पर्यटन प्रवर्द्धनमा चलचित्रकर्मीको भूमिका, दृश्य माध्यममार्फत देश चिनाउने अवसर

 जेठ २४, २०८२ शनिबार १४:५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : सुष्मा प्राेडक्शन्स ग्लाेबलकाे युट्युबबाट

मनोज दाहाल, इटहरी

चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र होइन, राष्ट्र चिनाउने एक सशक्त र प्रभावकारी हतियार पनि हो भन्ने कुरा विश्वका थुप्रै देशहरूले प्रमाणित गरिसकेका छन् । अमेरिकाको हलिउड, भारतको बलिउड, कोरियाको के–ड्रामा वा टर्कीका सिरियलहरूले न केवल ती देशका कलाकारहरूलाई विश्वमा चिनाएका छन्, बरु ती देशका भाषा, संस्कृति, रहनसहन, भेषभूषा, भौगोलिक विविधता र पर्यटकीय गन्तव्यहरूलाई पनि विश्वसामु परिचित गराएका छन् । यसरी हेर्दा चलचित्रमार्फत देश चिनाउने अभ्यास एउटा आधुनिक कूटनीतिक अभ्यासजस्तै बन्दै गएको छ ।

नेपालजस्तो विविधतायुक्त भौगोलिक बनावट, समृद्ध संस्कृतिका धनी, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशका लागि चलचित्रको माध्यमबाट देश चिनाउने सम्भावना अत्यन्त ठूलो छ । यहाँका हिमाल, पहाड, तराई, झरना, नदी, ताल, जातीय विविधता, पर्व–संस्कृति, पुरातात्त्विक धरोहर र धार्मिक स्थलहरू विश्वकै अनुपम उदाहरण हुन् । यिनै सम्पदाहरूलाई चलचित्रको पर्दामार्फत विश्वसामु प्रस्तुत गर्न सक्नुले देशको पर्यटन, सांस्कृतिक र सामाजिक पहिचानलाई विश्वव्यापी बनाउन मद्दत पुर्‍याउन सक्छ ।

पछिल्लो समय केही नेपाली चलचित्रकर्मीहरूले यस यथार्थलाई आत्मसात् गर्दै आफ्ना सिर्जनामा पर्यटकीय गन्तव्यहरू, स्थान विशेषका भाषा र संस्कृति, लोककला, जनजीवनलाई समावेश गर्न थालेका छन् । उदाहरणका रूपमा पछिल्लो समय बनेका केही चलचित्रहरूलाई लिन सकिन्छ । 'लाज शरणम्' - पश्चिम कर्णालीको कथा, 'अञ्जिला' राष्ट्रिय फुटबल खेलाडीको कथा, 'ऊनको स्वीटर' पूर्वी पाँचथरको कथा । यस्ता चलचित्रहरूमा देखिएका ग्रामीण परिवेश, स्थान विशेषको बोलचाल, रहनसहन र दृश्यावलोकनले दर्शकमाझ अलग्गै स्वाद दिएको पाइन्छ । यस्ता चलचित्रहरूले विदेशमा रहेका नेपालीहरूलाई भावनात्मक रूपमा जोड्ने मात्र होइन, विदेशी दर्शकहरूलाई पनि नेपालबारे जान्ने अवसर दिएका छन् ।

तर अझै पनि यो अभ्यास व्यवस्थित, रणनीतिक र दीर्घकालीन योजनाअनुरूप हुन आवश्यक छ । सरकारले चलचित्र पर्यटनलाई प्रवर्द्धन गर्ने नीतिहरू ल्याउनु, फिल्म फेस्टिभलमार्फत देशको प्रस्तुति हुनु, अन्तर्राष्ट्रिय सहकार्यमा चलचित्र निर्माण हुनु, छायाङ्कनका लागि विदेशी चलचित्र युनिटहरूलाई नेपाल भित्र्याउन सजिलो वातावरण तयार पार्नु आवश्यक छ ।

