अमेरिकाबाट प्रदान गरिने पत्रकारिता पुरस्कार मोफसलका पत्रकार प्रेम लामालाई

 मंसिर २५, २०७५ मंगलबार १६:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - अमेरिकाबाट प्रदान गरिने कामदा मिलन पत्रकारिता पुरस्कार मोफसलमा बसेर पत्रकारिता गर्ने पर्साका प्रेम लामाले पाउनुहुने भएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्कोबाट प्रकाशित हुँदै आएको हलिउडखबर डटकमले प्रदान गर्ने कामदा मिलन पत्रकारिता पुरस्कार नेपालमा मोफसलमा बसेर पत्रकारितामा सकृय लामालाई प्रदान गर्ने घोषणा गरेको हो । उसले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा यो पुरस्कार लामालाई प्रदान गर्ने घोषणा गरेको हो । 

अमेरिकामा आइतवार आयोजित विशेष कार्यक्रममा पर्साको विकट गाउँ ठोरीमा बसेर पत्रकारिता मार्फत समाज परिवर्तन गर्न लागि परेका पत्रकार लामालाई कामदा मिलन पत्रकारिता पुरस्कार दिने घोषणा गरेको हलिउडखबर डटकमका सम्पादक कृष्ण केसीले जानकारी दिनुभयो । मोफसलमा बसेर पत्रकारिता गर्ने एकजना पत्रकारलाई सम्मान गर्ने योजना अनुसार पुरस्कारको स्थापना गरिएको उहाँले बताउनुभयो । 

अमेरिकामा रहेका प्रवासी नेपालीहरुको हकहितका लागि आवाज उठाउँदै आउनुभएका पत्रकार रोशन अधिकारीको स्वर्गीय माता पिताको सम्झनामा स्थापना गरिएको कामदा मिलन पत्रकारिता पुरस्कारमा स्वंय अधिकारी र हलीउडखबर डटकमले व्यवस्थापन गरेको केसीले बताउनुभयो ।  

पत्रकार लामालाई ४ सय डलरकाे कामदा मिलन पत्रकारिता पुरस्कार उपलब्ध गराइने अधिकारीले बताउनुभयो । पर्साको ठोरी गाउँपालिका–१ सरस्वतीनगर घर भएका लामालाई पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको सकारात्मक योगदानको कदर गर्दै सम्मान गर्ने घोषणा गरिएको सम्पादक केसीले जानकारी दिनुभयो । 

विगत डेढ दशकदेखि विभिन्न संचारमाध्यममा आवद्ध रहेर कलम चलाउँदै आइरहेका लामालाई पत्रकारिता क्षेत्रमा काम गर्न थप हौसला मिलोस भनेर सम्मानित गर्न लागिएको पनि उहाँले बताउनुभयो ।  

अमेरिकामा रहेको नेपाली महाबाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सान फ्रान्सिस्कोमा कार्यक्रम सम्पन्न भएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया