भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – मुख्यसचिव एकनारायण अर्याललगायत २० जनाभन्दा धेरै सचिवहरूले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई भेटेर निजामती विधेयकमा राखिएको दुई वर्षको 'कुलिङ पिरियड' व्यवस्था हटाउन माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत राज्य व्यवस्था समितिलाई दबाव दिन लगाएका सचिवहरूले सभामुख र राष्ट्रियसभाका अध्यक्षमार्फत पनि दबाव बढाएका हुन् । निजामती सेवाको उच्च तहबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी कुलिङ पिरियड राखिएकामा सचिवहरूले असन्तुष्टि व्यक्त गरेका छन् । यसबाट कर्मचारीहरूलाई मर्का पर्ने उनीहरूको भनाइ छ ।
दुई वर्षे कुलिङ पिरियडको व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट जेठ २ गते सर्वसम्मतिले पारित भइसकेको छ ।
यसैबीच राष्ट्रियसभाका अध्यक्ष दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले कर्मचारीहरूलाई अयोग्य गराएर अवकाश गराउन उपयुक्त नहुने आफूहरूको आग्रह रहेको बताउनुभयो ।
नियुक्ति गर्ने कि नगर्ने भन्ने कुरा सम्बन्धित निकाय, सरकारले गर्नसक्ने भन्दै महासचिव पाण्डेयले अवकाश पाएपछि दुई वर्षसम्म नियुक्ति हुन नपाउने विषयले कर्मचारीको अपमान हुर्ने बताउनुभयो । यस्तै यो संविधान विपरीत व्यव्सथा हुने उहाँको जिकिर छ ।
यस्तै सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा सबैको चित्त बुझाउन नसकिने बताउनुभएको छ । सचिवहरूको दौडधुपबारे टिप्पणी गर्दै सभापति खतिवडाले ३० वर्ष सेवा गरिसकेपछि दुई वर्ष आराम गरेर आवश्यक परेको बेलामा पुनः सरकारका लागि काम गर्न आउन भनेको बताउनुभयो ।
राजनीतिक नेतृत्वसँग कुरा गरेर फाइदा लिने चलनको अन्त्य गर्न कुलिङ पिरियड राखिएको खतिवडाको भनाइ छ । सभापति खतिवडाले समितिबाट पारित भएको निर्णयमा समिति अडिग रहेको र छिटोभन्दा छिटो विधेयक सदनमा लैजाने पक्षमा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।