नेपाली भाषा साहित्यका १३ वटा कृति चिनियाँ भाषामा अनुवाद हुने

 जेठ २७, २०८२ मंगलबार १५:४:३१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – नेपाली साहित्यका १३ वटा कृति चिनियाँ भाषामा अनुवाद गरी चीनमा बिक्री वितरणका लागि छनोट भएको छ ।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जनवादी गणतन्त्र चीनको नेशनल एडमिनिस्ट्रेशन अफ प्रेस एन्ड पब्लिकेशनबीच दुई देशका शास्त्रीय ग्रन्थ अनुवाद एवम् प्रकाशनसम्बन्धी भएको द्विपक्षीय समझदारीपत्र अनुरूप नेपाली साहित्यका १३ वटा कृति छनोट भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको २०८० सालमा भएको भ्रमणका क्रममा नेपालको संस्कृति मन्त्रालय र चीनको पब्लिकेशनबीच सम्झौता भएको थियो ।

सम्झौता अनुसार लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यती’, बाबुराम आचार्यको ‘नेपालको सङ्क्षिप्त वृत्तान्त’, डा. हर्क गुरुङको ‘मैले देखेको नेपाल’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौँ’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मन्जुलको ‘जाने होइन दाइ आलापोट ?’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ छनोटमा परेको प्रजा–प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदीले बताउनुभयो ।

यसैगरी चिनियाँ १३ वटा पुस्तक पनि नेपाली भाषामा अनुवाद गरी प्रकाशनका लागि छनोट भएको छ ।

‘रिडिङ गाइड फर सि चिनफिङ थट अन सोसलिजम विथ चाइनिज क्यारेक्टरिस्टिक्स फर अ न्यू एरा’, ‘सेभेन्टी इयर्स अफ न्यु चाइना’, ‘द ओरिजिन्स अफ चाइनिज सिभिलाइजेसन’, ‘द एनोटेटेड क्रिटिकल लाओजी’, ‘सेलेक्टेड स्टोरिज अफ जिया दसान’, ‘ह्वाई एन्ड हाउ द सिपिसी वक्र्स इन चाइना’, ‘ह्वाइट डिअर प्लेन’, ‘रेड सर्गम’, ‘ट्रान्सलेसन एन्ड एनोटेसन अफ द बुक यक चुआङ्जी’, ‘द स्ट्र हाउस’, ‘द म्याजिक गर्ड’, ‘इस्टर्न एन्ड वेस्टर्न कल्चर्स एन्ड फिलोसफिज’ र ‘अ ब्रिफ हिस्ट्री अफ एन्सिएन्ट चाइनिज आर्किटेक्चर’ छनोट भएको प्रतिष्ठानले जनाएको छ ।
    
पुस्तक अनुवाद गर्न नेपाल चीन संयुक्त विज्ञ समिति पनि गठन भएको छ । त्यसको अध्यक्ष प्रतिष्ठानका कुलपति भूपाल राई हुनुहुन्छ । यसैगरी सदस्यहरूमा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी (प्रकाशनको काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य डा. कृष्णराज अधिकारी (प्राज्ञिक काम हेर्ने गरी), प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मी (अनुवाद कार्यको संयोजन गर्ने गरी) र डा. सर्वोत्तम श्रेष्ठ (अनुवादक तथा चिनियाँ भाषाविज्ञ) हुनुहुन्छ ।

यसैगरी अनुवादको सचिवालय संयोजकमा डा. सुशील प्रजापति (चिनियाँ भाषा विज्ञ), सदस्यमा सविना महर्जन (चिनियाँ अनुवादक) र प्रतिष्ठानका अधिकृत रवीन्द्र तिमसेना रहनुभएको छ ।

अन्तिम अपडेट: जेठ ३१, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया