सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालम...
असार २५, २०८२ बुधबार
लोक सेवा आयोग आफ्नो स्थापनाको ७५औं वर्षमा प्रवेश गर्दै गर्दा संस्थाको समग्र यात्रा, सुधारको दिशा र भावी योजनाबारे बहस चुलिएको छ । ७५ वर्षको यो अवधिमा आयोगले अनेकौं उतारचढाव पार गर्दै देशको सार्वजनिक सेवा प्रणालीमा आफूलाई एक विश्वासिलो र सुशासनमा केन्द्रित संस्थाका रूपमा उभ्याउन सफल भएको छ । आयोगको विगत, वर्तमान र भविष्यलाई समेट्दै गर्दा अहिलेसम्मको यात्रा केवल समयको हिसाबले मात्रै अघि बढेन । संस्थाले समर्पण, सुधार र जनविश्वास आर्जन गरेको छ ।
स्थापना कालको शुरुआतमा आयोगको कार्यक्षेत्र सीमित थियो । प्रारम्भमा निजामती सेवामा मात्रै केन्द्रित आयोगको संरचना पछिल्लो समय विस्तार भई देशभरका विभिन्न सार्वजनिक संस्थानहरूमा कर्मचारी छनोटको जिम्मेवारी बहन गर्दै आएको छ । समयक्रमसँगै आयोगले प्रविधिको अधिकतम उपयोग गर्न थालेको छ र यसमा ‘अनलाइन दरखास्त प्रणाली’ सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । पहिले दरखास्तको प्रक्रिया लाइन लागेर हुने गर्थ्याे, अहिले अनलाइन प्रणालीमार्फत सरल, पारदर्शी र प्रभावकारी ढङ्गले सञ्चालन हुँदै आएको छ ।
लोक सेवा आयोगको मुख्य उद्देश्य भनेकै योग्य, सक्षम र निष्पक्ष उम्मेदवार छनोट गर्नु हो । आयोगले कार्यसम्पादनमा पारदर्शिता र स्वच्छता कायम राख्न विविध विधिहरू अपनाउँदै आएको छ । आयोगसँग नातेदार, पहुँच, सिफारिश वा मोलमोलाइको कुनै सम्बन्ध हुँदैन । परीक्षा प्रक्रियामा आयोगले गोपनीयतालाई विशेष ध्यान दिन्छ । परीक्षार्थीको परिचय गोप्य राखिन्छ, उत्तरपुस्तिकामा नाम वा सङ्केत लिने कुनै माध्यम हुँदैन । प्रश्नपत्र निर्माण, छपाइ, वितरण र मूल्याङ्कनसमेत अलग–अलग व्यक्तिले गर्छन् । परीक्षासम्बन्धी सबै प्रक्रिया बृहत्तर् पारदर्शितातर्फ उन्मुख गरिँदैछ ।
पछिल्लो केही वर्षको तथ्याङ्कले आयोगले हरेक वर्ष झन्डै साढे पाँच हजार विज्ञापन प्रकाशित गर्ने र झन्डै चार हजार जनालाई नियुक्ति सिफारिश गर्ने गरेको देखिन्छ । माग सङ्कलनदेखि पाठ्यक्रम निर्माण, दरखास्त छानबिन, लिखित परीक्षा सञ्चालन, सिफारिशसम्बन्धी निर्णयसम्मको सम्पूर्ण चक्र लोक सेवा आयोगको व्यवस्थापनभित्र पर्छ । यद्यपि कतिपय अवस्थामा उजुरीका कारण, समायोजन प्रक्रियासम्बन्धी विवाद वा अदालती आदेशका कारण परीक्षा मिति परिवर्तन हुने वा ढिलाइ हुने गरेको आयोगले स्वीकार गरेको छ । ती अपवादबाहेक आयोगले पूर्वघोषित वार्षिक परीक्षा तालिकाअनुसार नै सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न खोजिरहेको छ ।
