भोजपुरसहित चार जिल्लामा ११ पालिका ग्रेटर मुन्दुम पदमार्गको वि...
जेठ ३१, २०८२ शनिबार
कीर्तिपुरबाट छुटेको माइक्रोबस सुन्धारा धरहराको अघिल्तिर आएर रोकियो ।
सहचालकले हत्तपत्त ढोका खोलेर कराए ‘छिटो छिटो झर्नुस्’ । अनि फेरि कराउन थाले, ‘कालिमाटी, बल्खु, कीर्तिपुर ।’
भित्र खाँदिएर बसेका र उभिएका यात्रुहरु बिस्तारै पालैपालो गाडीबाट ओर्लिए । कोही पसिना पुछ्दै थिए, कोही जीउ तन्काउँदै ।
कीर्तिपुरका किशोर जोशी पनि पसिना पुछ्दै ओर्लिनुभयो । उहाँ हरेक दिन यस्तै उकुसमुकुस र भीडभाड झेल्दै बागबजारको कार्यालय ओहोरदोहोर गर्न बाध्य हुनुहुन्छ ।
‘गाडीमा सिट कहिलै पाइँदैन’ उहाँ भन्नुहुन्छ, ‘सधैं उभिएरै यात्रा गर्नुपर्छ । गाडीभित्र साँघुरो भएकाले निहुरिएरै यात्रा गर्नुपर्छ, झन गाह्रो हुन्छ । सिटमा बस्न पाइएला भन्ने आशा पनि छैन । म त शुरूमै उभिएरै जानुपर्छ भनेर तयार भएर आउँछु । कोचिएरै जानुपर्छ, ढिलो भयो भने अझै गाह्रो हुन्छ । त्यसैले गन्तव्यसम्म झुन्डिएरै भए पनि पुग्नै पर्छ ।’
आफ्नै गाडी नभएकाहरू वा काम विशेषले गन्तव्यसम्म पुग्नुपर्नेहरूलाई सार्वजनिक गाडीमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ । बिहान र बेलुकाको समयमा त सार्वजनिक गाडीहरूमा यस्तो भीड हुन्छ कि उभिन पनि मुश्किल पर्छ । यस्तो अवस्थामा महिला, जेष्ठ नागरिक र बालबालिकाहरूका लागि यात्रा अझै पीडादायक हुन्छ ।
गाडीभित्र अत्यधिक भीड हुँदा महिला यात्रले दुव्र्यवहार सहनुपरेको घटना सामान्यजस्तै बनेको छ । सार्वजनिक यातायातमा दैनिक यात्रा गर्ने महाराजगञ्जकी अनुपा कार्कीको अनुभव पनि यस्तै छ ।
‘महिलालाई सार्वजनिक गाडी चढ्न झनै गाह्रो हुन्छ । पुरुषहरू त दौडेर चाँडै गाडी चढी हाल्छन्, हामीलाई दौडन पनि अप्ठेरो हुन्छ । भिडमा उभिनु त झनै गाह्रो । महिनावारीको बेला त असहज महसुस हुन्छ, यस्तो बेला महिला सिटमा बस्न खोज्दा पनि अरूले बुझ्दैनन्’ उहाँले गुनासो पोख्नुभयो ।
भिडभाडको मौका छोपी पुरुषहरूले दुर्व्यवहार गर्न खोज्ने घटना पनि सामान्यजस्तै छन् । ‘धक्का दिएजस्तो गरेर गलत नियतले छोएको धेरैपटक भोगेकी छु,’ उहाँले भन्नुभयो ।
देशभर झन्डै तीन लाख यात्रुवाहक सार्वजनिक गाडी छन् । काठमाण्डौबाट बाहिरिने वा भित्रिने लामो दूरीका गाडी बाहिरबाट हेर्दा त चम्किला र सुविधासम्पन्न देखिन्छन, तर भित्र पस्नेबित्तिकै ती सबैको अवस्था उस्तै हुन्छ ।
समयमै नहिँड्ने, दुई जना चालक राख्ने कानूनी व्यवस्था पालना नगर्ने, सरसफाइमा लापरबाही गर्ने, यात्रुको सामान सुरक्षामा लापरबाही गर्नेजस्ता समस्याहरू सामान्यजस्तै बनिसकेका छन् । धेरै यात्रु समान हराउने वा चोरी हुने समस्याबाट हैरान छन् । यति मात्र होइन, चालक र सहचालकले जाँडरक्सी पिएर गाडी चलाउने प्रवृत्ति अझै हटेको छैन, जसले दुर्घटनाको जोखिम झन् बढाएको छ ।
