१० महिनामा साढे १३ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब पुग्यो

 जेठ २७, २०८२ मंगलबार १२:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १३ खर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि वैशाखसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएको वर्षको यही अवधिको तुलनामा १६ दशमलव ९ प्रतिशतले बढी हो ।

यो वर्षको वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै उच्च रेमिट्यान्स हो ।

यस्तै १० महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या चार लाख पाँच हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८० हजार तीन सय १४ छ । अघिल्लो वर्षको यही अवधिमा तीन लाख ७३ हजार तीन सय सात जनाले अन्तिम श्रम स्वीकृति र दुई लाख ३६ हजार तीन सय ९८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

यस्तै विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब बराबर रहेको विदेशी मुद्रा सञ्चिति २३ दशमलव १ प्रतिशतले बढेर वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो ।

यस्तै १० महिनासम्म चालू खाता दुई खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको १० महिनामा कुल वस्तु निर्यात ७२ दशमलव ७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यस्तै १० महिनामा कुल वस्तु आयात १३ दशमलव १ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा ६ दशमलव ७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४० प्रतिशत रहेको थियो ।

यस वर्ष महँगी दर घटेको हो । यस वर्षको वैशाख महिनासम्म खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १ दशमलव ५२ प्रतिशतमात्रै रहेकोमा त्यसभित्र घ्यु तथा तेलको मूल्य भने ११ दशमलव ८ प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया