सिंगापुरमा दुई दिन : अजबको कर्म, गजबको देश

 मंसिर २५, २०७५ मंगलबार १२:१:५३ | राधेश्याम खतिवडा
unn.prixa.net

धेरै नेताहरुले धेरै पटक आफ्ना भाषणमा नेपाललाई सिंगापुर जस्तै बनाउछौ भनेको सुनेको थिएँ । देशका ठूला नेताले देखेका सपनाको देश सिंगापुर पुग्ने रहर धेरै पहिलादेखि नै थियो । संयोग भनौं वा उपयुक्त समय यतिबेला त्यही सिंगापुर पुग्ने अवसर मिल्यो । चितवनका ६ जना पत्रकारको टोली भ्रमणका लागि हिँड्यौ । भ्रमणको प्याकेजमा ३ देश मलेसिया, सिंगापुर र थाइल्याण्ड भए पनि मेरो पुग्न र घुम्नको रहर भएको देश सिंगापुर नै थियो ।

मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङको स्वर्णभूमि विमानस्थल हुँदै सिंगापुर साँझ आइपुग्यांै । नेपालको भन्दा झण्डै २ घण्टा समय फरक भएका कारण हामी सिंगापुर आइपुग्दा रातको ९ बजेको थियो ।

भोलिपल्ट २३ गते बिहानैदेखि सिंगापुरका केही स्थान घुम्नका लागि अवसर मिल्यो । हामीसँगै रहेका पथप्रदर्शकले सिंगापुरको बारेमा जानकारी दिए । केही पर्यटकीय क्षेत्र अवलोकन गर्ने अवसर पनि मिल्यो । 

सिंगापुर म्यूजियममा हिजोको सिंगापुरदेखि आजको सिंगापुरसम्मको उन्नति र प्रगति प्रत्यक्ष अनुभूति गराउन सक्ने गरी पर्यटकलाई देखाउन सक्नु यहाँको अर्को उत्कृष्ट शैली थियो ।

फराकिला र चिल्ला सडक, गगनचुम्बी महल, चिल्ला गाडी, व्यस्त नागरिक, हरियाली र सफा सहर देख्दा लाग्थ्यो यो कुनै स्वर्गको टुक्रा हो । विधिले चलेको देश । न सडकमा प्रहरी, न नागरिकको भिड, न कसैको निगरानी, न त कसैको कर । स्वतःस्फूर्त रुपमा आफ्नै प्रणालीमा चलिरहेको यो देशमा पुग्दा रुल अफ ल (विधिको शासन)ले कसरी काम गर्न सक्दो रहेछ भन्ने राम्रैसँग बुझ्न पाइयो । 

पर्यटन :

सिंगापुरको गहान प्रमुख पर्यटकीय स्थल जूरोंग बर्ड पार्क, रेप्टाइल पार्क, जूला जिकल गार्डन रहेका रहेछन् । केही पार्क घुम्ने अवसर मिल्यो । त्यहाँ पुगेका पर्यटकको अनुहारले बताइरहेको देखिन्थ्यो कि कुनै अद्भूत कला र शैलीले सबैको मन खुशी बनाएको छ । तस्बीर लिने र पार्कमा बसेर मनोरञ्जन लिनेहरुको भिड बढेको थियो । छोटो समयमा देखाइएका कुरा र भेटिएका मानिससँग गरिएको कुराले मनमा अनेक बिषय खेलिरहे । गरे के नहुने रहेछ भन्ने वोध छोटो समयको घुमाईले सिकायो । 

सिंगापुर म्यूजियममा हिजोको सिंगापुरदेखि आजको सिंगापुरसम्मको उन्नति र प्रगति प्रत्यक्ष अनुभूति गराउन सक्ने गरी पर्यटकलाई देखाउन सक्नु यहाँको अर्को उत्कृष्ट शैली थियो । सन् १९६५मा स्वतन्त्र भएको देशले यति छोटो समयमा गरेको कायापलटको इतिहास सुन्दा जो कोही अचम्ममा पर्थे । जुन कुरा रियल पिक्चरमा आउने गरी देखाइने गरेको रहेछ । यदि देश हाँक्ने नेतामा इमान्दारिता र देशका नागरिकमा जागरुकता हुने हो भने विकास र प्रगति असम्भव छैन भन्ने कुरा प्रष्ट बुझ्न सकिन्थ्यो । 

देशका आदिवासी नागरिक ४ दशमलव ५ प्रतिशत मात्र । चिनीयाँ नागरिक ६७ प्रतिशत र भारतीय नागरिक १३ प्रतिशत रहेछन् । यो सुन्दा र बझ्दा लाग्छ, नेपालमा कहिले कस्तो भावनामा बगेर गरिने निर्णयका कारण बाहिरी लगानी नआउँदा विकास पछाडि परिरहेको त होइन ? 

यदि कुनै पनि देशका नागरिक आएर व्यपार वा देशको हित विपरीत काम गर्दैनन् भने काम गर्न दिंदा हुने रहेछ भन्ने सिकाई भयो । भावनामा बग्ने भन्दा पनि तथ्यमा केन्द्रित हुनका लागि विकसित देशको विकासका इतिहास केलाउन सके उत्तम हुने रहेछ जस्तो लाग्यो । 

भ्रमणका क्रममा यो देशको सेरोफेरोमा रहेका समुद्रमा रहेका पानीजहाज र समुद्रमाथिको व्यस्तता देख्दा विश्वका लागि यो केन्द्र बनेको जस्तो प्रष्ट देखिन्थ्यो ।

यही देशमा कुनै समय पानी, माटो र ढुंगाको समेत अभाव रहेछ । समुद्रले घेरिएको देशमा तत्कालीन समयमा भुईंकटर र खुर्सानीको मात्र उत्पादन हुने रहेछ । खानेपानीमा समेत अरुसँग आश्रित हुनुपरेको देश अहिले यो अवस्थामा पुग्न सक्नुका पछाडिको संघर्ष अझै बुझन मन छ । समुद्रमाटि बाहिरबाट माटो र ढुंगा ल्याएर गरिएको यो चमत्कारको रहस्य हाम्रो जस्तो प्राकृतिक श्रोतले भरिपूर्ण देशले धेरै सिक्न सक्ने छ । 

म त एक सामान्य पात्र । दुई दिनको घुमाईमा के नै पो बुझ्न सकें होला र ? अनि यो देश नदेख्ने र नघुम्ने, अनि नबुझ्ने पनि कमै होलान् ।  मेरा देशका राजनेताका कयौं भ्रमण भएका छन् । शायद यही अनुभूतिका कारण ऐन मौकामा नेपाललाई सिंगापुर देखाउने सपना, रहर उनै नेताले बोलेका होलान् । तर, अहिलेको नेपाललाई यो विकसित सिंगापुरलाई तुलना गर्ने हो भने अझै एक सय वर्ष पछाडि छ भन्दा फकर नपर्ला । किनकी जोकोही यो देश पुग्दा अचम्म र आश्चर्यमा पर्ने गरी विकास भएको छ । जुन नेपालमा अहिलेको राजनीतिक, सामाजिक र आर्थिक संस्कारले त्यो सम्भव छैन । 

विकास निर्माणको कायापलट एउटा पाटो हो भने सामान्य कुरालाई असामान्य तरिकाले प्रस्तुति गरेर पर्यटकको मन जित्ने कला शैली अर्को पाटो रहेछ । विश्वका चर्चित व्यक्तिको मूर्ति बनाइदिएर उनीहरुसँग तस्बीर लिने शैलीको विकासले धेरैको मन जितेको देखिए । बिभिन्न मन्दिरमा कुँदिएका मूर्ति कला र शैली अनौठो थियो । पहिलो पटक पुग्नेहरुका लागि एकोहोरो भएर हेर्न बाध्य बनाइदिने यो कला कौशलका जति प्रशंसा गर्दा पनि कम हुन्छ । 

न दिन न रात । जतिबेला पनि व्यस्त देखिने सिंगापुर विकासोन्मुख देशका लागि एउटा सपनाको शहर बन्नु स्वभाविक हो । ६० वर्ष उमेर सेरोफेरोका नागरिक बिभिन्न स्थानमा कर्ममा व्यस्त रहेको देख्दा लाग्छ नागरिकको मेहनत र परिश्रमले नै यो मुलुकलाई यो अवस्थामा लगेको हो । चाहे सुरक्षाकर्मी हुन् या नागरिक जोकोहीले सिंगापुर आइपुगेका नयाँ मानिसप्रतिको हार्दिकताले छुट्टै आनन्द तुल्याइरहेको देखन्थ्यो ।

