भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
झोक्राएर बसिरहेका माधव नेपालको फोनको घन्टी बज्छ । स्क्रिनमा ‘केपी बा’ देखिन्छ ।
अपमान, घोर अपमान । बधाई दिन फोन गरेको कि खुच्चिङ भन्न ? हेरौँला हामी पनि । हाम्रो पालो आउँदैन र ! तिमीहरूका काण्ड पनि एकएक हिसाब गरेर राख्या छु ।
ओली : (स्वरमा हल्का ठट्टा मिसिएको) ए ! माधव कमरेड, के भो किन बर्बराउनु भएको ? मैले त हालखबर के छ भनेर फोन गरेको । तपाईं त बिरामी हुनुभएजस्तो छ । पतञ्जलीको तेलले दिमाग झन् ततायो कि क्या हो ?
माधव नेपाल : (अलि झर्किएर) यो त राजनीतिक प्रतिशोध हो । सरासर मलाई फसाउन खोजिएको छ । मैले केही बिगारेको छैन ।
ओली : बिगारेको त पक्कै छैन होला नि ! देशमा सुशासन ल्याउन खोजेको होला । हिजोसम्म त सुशासनको चर्कोचर्को कुरा गर्ने, आज आफूमाथि आउँदा प्रतिशोध ? गजब छ माधव कमरेड ! हामी प्रधानमन्त्री हुँदा त बालुवाटारको जमिन बेचेको, यतीलाई जङ्गल दिएको भनेर गाली गर्ने । अहिले पतञ्जलीलाई जग्गा दिएको त राष्ट्रसेवा भयो होइन त ?
माधव नेपाल : तपाईँले बालुवाटारको जमिन बेचेकै हो । यतीलाई पनि पोसेकै हो । ....गिरिबन्धु, कम्बोडिया......।
ओली : (कुरा काट्दै) हैन तपाईंलाई थाहा होला नि म भ्रष्टाचारीको मुख पनि हेर्दिन र कसैले मलाई भ्रष्टाचारी भनेको पनि सुन्दिनँ । त्यसमाथि मसँग जोडिएका प्रकरण त सुखी नेपाली र समृद्ध नेपालका लागि हो । ल मेरोबारेमा धेरै बकबक नगर्नुस् । प्रचण्डजीको पनि फोन आएजस्तो छ तपाईंलाई ।
प्रचण्ड : माधवजी, नमस्ते । सुन्नुभयो होला केपी कमरेडका कुरा । तर के गर्नु, जमाना नै यस्तै आयो । सुशासन भन्दै हिँडेपछि, कहिलेकाहीँ आफ्नै थाप्लोमा पनि बज्रिँदो रहेछ ।
माधव नेपाल : प्रचण्डजी, तपाईंले त मलाई बुझ्नुहुन्छ जस्तो लाग्थ्यो । यो त सीधा सीधा अन्याय हो । मलाई फसाउन खोजिएको छ । तपाईं नै भन्नुस् न, हिजो तपाईंले ठूला माछा समात्छु भन्नुभयो । के म नै ठूलो माछा हुँ त ?
प्रचण्ड : (अकमकिएर) मने हैन भनौँ भने फेरि ओलीजीले मलाई पनि तपाईंकै हालतमा पुर्याउनुहोला भन्ने डर छ ।
माधव नेपाल : तपाईंका पनि यति धेरै प्रकरणहरू छन् नि प्रचण्डजी । शेरा दरबार, शान्ति प्रक्रियाका नाममा भएको भनिएको अनियमितता, लडाकु प्रकरण । त्यसैले धेरै बुरुकबुरुक नहुनोस् । मेरैजस्तै हालत बनाइदेलान् नि ।
प्रचण्ड : हेर्नुस्, मेरा कुराहरू त ऐतिहासिक आवश्यकताले निर्देशित थिए । देशमा शान्ति स्थापना गर्नुपर्थ्याे । त्यो बेला केही निर्णयहरू भए होलान् । तर ती देशको हितमा थिए । तपाईंको त....अब पतञ्जली योगको तेलको कुरा आयो । अलि फरक छ नि । ल ठीक छ, अब शेरबहादुरजीसँग कुरा गर्नुस् ।
देउवा : हलो माधवजी, के छ ? आरामै हुनुहुन्छ ? सुनिराछु, पतञ्जलीको मुद्दा लाग्यो रे ।
माधव नेपाल : (अलि आशावादी हुँदै) शेरबहादुरजी, तपाईं त लोकतन्त्रवादी हो । यो त सीधा सीधा लोकतन्त्रमाथिको हमला हो । प्रतिपक्षलाई तह लगाउन खोजेको हो । तपाईं नै भन्नुस् न, यो ठीक हो ?
देउवा : (लामो सास फेर्दै) हेर्नुस् माधवजी, राजनीतिमा यो सामान्य हो । कहिले कसैलाई, कहिले कसैलाई । यो त चक्र जस्तै हो । घुमिरहन्छ । हामीले पनि त कति झेल्यौँ कति ।
माधव नेपाल : (आश्चर्यचकित हुँदै) शेरबहादुरजी, तपाईं पनि सामान्य भन्नुहुन्छ । तपाईंमाथि लागेका आरोपहरूको के हुन्छ ?
देउवा : (शान्त स्वरमा) मेरो पालामा जे भयो, त्यो नियमसम्मत भयो । म त सधैँ कानून मान्ने मान्छे हुँ । मैले त अरूले देख्ने गरी अनियमितता गरेकै छैन । परिवारका मान्छे, पार्टीका मान्छेले गरे होलान् । त्यसमा मेरो के दोष ?
(देउवाले पनि फोन राख्छन्)
माधव नेपाल : (फोन कानबाट हटाएर, निराश मुद्रामा) यिनीहरू सबै मिलेका रहेछन् । मलाई फसाउन खोज्दैछन् । प्रचण्डले त साथ देलान् भनेको तर बाहिरबाहिर सान्त्वना दिने, भित्रभित्र खुच्चिङ भन्ने स्वभाव जन्मजात नै रैछ । तर म झुक्ने छैन....यो सबै नाटक हो । म यसको विरुद्धमा लड्छु । एक दिन सत्तामा पुग्ने पालो हाम्रो पनि आउला नि, त्यसपछि एकएक गरेर मुद्दा चलाउनुभन्दा पहिले नै खोरमा जाक्छु.........। तर सत्तामा पुग्ने पो कसरी ? पार्टीमा भएजति नेता कार्यकर्ता सकिन लागे । पहिलेको चुनावमा जस्तो देउवा र प्रचण्डको हात समाउन पाउने हो कि होइन ? तर पनि म झुक्नेवाला, डराउनेवाला मान्छे होइन । पतञ्जलीको तेल कपालमा होइन, पहिले ओली हिँड्ने बाटोमा पोख्नुपर्याे । चिप्लिएर भए पनि लड्लान् कि ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।