पप्पू पास भए, त्यो पनि फर्स्ट डिभिजनमा

 मंसिर २६, २०७५ बुधबार ९:२३:५४ | आशुतोष
unn.prixa.net

विधानसभा चुनावको नतिजा आइसकेपछि अब भन्न सकिन्छ कि पप्पू फर्स्ट डिभिजनमा पास भए । उनी सिंघम नै बने । राहुल गान्धीका लागि पछिल्ला पाँच वर्ष निकै खराब रहे । उनको सुझबुझ र राजनीतिक परिपक्वतामाथि निकै तिखा प्रश्न उठिरह्यो ।

आजको दिनमा राहुलभन्दा बढी अग्निपरीक्षा दिएका नेता सायदै होलान् । तर आज यो भन्न सकिन्छ छ कि भारतीय राजनीतिमा ठूलो उलटफेर हुनेवाला छ । 

हिन्दीभाषी राज्य– राजस्थान र छत्तीसगढमा कांग्रेसले ठूलो उलटफेर ल्याएको छ । दुवै राज्यमा कांग्रेसले सहजै सरकार बनाउने भएको छ । मध्य प्रदेशमा पनि केही दुई जना अन्य सांसदको समर्थनबाट कांग्रेसले सरकार बनाउने देखिन्छ । तर तेलंगानामा कांग्रेसले नराम्रो हार बेहोर्‍याे भने मिजोरममा सत्ताबाट बाहिरिनुपर्‍याे । 

यति हुँदाहुँदै पनि यस पटकको विधानसभा चुनावमा मोदी नेतृत्वको भारतीय जनता पार्टी(बीजेपी) ले लज्जास्पद हारको सामना गर्नुपर्‍याे । अब भन्न सकिन्छ कि, ‘अब उँट आया पहाड के नीचे ।’

चुनावको नतिजा यस्तो आइसकेपछि अब आउँदा दिनमा यसले कस्तो प्रभाव पार्ला भनेर सोध्न सकिन्छ । मेरो विचारमा यो चुनावबाट पाँच ठूला निष्कर्ष निकाल्न सकिन्छ । लामो समयपछि भारतीय कांग्रेसका लागि सुखद नतिजा अगाडि आएको छ । यही परिणामलाई नियाल्दाका पाँच निष्कर्ष :

कांग्रेस–बीजेपी प्रतिस्पर्धा

१. सन् २०१४ को लोकसभा चुनावपछि एउटा ‘मिथ’ नै बन्यो –कांग्रेसले बीजेपीसँग प्रतिस्पर्धा गर्नै सक्दैन । कतिपय अवस्थामा जितेको बाजी पनि कांग्रेसले हार्न पुग्यो । गुजरात र कर्नाटकमा यस्तै आश गरिएको थियो कि कांग्रेसले बीजेपीलाई हराउनेछ । तर दुवै ठाउँमा कांग्रेस असफल रह्यो । भलै कर्नाटकमा जेडीएससँग मिलेर सरकार बनाएको छ । त्यसैगरी हरियाणा, महाराष्ट्र, असम, झारखण्ड, उत्तराखण्ड र जम्मूमा उसले बीजेपीलाई टक्कर दिन सकेन । 

गोवा र मेघालयमा सबैभन्दा ठूलो दल बनेर पनि सरकार बनाउन असमर्थ रह्यो कांग्रेस । केवल पञ्जाबमा कांग्रेसले ठूलो जित हात पार्यो जहाँ बीजेपी सिधा प्रतिस्पर्धामा थिएन । तर आजको कुरा गर्ने हो भने तीन राज्यमा रहेको बीजेपी सरकार हटाउन कांग्रेस सक्षम भएको छ । यो सफलताले कांग्रेसमा उर्जा थप्नेछ र बीजेपीलाई कांग्रेसले हराउन सक्दैन भन्ने धारणा पनि परिवर्तन भएको छ ।

पप्पू होइनन् राहुल

२. काग्रेसको जितको पूरै श्रेय राहुल गान्धीलाई जान्छ । अब उनीमाथि लागेको ‘राजनीतिका पप्पू’ को ट्याग पनि हट्नेछ । उनी केवल हार्नका लागि खेल्नेछन् भन्ने भ्रम पनि टुट्नेछ । 

राहुल गान्धीले छियाछिया भएको कांग्रेसलाई तीनै वटा राज्यमा एक बनाउने काम पनि गरे । त्यति मात्रै होइन बूथसम्म पार्टी नेता तथा कार्यकर्तालाई सक्रिय बनाउन उनले ठूलो भूमिका खेले । अथार्त उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउनेहरु अब शान्त हुनेछन् । उनी एक प्रभावी नेताका रुपमा स्थापित हुँदैछन् ।

राहुलको दम

३. प्रधानमन्त्री नरेन्द्र मोदीको मिथ पनि टुट्नेछ – अब उनी आफ्नै बलबुतामा मात्रै हरेक चुनाव जित्न सक्छन् ।  छत्तीसगढ र मध्यप्रदेशमा पछिल्ला दिनमा प्रचारप्रसारका पोस्टरमा मोदीका तस्बिर थिएनन् । चुनावी प्रचारप्रसारमा रमण सिंह र शिवराज सिंह चौहान नै हावी देखिएका थिए ।

मोदीले प्रयास नगरेका होइनन् । प्रधानमन्त्री पदको गरिमासमेतलाई ख्याल नगरी मोदीले विपक्षी नेतामाथि तल्लो स्तरको टिप्पणी पनि गरेका थिए । गुजरातमा आफ्नै दममा पार्टीलाई चुनाव जिताए पनि मोदीको करिश्मा अब बिस्तारै घट्दै गएको छ ।

४. अयोध्यामा राम मन्दिरको मुद्धालाई बलियोसँग उठाउने काम संघ परिवारले गरेको थियो । धर्मसंसदको आयोजना समेत भएको थियो । ५ सयभन्दा बढी जिल्लाका गाउँगाउँमा रामको नाम जप्दै सभासमेत आयोजना गरिएको थियो । तर यसको खासै प्रभाव देखिएन चुनावी नतिजामा । यस्तोमा हिन्दूत्ववादको झण्डा उचालेर राजनीति गर्नु हानिकारक हुने रहेछ भन्ने स्पष्ट संकेत पनि बीजेपीले प्राप्त गरेको छ । 

नो टिना

५. सबैभन्दा ठूलो कुरा यो थियो कि सन् २०१९ को लोकसभा चुनाव एकतर्फी हुनेछ । कांग्रेसले बीजेपीसँग प्रतिस्पर्धा गर्नै सक्दैन, राहुल गान्धी मोदीसामू उभिनै सक्दैनन् । यो तर्कको औचित्य अब समाप्त भएको छ ।

अहिलेसम्म बीजेपीले मोदीको विकल्पको रुपमा कोही नेता नभएको भजन गाउँदै आएको थियो । यहाँसम्म कि उनका विरोधी पनि टिना फ्याक्टर(There Is No Alternative) का कारण भलै उनको सरकारले केही काम नगरे पनि मोदीकै सरकार फेरि बन्ने बताएका थिए ।

तर यो चुनावी नतिजाले यो स्पष्ट भएको छ कि सन् २०१९ को लोकसभा चुनाव मोदी भर्सेस राहुल हुनेछ । चर्चा यो पनि हुनेछ राहुलको हिन्दूवाद राम्रो कि मोदीको हिन्दूत्व । टिना फ्याक्टरको वकालत गर्नेहरुको दलील पनि कमजोर बन्नेछ । 

राहुलले रोके ‘मोदी लहर’ : तीन राज्यमा बीजेपी सत्ताबाट ‘आउट’

 

-सत्य हिन्दी डट कमबाट

अन्तिम अपडेट: चैत ९, २०८०

आशुतोष

लामो समय पत्रकारिता गरेर राजनीतिमा प्रवेश गरेका आशुतोष फेरि पत्रकारितामा फर्किएका छन् । हालै मात्र स्थापित भएको सत्य हिन्दी डट कमको उनी फाउण्डर हुन् ।
 

तपाईको प्रतिक्रिया