७१० वर्ग किलोमिटरमा फैलिएको देश क्षेत्रफलको हिसाबले अन्य देशका तुलानामा सानो देश हो ।  विश्वको प्रमुख बन्दरगाह र व्यापारिक केन्द्रको रुपमा यो देश रहेको छ । भ्रमणका क्रममा यो देशको सेरोफेरोमा रहेका समुद्रमा रहेका पानीजहाज र समुद्रमाथिको व्यस्तता देख्दा विश्वका लागि यो केन्द्र बनेको जस्तो प्रष्ट देखिन्थ्यो । सिंगापुरमा संसारकै ठूलो तेल प्रशोधन केन्द्र, जहाज मर्मत केन्द्र पनि रहेछ ।

दक्षिण एसियाको मलेसिया र इन्डोनेसियाको बीचमा रहेको यो देश विश्व व्यापारको प्रमुख थलोको रुपमा रहेको रहेछ । खानेपानी मलेसियाबाट, दूध, फलफूल तरकारी न्यूजिल्याण्ड र अस्ट्रेलियाबाट र दाल चामल थाइल्याण्ड र इन्डोनेसियाबाट ल्याएर पनि भौतिक विकासमा यति धेरै प्रगति गर्नु संसारका लागि एउटा सिकाई बनाइदिएको रहेछ । 

छोटो समयमा विकास र फरक पहिचान बनाउन सफल यो मुलुक विकासको मोडलका लागि विश्वकै लागि पाठशाला बनेको रहेछ । सन् १९६५, अगस्ट ९ मा मलेसियाको पार्लियामेन्टले सिंगापुरलाई आफूबाट अलग गर्यो । युसुफ विन इसाक र ली क्वुन येवले सिंगापुरको नेतृत्व गरे । सन् १९६५ मा प्रतिव्यक्ति जीडीपी ५११ अमेरिकी डलर भएको यो देश आज चार ’एसियाली टाइगर’ को सूचीमा सूचीकृत भएको रहेछ । सिंगापुर विश्वको चौथो आर्थिक केन्द्र हो । सिंगापुरमा दस हजारभन्दा धेरै अन्तराष्ट्रिय कम्पनीले काम गरिरहेका रहेछन् । 

देशको विकासको प्रसँग आउँदा नेताहरुले सिंगापुरको नाम लिने गरेका छन् । कयौँ पटक भाषणमा सुनेको पनि हो । अहिलेको सिंगापुरको विकास गर्ने  ली क्वान यूको वारेमा थोरै भए पनि सुनेको थिएँ । तिनै नेताको बारेम बोल्ने नेता र उनै नेता जस्तै बन्न खोजे जस्तो गर्ने पनि कम छैनन् । लामो समय द्वन्द्वमा फसेको नेपाल र त्यही द्वन्द्वमा लागेका नेताहरु शान्ति प्रकृयाबाट यो अवस्थासम्म आइपुग्दा पनि सिंगापुरको सपना देख्न छाडेका छैनन । 

हो, सिंगापुर सबैका लागि विकासको मोडल बनेको भन्ने सुन्ने हामीले प्रत्यक्ष सिंगापुरको भूमिमा पुगेर देख्न र बुझ्न  रहर लाग्नु स्वभाविक नै थियो । खानेपानीमा समेत अरु देशसँग आश्रित भएको मुलुक, ढुंगा माटो समेत बाहिरबाट ल्याउनुपर्ने मुलुक आज यति छोटो समयमा चमत्कारिक विकास हुन सकेको छ ।

अजबको कर्मले गजबको देश बनेको सिंगापुर घुमाई पछि  हाम्रा देशका राजनेतामा इमान्दारिता र नागरिकमा जागरुकता भयो भने विकास असम्भव रहेनछ भन्ने म एक सामान्य पात्रले समेत वुझ्न सकेँ । आशा गरौँ हाम्रा नेताले देखेको सिंगापुर सपना छिटै पूरा होला । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया