछि मानिस आफ्नो जन्मको परिवेश, साथीभाइ, इष्टमित्र बिर्सन्छन् । तर मैले बिर्सन सकिनँ । जिन्दगी एउटा नोस्टाल्जिया बन्यो । केही नभए पनि अहिलेसम्म मेरा लागि उही गोगने, जहाँ म जन्मिएँ, उही भोजपुर जहाँ म हुर्किएँ, यिनै मेरा लागि।’
‘भो भो, मैले कुरा बुझे । अरू पढ्नु पर्दैन !’
‘किन र हजुर !’
‘मान्छेलाई बढ्ता फुर्सद भयो भने दिमागमा नचाहिने कुरा फुर्छ भन्थे । यिनले यस्तै नचाहिने कुरा फुराएछन् । दिमागमा फुरे पनि चुप लागेर बसेको भए भैहाल्थ्यो नि । लेख्नै भ्याएछन् । कहिले लेखेका हुन् कुन्नि, त्यो किन सुनिराख्नु । आफूलाई देश विकास गर्नै भ्याइनभ्याइ छ । यस्ता नचाहिने कुरामा अल्झिने कुरो पनि भएन । फेसबुक र टिकटकमा राखेको भए हेर्न भ्याइन्थ्यो होला ।’
‘कहाँ हजुर पार्टीको काम र राजनीतिबाट समेत वाक्क थिए रे । पार्टीभित्र शत्रुता, धोका र स्वार्थी सम्बन्धबाट दिक्क थिए रे ।’
‘त्यही भएर त नेता भैरहन सकेनन् नि । धोका, छलकपट, चलखेल, स्वार्थमा खेल्न जानिएन भने कसरी पार्टी चलाउन सकिन्छ ? जसले यस्तो गर्न जानेन, ऊ पछि पर्याे । त्यसैले त अहिले मलाई विरोध गर्ने साथीहरू पछि परिराछन् । अरू पार्टीमा पनि हेरौँ न । म जस्तो पार्टीको मूलीहरू सबै जालझेल, चलखेल र धोकाधडीमा खप्पिस छन् । त्यसैले त सबैको दोकान चलेको छ नि ।’
‘अब के गर्ने त हजुर । उहाँलाई श्रद्धाञ्जली दिन नजाने ?’
‘अब यो कसैले नपढेको भए जान हुन्थ्यो । फूलमाला चढाएछन्, पार्टीको झण्डा ओढाएछन्, श्रद्धाञ्जली दिएछन् भनेर हल्लाखल्ला हुन्थ्यो । जे भए पनि एकताका सँगै राजनीतिमा हिँडेका सहयोद्धा थिए । फूलमाला नै चढाउन नपाएपछि खल्लो त हुने नै भयो । अब यिनी प्रदीप नेपाल हैन सञ्जय थापा थिए भनेर चित्त बुझाउन पर्याे ।’
‘कसरी हजुर ?’
‘अब कसरी भन्नु, राजनीति गर्नेहरू जिउँदो छँदा मात्रै होइन, मर्दा पनि शान र मान पाइयोस् भन्ने चाहन्छन् । शरीरभरी फूलमाला, अघिपछि मलामीका लस्कर, शोक सन्देश र श्रद्धाञ्जलीका बाढी । अनि पो मरेको पनि स्वाद हुन्छ । मरण पनि बेस्वादको रोज्नेलाई कसरी नेता भन्ने ? जिन्दगीको अन्तिम समयसम्म र मरेपछि पनि राजनीतिमा सक्रिय भएको भए प्रदीप हुन्थे, मर्ने बेलामा पनि साहित्य छाँटेर अस्ताए, त्यसैले सञ्जय भए । जे भए पनि फेसबुकमा श्रद्धाञ्जलीको एउटा स्टाटस त लेख्न पर्याे । न त्यो पनि नलेख्नु भनेका छन् कि, खै खै बत्ती बाल त त्यो चिर्कटो एकपटक फेरि पढौँ ।’
‘बत्ती त फेरि गएछ हजुर ।’
‘बत्ती भनेको बिजुली मात्रै हुन्छ ? मोबाइल बाल न, नभए मैनबत्ती बाल । उबेला हाम्रा पुर्खाहरूले सल्लोको खोटो बालेर त जिन्दगी चलाएका थिए । अहिले दिनमा चार, पाँच फेर बत्ती जाँदा पनि के के भयो भनेर उधुम मच्चाउँछन् ठेट्नाहरू !’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।