नाराबाजीकै बीच सदनमा गृहमन्त्रीकाे जवाफ– ‘भिजिट भिसा प्रकरणमा मेराे संलग्नता छैन, हुनै सक्दैन’

 जेठ ३०, २०८२ शुक्रबार १८:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको आजकाे बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाउनुभयो । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै उहाँले खेद प्रकट गर्नुभयो ।

मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताउनुभयो । उहाँले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनी गरिएको प्रचारप्रसारमा कुनै सत्यता छैन । यस कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु । मेराविरुद्धमा नियोजित ढङ्गले, षड्यन्त्रमूलक ढङ्गले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ ।’

गृहमन्त्री लेखकले अनुसन्धानलाई प्रभावित पार्ने काम आफूले नगर्ने र त्यसबारेमा आशङ्का नगर्न पनि आश्वस्त पार्नुभएको छ ।

सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राख्नुभएकाे हाे ।

नेकपा (माओवादी केन्द्र) संसद्को गतिरोध अन्त्य गर्न तयार भए पनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाउनुभएको हाे ।

यसैबीच प्रतिनिधिसभाकाे अर्काे बैठक आउँदाे आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएकाे छ ।

अन्तिम अपडेट: असार २७, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया