भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
काठमाण्डाै – यस वर्ष मनसुन औसत मितिभन्दा केही अगाडि नै नेपाल प्रवेश गरेको छ । जेठ १५ गते अर्थात् जुन २७ तारिखमा नेपालको पूर्वी भूभाग हुँदै मनसुन प्रवेश गरेकाे हाे । बङ्गालकाे खाडीबाट विकसित भई नेपालमा पूर्वी भूभाग हुँदै प्रवेश गरेकाे मनसुन अहिलेसम्म पूर्णरूपमा सक्रिय हुन सकेको छैन ।
मनसुन कोशी प्रदेशमा देखा परे पनि अन्यत्र निष्क्रिय छ । मनसुन पश्चिमतर्फ फैलिन नसक्नुको प्रमुख कारण भनेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हो । यस प्रणालीका कारण पूर्वी हावा पश्चिमतर्फ सर्न नपाएकाले मनसुन अहिलेसम्म पूर्वी भागमा मात्र सीमित भएको हो ।
तर अब केही दिनमा मनसुनको गतिविधि सक्रिय हुने देखिन्छ । आउँदो बुधवार वा बिहीवारदेखि मनसुन बिस्तारै सक्रिय बन्दै जाने देखिन्छ । अहिलेको अवस्थालाई हेर्दा झन्डै ७ देखि १० दिनभित्र देशभर मनसुन फैलिने सम्भावना देखिन्छ ।
नेपालमा मनसुन सामान्यतया कोशी प्रदेश हुँदै प्रवेश गर्छ जुन सामान्य प्रक्रिया हो । कहिले मनसुन छिटो प्रवेश गर्छ भने कहिले केही ढिलो पनि हुन सक्छ । यसलाई असामान्य मान्नुपर्ने अवस्था छैन ।
यस वर्ष पनि कोशी प्रदेश हुँदै वर्षा शुरू भए पनि पश्चिमी भूभाग भने प्रायः सुक्खा नै रहेको छ । यद्यपि पश्चिममा पूर्णरूपमा वर्षाविहीन अवस्था भने थिएन, त्यहाँ थोरै भए पनि वर्षा भएको छ ।
यसअघिको तथ्याङ्कहरू हेर्दा मनसुन नेपाल प्रवेश गरेपछि २० देखि २१ दिनसम्म पनि सक्रिय हुन नसकेको उदाहरणहरू छन् । हरेक वर्ष मनसुनको प्रकृति फरक–फरक हुन्छ । यो वर्ष विभागले केही बढी वर्षाको पूर्वानुमान गरिसकेको छ, साथै तापक्रम पनि औसतभन्दा बढी हुने अनुमान छ ।
भारी वर्षाका कारण कृषि, यातायात, पर्यटनजस्ता क्षेत्रहरूमा प्रभाव पर्न सक्ने जोखिम उच्च रहेको छ । यस्तो अवस्थामा सबै नागरिक सजग र सतर्क हुनुपर्ने आवश्यकता छ । विशेष रूपमा सबै नागरिकलाई मनसुनजन्य प्राकृतिक घटनाहरू– जस्तै : बाढी, पहिरो, डुबानबाट सुरक्षित रहन नियमित मौसमसम्बन्धी जानकारी लिन आवश्यक छ ।
मौसम पूर्वानुमान तथा सूचना दैनिक रूपमा हेर्ने बानीले ठूलो जोखिमबाट जोगिन सकिन्छ । परिवार र समाजको सुरक्षाका लागि सबैले जिम्मेवार भूमिका खेल्नुपर्छ । मौसमले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नागरिकस्तरबाटै पूर्वतयारी र सावधानी आवश्यक छ ।
(वरिष्ठ माैसमविद् शान्ति कँडेलसँगकाे कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।