चलचित्र र पर्यटनको सम्बन्ध – दृश्य भाषामा देशको परिचय

विश्व सिनेमा इतिहासमा चलचित्रले कुनै देशलाई विश्वसामु चिनाएको उदाहरण थुप्रै छन् । स्विट्जरल्यान्ड, न्युजिल्यान्ड, कोरिया, जापानदेखि भारतसम्मका देशहरूले आफ्ना पर्यटकीय स्थलहरूलाई फिल्ममार्फत गगनचुम्बी चर्चामा ल्याएका छन् । उदाहरणका लागि– 'द लर्ड अफ द रिङ्ग्स' शृङ्खलाले न्युजिल्यान्डको प्राकृतिक सौन्दर्यलाई विश्वभर चिनायो भने, 'दिलवाले दुल्हनिया ले जायेंगे' जस्ता हिन्दी चलचित्रहरूले स्विट्जरल्यान्डलाई भारतीय दर्शकमाझ रोमाञ्चक गन्तव्यका रूपमा स्थापित गरे । यस्ता चलचित्रहरूले दर्शकमा ती स्थानहरू घुम्ने इच्छा जागृत गराउने काम गरेका छन् ।

नेपालमा पनि पछिल्लो समय चलचित्रले पर्यटकीय प्रवर्द्धनमा भूमिका खेल्न थालेको देखिन्छ । ‘कबड्डी’ चलचित्रको अपार सफलतासँगै मुस्ताङ क्षेत्रको सांस्कृतिक, भौगोलिक र पर्यटकीय महत्त्व दर्शकसमक्ष उजागर भयो । मुस्ताङ पुगेका धेरै पर्यटकहरूले ‘कबड्डी’ हेरेपछि त्यहाँ जान प्रेरणा मिलेको बताउने गरेका छन् । त्यतिमात्र हैन पछिल्लो समय ती स्थान अन्य नेपाली चलचित्र तथा म्युजिक भिडियो छायाङ्कनका लागि महत्त्वपूर्ण मानिन्छ ।

त्यसैगरी ‘डमरुको डन्डीबियो’ चलचित्रमार्फत लमजुङको घले गाउँ निकै चर्चामा आएको थियो । चलचित्रले वक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसके पनि घले गाउँको चर्चा भयो ।

कास्कीको घान्द्रुक, तामागी, क्यामरुङलगायत गाउँमा छायाङ्कन गरिएको चलचित्र ‘सेतो सूर्य’ पनि एक गतिलो उदाहरण हो । यी प्रतिनिधि चलचित्रलाई हेर्ने हो भने पर्यटन विकासमा चलचित्र नगरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

अब आवश्यकता छ– यस्तो अभ्यासलाई अझ सशक्त बनाउँदै लैजाने । स्थान विशेषको सौन्दर्य मात्र होइन, त्यहाँको संस्कृति, खाना, भाषा, चाडपर्व, जनजीवनलाई समेत चलचित्रमार्फत समेट्न सकियो भने त्यो समग्र गन्तव्य प्रवर्द्धन हुनेछ । सरकारले ‘फिल्म टुरिज्म’ प्रवर्द्धन गर्न चलचित्र छायाङ्कनमा सहुलियत दिने नीति ल्याउनु, पालिकाले चलचित्र युनिटहरूलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ ।

चलचित्रकर्मीको प्रत्यक्ष योगदान – पर्दामार्फत प्रवर्द्धन

चलचित्रकर्मीहरू केवल अभिनय, निर्देशन वा निर्माणमा सीमित छैनन्; उनीहरूको कामले देशको संस्कृति, पर्यटन, र सामुदायिक विकासमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ । पर्दामार्फत दर्शकलाई मनोरञ्जन दिनुका साथै उनीहरूले स्थान विशेषको भौगोलिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक यथार्थलाई उजागर गर्दै आएका छन् ।

निर्देशक तथा लेखकहरूले कथावस्तुलाई कुनै निश्चित भूगोल, समुदाय वा परिवेशसँग जोड्ने अभ्यासमार्फत ती क्षेत्रको मौलिकता दर्शकसमक्ष प्रस्तुत गरिरहेका छन् । कथाको आवश्यकतानुसार चयन गरिएका स्थानहरूले मात्र नभई ती ठाउँका दृश्य, भाषा, परम्परा र जनजीवनसमेत चलचित्रको कथावाचनमा समाहित हुने हुँदा त्यो ठाउँ सम्पूर्ण रूपमा पर्दामा जीवित हुने गर्छ ।

त्यस्तै अभिनेता–अभिनेत्रीहरूले छायाङ्कनका क्रममा प्राप्त गरेको अनुभवलाई सामाजिक सञ्जालमार्फत साझा गर्दा ती ठाउँहरूको बारेमा जनचासो झनै बढेको देखिन्छ । तस्वीर, भिडियो क्लिप र छोटा रील्सहरूबाट प्रभावित भएर दर्शकले ती गन्तव्य घुम्न चाहन्छन् जसले 'इन्फ्लुएन्सर मार्केटिङ' लाई पनि नयाँ ढङ्गले परिभाषित गरिदिएको छ ।

निर्माताहरूले पनि राजधानी केन्द्रित छायाङ्कन प्रवृत्तिबाट बाहिर निस्कँदै कमचर्चित तर रमणीय ठाउँहरूमा चलचित्र खिच्न थालेका छन् । यसले एकातिर नयाँ गन्तव्यहरूको पहिचान र प्रवर्द्धनमा टेवा पुर्‍याएको छ भने अर्कोतर्फ स्थानीय समुदायका लागि रोजगारीका अवसरहरू पनि सिर्जना गरेको छ । चलचित्रको केवल एक दिनको छायाङ्कनले नै स्थानीय होटल, यातायात सेवा, खाद्य व्यवसाय, गाइड, होमस्टे, हस्तकलाका सामानहरूलगायतको क्षेत्रमा उल्लेखनीय आर्थिक गतिविधि ल्याउने गरेको छ । कोशी प्रदेशका विभिन्न स्थानमा छायाङ्कन सम्पन्न भएको चलचित्र 'बलिदान' त्यसको गतिलो उदाहरण हो । याे चलचित्रकाे छायाङ्कन स्थलमा मेला नै लाग्ने गरेको थियो भने चलचित्रको छायाङ्कन हेर्न आउने दर्शकको भीड उत्तिकै हुने गर्दथ्यो ।

यस्ता अनुभवहरू अब अपवाद होइनन्; धेरै ठाउँमा चलचित्रले पर्यटन विकासको प्रारम्भिक ढोका खोलेको छ । उदाहरणका लागि– कुनै ठाउँमा चलचित्रको छायाङ्कनपछि त्यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको, होटेल व्यवसाय फस्टाएको र स्थानीय उत्पादनको माग बढेको तथ्यहरू प्रमाणित भइसकेका छन् ।

यस परिप्रेक्ष्यमा चलचित्रकर्मीहरूलाई केवल सिर्जनात्मक अभियन्ता मात्र नभई पर्यटन प्रवर्द्धनका दूतका रूपमा पनि हेर्न सकिन्छ । अब आवश्यकता छ– राज्य, पालिका, पर्यटन व्यवसायी र चलचित्रकर्मीहरूबीच समन्वय गरेर 'फिल्म टुरिज्म' लाई नीतिगत प्राथमिकतामा राख्ने । यसरी चलचित्रमार्फत देशको सांस्कृतिक र भौगोलिक विविधतालाई उजागर गर्दै पर्यटन प्रवर्द्धनको एउटा भरपर्दो खम्बा निर्माण गर्न सकिन्छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया