भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
पछिल्लो समय स्वदेश तथा विदेशको अर्थ बजारमा चार्टर्ड एकाउन्टेन्ट (सीए) को बढ्दो मागका कारण नेपालमा पनि सीए शिक्षा अध्ययन गर्ने बढ्दै गएका छन् । नेपालमा सीए पास जनशक्ति मुख्यतया लेखापरीक्षणको क्षेत्रमा क्रियाशील छन् । साथै लेखा, वित्तीय व्यवस्थापन, कर, कानूनलगायत विधामा दक्ष हुने भएकाले उनीहरूले परामर्शदाताका रूपमा पनि काम गरिरहेका छन् । सीए शिक्षाका अवसर, चुनौती र सम्भावनाबारे प्राइम सीएका अध्यक्ष नवराज बुर्लाकोटीसँग मल्लिका थापाले गर्नुभएको कुराकानी :
सीए शिक्षा कस्तो हो ?
चार्टर्ड एकाउन्टेन्सी (सीए) भनेको अन्य पेशाजस्तै देशको अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक पर्ने महत्त्वपूर्ण क्षेत्र हो । यसले अर्थतन्त्रको शुरू अवस्थामा कहाँ लगानी गर्ने, कति आम्दानी हुन्छ, त्यसको समग्र वित्तीय विवरणको यथार्थपरक विश्लेषण गर्छ । त्यसैले अर्थतन्त्रमा यसको भूमिका एकदमै महत्त्वपूर्ण छ । कानूनी हिसाबमा भन्दा नेपाल एकाउन्टेन्सी संस्था (आईक्यान) ले जारी गरेको चार्टर्ड एकाउन्टेन्सी कोर्ष पास गर्ने व्यक्तिलाई हामी चार्टर्ड एकाउन्टेन्ट भन्छौँ । सीएहरू मुख्यरूपमा अर्थतन्त्रको क्षेत्रमा क्रियाशील छन् । अर्थतन्त्रमा केही तलमाथि भएमा त्यसको विश्लेषण गरेर निराकरण गर्नमा एउटा महत्त्वपूर्ण भूमिका चार्टर्ड एकाउन्टेन्टको रहन्छ ।
कसले पढ्न पाउँछन् सीए ?
सीए दुईवटा तहमा पढ्न सकिन्छ । एउटा कक्षा १२ पछि र अर्को स्नातक गरेपछि । शुरूको तहलाई फाउन्डेशन लेभल भन्छौँ । यो भनेको १२ कक्षाको परीक्षा दिएर त्यसको नतिजाको पर्खाइमा रहेको अवस्थामा पनि सीए पढ्न सकिन्छ, त्यो एक प्रकारले तयारीजस्तै हो । तर परीक्षा दिने समय अगाडि वा रजिस्ट्रेशन लिनुअघि नतिजा आएर कक्षा १२ पास गरेकै हुनुपर्छ । अर्को भनेको हामीले स्नातक गरेर पनि पढ्न सक्छौँ । तर सीए नै पढ्ने हो भने आधारभूत तहबाटै पढ्दा राम्रो हुन्छ ।
कुन–कुन सङ्कायको विद्यार्थीले पढ्न सक्छन् ?
सीए पढ्नका लागि यही नै सङ्काय भन्ने छैन । हामीले सुन्दा चार्टर्ड एकाउन्टेन्सी भनेको लेखा वा व्यवस्थापन नै पढेकोले पढ्ने भन्ने सुन्छौँ । तर यो पढ्नका लागि व्यवस्थापन पढेकै हुनुपर्ने भन्ने अनिवार्य छैन । जुनसुकै विषय पढेकोले पनि सीए पढ्न सक्छ । तर व्यवस्थापनसँग सम्बन्धित क्षेत्र भएकाले व्यवस्थापन सङ्काय पढेकै विद्यार्थीले मात्र सीए अध्ययन गर्न पाइन्छ भन्ने कुरा गलत हो । पछिल्लो समय विज्ञान वा व्यवस्थापन सङ्कायका विद्यार्थीले सीए पढिरहेका भए पनि जुनसुकै विषयमा कक्षा १२ पढ्नेले सीए पढ्न पाउने व्यवस्था छ ।
सीए पढ्नका लागि के कस्तो तयारी गर्नुपर्छ ?
सीए पढ्नकै लागि त्यस्तो विशेष छुट्टै तयारी गर्नुपर्छ भन्ने छैन । विद्यार्थीले ध्यान दिनैपर्ने कुरा चाहिँ पहिले त आफूले कुन विषय पढ्ने निश्चय गर्नुपर्यो । त्यसपछि विषयवस्तु कस्तो हो बुझ्नु पर्यो । पढ्न कति समय लाग्छ वा यसको समयसीमा बुझ्नु पर्यो । कति पैसा लाग्छ भन्ने पनि बुझ्नु पर्यो । समग्रमा भन्दा आफूले रोजेको क्षेत्रको विस्तृत अध्ययन गर्नु पर्यो । काठमाण्डौमा हुनेका लागि यससम्बन्धी तयारी गराउने विभिन्न संस्थाहरू छन् । काठमाण्डौबाहिर हुने विद्यार्थीहरूको सन्दर्भमा सबै ठाउँमा नभए पनि मुख्य–मुख्य शहरहरूमा पनि सीएको तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरू छन् । अर्को भनेको घरमै बसेर पनि त्यसको अध्ययन गर्न सकिन्छ । सीए पढ्नका लागि अन्य विषय जसरी कुनै निश्चित शैक्षिक संस्थामा गएर नियमित अध्ययन गर्नुपर्छ भन्ने छैन । आफूले सकिन्छ भन्ने आत्मविश्वास छ र त्यससम्बन्धी जानकारी छ भने घरमै बसेर पनि यसको तयारी गर्न सकिन्छ । यो विषय स्वअध्ययन गर्न सकिने विषय हो । विद्यार्थीले घरमै स्वअध्ययन गरेर पनि आईक्यानले लिने परीक्षामा सहभागी भएर आफ्नो पढाइ पूरा गर्न सक्छन् ।
सीए पढ्न कति खर्च लाग्छ ?
कुनै शैक्षिक संस्थामा गएर पढ्न थालियो भने सरदरमा सीए पढ्न झन्डै ५ देखि ६ लाख रुपैयाँसम्म खर्च हुन्छ । यो कोर्षमा ३ वटा तह हुन्छन् । पहिलो पटक ६ महिनाको फाउन्डेशन तह हुन्छ । सीएको परीक्षा वर्षमा २ पटक हुन्छ । आफूले परीक्षा दिने हो भने त्यसको ६ महिना अघि रजिस्ट्रेशन लिइसक्नुपर्छ । अहिलेको सन्दर्भमा कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अब मे ३१ सम्ममा रजिस्ट्रेशन गर्दा डिसेम्बरको परीक्षा दिन पाउँछन् र नाेभेम्बर ३० सम्ममा गर्यो भने नोभेम्बरको परीक्षा दिन पाउँछन् । कानूनीरूपमा यसको ५ वर्षे कोर्ष हुन्छ । स्वअध्ययन गर्ने विद्यार्थीले पढाइमा लाग्ने खर्च पनि बचत गर्न सक्छन् । सीधै आईक्यानबाट परीक्षा दिँदा एक लाख पचास हजार रुपैयाँमात्र खर्च हुन्छ ।
नेपालमा विशेषगरी कुन संस्थामा सीए पास जनशक्ति छन् ?
भर्खरै पास गरेको अवस्थामा अडिट फर्महरूमा हुन्छन् । जहाँ आन्तरिक लेखा परीक्षणको काम हुन्छ । व्यावसायिक सङ्घ–संस्था पनि सीएको हुन्छ । हरेक सङ्घ–संस्थामा चार्टर्ड एकाउन्टेन्ट चाहिने अवस्था छ । अहिले धेरैजसो बैंकहरूमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सीए हुनुहुन्छ । नीति र योजना निर्माणमा नै सीएहरू छन् । दायराको हिसाबले चिन्ता लिनुपर्ने विषय यो होइन । राष्ट्र निर्माणका लागि चार्टर्ड एकाउन्टेन्सीको भूमिका महत्त्वपूर्ण छ । सीएको नाम, दाम र काम सबै राम्रो छ । समग्रमा असाध्यै नैतिकवान् भएर अघि बढ्न सिकाउने क्षेत्र हो यो । देशको अर्थतन्त्र एउटा गतिमा नजानुको पछाडि सरकारसँग चार्टर्ड एकाउन्टेन्टहरू स्थायी रूपमा नहुनु पनि हो । सीएहरू कन्सल्टेन्टका रूपमा त छन् तर त्यतिले मात्रै पुग्दैन । त्यसका लागि सदैव सरकारी संयन्त्रसँग सीएहरू हुन आवश्यक छ । यसले गर्दा अर्थतन्त्रमा ठूलो सुधार आउन सक्छ ।
प्राइम सीएको शैक्षिक कार्यक्रम कस्तो छ ?
प्राइम सीए परिवारले विद्यार्थीहरूको सीएमा कसरी करियर बनाउने भन्नेमा सहयोग गरिरहेका हुन्छौँ । यहाँ आउने विद्यार्थीले पढ्दा पढ्दै कुनै कारणले सीए पढ्न नसक्ने अवस्था आएमा उहाँहरूलाई अन्य विकल्प पनि खुला रहन्छ । हप्ता, दश दिनभित्र कुनै कारणले त्यसको निर्णय लिन सकियो भने त्यो बुझ्ने समय पनि दिन्छौँ । यदि पढाइ छोड्नुपर्ने अवस्था आएमा विद्यार्थीको पैसा फिर्ता गरिन्छ । प्राइम सीएसँग जोडिएर सीए पढ्न शुरू गर्नेका लागि मुख्यतया तीनवटा कुरालाई प्राथमिकता दिइएको छ । विषयवस्तु बुझ्ने, स्मरण गर्ने र परीक्षामा लेख्ने । विद्यार्थीलाई के कसरी पढ्ने भन्ने अन्योल नहोस् भनेर बेलाबेला आन्तरिक जाँच लिने गरिएको छ । प्राइम सीएमा अहिले सीएसँगै व्यवस्थापनका अन्य विषयहरू पनि पढाइ हुन्छन् । विद्यार्थीले बीचमै सीए छोडेर व्यवस्थापनका अन्य विषयहरू पनि पढ्न सक्छन् । केही विद्यार्थीले सीएसँगै अरू विषयलाई पनि सँगसँगै लगिरहेका छन् ।
सीए पढ्न गाह्रो छ भनिन्छ नि ?
यो आ–आफ्नो बुझाइ र परिस्थितिमा भर पर्छ । मैले पनि पढ्ने समयमा सीए पढ्न सकिँदैन, पढ्न नसकेर मानसिक तनाव हुन्छ भन्ने अफवाह सुनेको हो । तर धेरैले पढेका पनि छन् र गरेका पनि छन् । यसमा पढ्नुपर्ने विषयवस्तु धेरै हुने भएकाले सबै कुरा सम्झिनका लागि अलि गाह्रो हुन्छ । यसमा व्यापारसँग सम्बन्धित सबै विषय जान्नुपर्ने भएकाले गाह्रो भनिएको हो । यस्तै अर्को यसमा अन्य विषयको जस्तो पढाइ हुँदैन । अरू विषय पढ्दा कुनै विषयमा फेल भएको खण्डमा त्यो विषय मात्रै अर्को वर्ष परीक्षा दिन सकिन्छ । यसमा भने त्यो हुँदैन । यसमा सबै विषयको परीक्षामा कम्तीमा ५० प्रतिशत अङ्क ल्याउनुपर्ने हुन्छ । अन्यथा सबै विषयको फेरि परीक्षा दिनुपर्छ । त्यसैले गर्दा परीक्षा प्रणाली अलि चुनौतीपूर्ण छ । बाहिर सुनिएजस्तै पढ्नै नसकिने भन्ने चाहिँ होइन । अलि सजग भएर अघि बढ्नुपर्ने विषय चाहिँ हो ।
सीए पढ्ने विद्यार्थीलाई दिने सुझाव के छ ?
मैले जीवनमा सिकेको दुईवटा ‘ख’ छन् । म सरकारी विद्यालयमा पढेको व्यक्ति । सरकारी विद्यालयबाटै एसएलसी पास गरेर काठमाण्डौ आएँ । अहिले म चार्टर्ड एकाउन्टेन्ट छु भने अहिलेका भाइबहिनीहरू सीए नहुने भन्ने त कुरै भएन । मैले भनेको दुईवटा ‘ख’ का भोगाइ भन्छु, एउटा ‘खट्न सक्ने’ र अर्को ‘खप्न सक्ने’ । एकदमै इच्छाशक्ति हुनुपर्छ । अहिले नै भइहाल्नुपर्ने भन्दा पनि बिस्तारै गर्दा पनि मेहनत गरेर अगाडि बढियो भने असाध्यै राम्रो कोर्ष हो र भविष्य पनि छ । भोलि पास गरिसकेपछि के होला भनेर सोच्नुपर्ने त्यति जरुरी हुँदैन । यदि हामीले कोर्षको गतिअनुसार अगाडि बढायौँ भने पास गरिसकेपछि हामीले समाजमा छुट्टै पहिचान बनाउन सक्छौँ । अझ भन्ने हो भने राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा हाम्रो पहिचान बन्छ । अलिकति मेहनत र दुःख त गर्नैपर्छ नि । जीवनमा बाधा अड्चन आउँछन् त्यसलाई सहेर सकारात्मक सोचसहित अघि बढ्न सकेमा सफल भइन्छ । मानिसले जीवन चलाउनलाई केही न केही त गरेकै हुन्छ । त्यसैले हामीले सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ । जीवनमा हरेक चिज सम्भव छ । धैर्यता, आशावादी, अनुशासित हुन सक्यौँ भने जीवनमा सफलता हासिल हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।