काठमाण्डौ डिल्लीबजार बस्ने वीरगञ्ज महानगरका तुसार केसरीको अनुभव यस्तै छ । केही दिनअघि गाउँदेखि काठमाण्डौ आउँदाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘हामी बिहान सबेरै गाडी चढ्यौँ । गाडीको बाहिर हेर्दा त ठिकै लाग्यो, तर भित्र छिर्दा अर्कै दुर्गन्ध आउने । सिट, भुइँ र झ्यालहरु पनि फोहोर । यात्रुका लागि भनेर भनिएको डिक्कीमा सामान राखे पनि कहिले सामान नै हुँदैन । अझ चालक र सहचालकले चुरोट र गुट्खा खाँदै, कतैकतै जाँडरक्सी पिउँदै गाडी हाँकिरहेका देखिन्थे । यस्तो अवस्थाले हामी यात्रुहरूलाई कहिल्यै सुरक्षित महसुस गराउँदैन ।’
काठमाण्डौ उपत्यकाभित्रमात्रै २७ वटा रुटमा झन्डै साढे सात हजारभन्दा बढी बस, माइक्रोबस, टेम्पो लगायतका सार्वजनिक गाडी सञ्चालनमा छन् । यीमध्ये धेरै गाडीले दैनिक बिहान र बेलुका स्कूल कलेजका विद्यार्थीहरू ओसार्ने गर्छन् । कार्यालय समयमै गाडीको सङ्ख्या झन् कम हुने हुँदा यात्रुहरूलाई गाडी पाउनै मुश्किल हुने गरेको छ । कम गाडीमा धेरै यात्रु कोचिनु परेपछि भीड, असजिलो यात्रा, झगडा र जोखिमसमेत बढेको छ ।
यसमा पनि गाडी छुट्ने निश्चित समय नहुनु, आवश्यक ठाउँमा बस स्टप नहुनु र रुटको व्यवस्थापन कमजोर हुनुले यात्रुका समस्या थप गहिरिएका छन् । यस्ता समस्याहरू वर्षौंदेखि देखिँदै आएका भए समाधानको लागि पहल हुन सकेको छैन । यात्रुहरूका अनुभव र भोगाइ अझैसम्म प्राथमिकतामा पर्न सकेका छैनन् ।
यातायात व्यवस्थालाई सुधार गर्ने भन्दै सरकारी निकाय तथा सरोकारवालाहरूले योजना र नीति त बनाएका छन्, तर व्यवहारमा ती योजनाले खासै काम गरेको देखिंदैन ।
दैनिक मैतिदेवीदेखि कीर्तिपुरसम्म सार्वजनिक गाडी चढ्ने विद्यार्थी विमल अधिकारी भन्नुहुन्छ, ‘धेरै कुरा सरकार र नीति बनाउनेको हातमा छ, तर केही कुरा त चालक र सहचालकको जिम्मेवारीसँग पनि जोडिएको हुन्छ । उनीहरूले यात्रुप्रति जिम्मेवार र सम्मानजनक व्यवहार गर्न थाले भने धेरै समस्या आफैं घट्छन ।’
समस्या समाधानतर्फ के गर्न सकिन्छ त ? यात्रुहरुको सुझाव छ :
– चालक–सहचालक जिम्मेवार र शिष्ट हुनुपर्छ । सार्वजनिक गाडी चलाउँदा उनीहरूकै हातमा दर्जनौं यात्रुको ज्यानको सुरक्षा हुन्छ । त्यसैले प्रतिस्पर्धामा परेर गाडी कुँदाउन छाडेर ट्राफिक नियम पालना गर्नुपर्छ ।
– शिष्ट भाषा र व्यवहारको प्रयोग गर्नु जरूरी छ । सभ्य व्यवहारले चालक–सहचालकप्रति यात्रुको सम्मान बढाउँछ ।
– गाडीभित्र अश्लील वा अशोभनीय गीत बजाउनु हुँदैन । यस्तो सङ्गीतले यात्राको वातावरण नै बिगार्छ ।
– उचित ठाउँमा मात्र गाडी रोक्नुपर्छ । जथाभावी गाडी रोक्दा ट्राफिक जाम र दुर्घटनाको जोखिम बढ्छ ।
– सिट क्षमताभन्दा बढी यात्रु राख्न हुँदैन । यात्रु कोच्ने प्रवृत्तिले असुविधा मात्र होइन, जोखिम पनि निम्त्याउँछ ।
– डिजिटल भुक्तानीको व्यवस्था हुनुपर्छ । नगद कारोबार घटाउने र पारदर्शिता बढाउने उपायका रूपमा डिजिटल भुक्तानी उपयोगी हुन सक्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।