कर्मचारी सङ्ख्या भने आयोगको कार्यभारअनुसार पर्याप्त छैन । केन्द्रीय कार्यालयसहित १६ वटा क्षेत्रीय कार्यालयबाट सेवा प्रवाह भइरहेको भए पनि अहिलेको स्थितिमा आयोगमा झन्डै चार सय कर्मचारी कार्यरत छन् । याे सङ्ख्या दिनानुदिन बढिरहेको जिम्मेवारीअनुसार अत्यन्तै कम हो । यस्तै परिस्थितिमा आयोगले कार्यक्षमता अभिवृद्धि, प्रक्रियागत सुधार र जनअपेक्षाको समुचित जवाफ दिनुपर्ने चुनौती स्वीकार्दै आएको छ ।
परीक्षा प्रणालीलाई अझ बढी समयसापेक्ष र वस्तुनिष्ठ बनाउन आयोगले विविध सुधारात्मक कार्यहरू अघि सारेको छ । नयाँ पुस्तालाई लोकसेवातर्फ आकर्षित गर्न योग्यतामूलक र सीप–केन्द्रित पाठ्यक्रम निर्माण, एकीकृत परीक्षा प्रणालीको सम्भाव्यता अध्ययन, प्रविधिको प्रयोग विस्तार, तथा मूल्याङ्कन प्रणालीमा पारदर्शिता थप्ने प्रयास भइरहेका छन् । विभिन्न संस्थाहरूमा समान प्रकृतिका पदहरूलाई एउटै मापदण्डअन्तर्गत कसरी समेट्न सकिन्छ भन्ने विषयमा समेत आयोगले अध्ययन शुरू गरिसकेको छ ।
लोक सेवा आयोग निष्पक्ष र पारदर्शी संस्था हो, यहाँ कुनै प्रकारको पहुँच वा चलखेलको सम्भावना कल्पना पनि गर्न सकिँदैन । परीक्षार्थीहरूले आयोगको वेबसाइट नियमित हेर्ने, पाठ्यक्रमअनुसार अध्ययन गर्ने, परीक्षा निर्देशिकालाई पढ्ने र मर्यादित व्यवहार गर्ने कुरामा विशेष ध्यान जरुरी छ । कहिलेकाहीँ परीक्षामा अनुनय–विनय गर्ने, उत्तरपुस्तिकासँगै लैजाने वा विद्युतीय उपकरण प्रयोग गर्नेजस्ता गलत क्रियाकलाप देखा परेको प्रसङ्ग पनि छन् तर त्यस्तो भेटिएमा त्यो परीक्षार्थी कारबाहीको भागेदार हुन्छ । आयोगले यसरी नै पढ्नुपर्छ भन्ने निर्देशन दिँदैन, पाठ्यक्रम नै अध्ययनको आधार हो । यो कुरा परीक्षार्थीले आफैँ बुझ्नुपर्छ । प्रश्न बनाउने विज्ञहरू अलग–अलग हुने र उनीहरूले बनाएका प्रश्नहरू पूर्णतः गोप्य हुने भएकाले कसैलाई पूर्वजानकारी हुने सम्भावना रहँदैन । यसमा ढुक्क भए हुन्छ । कतिपय समयमा पाठ्यक्रमबाहिरका प्रश्न सोधिएको गुनासो आए पनि आयोगले ती विषयहरू अध्ययन गरेर आवश्यक परिमार्जन गर्ने गरेको छ । यसैगरी एउटै बेन्चमा दुई जनाभन्दा बढी परीक्षार्थी नबस्ने व्यवस्था, समान उत्तर आएमा निगरानी गर्ने प्रणालीले निष्पक्षता झनै मजबुत बनाएको छ ।
लोक सेवा आयोगले संविधानमा समेटिएको समावेशी सिद्धान्तअनुसार महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका र पछाडि पारिएका वर्गहरूका लागि समानुपातिक अवसर सुनिश्चित गर्दै आएको छ । २०६३ को अन्तरिम संविधानबाट शुरू भएको यो प्रक्रिया पछिल्लो संविधानले थप स्पष्ट रूपमा परिभाषित गरेको हो । अहिलेसम्म आयोगले समावेशी श्रेणीबाट झन्डै २५ हजार दुई सय जना उम्मेदवारलाई सिफारिश गरिसकेको छ । यद्यपि समावेशीता कार्यान्वयनमा केही कानूनी र कार्यान्वयनसम्बन्धी चुनौतीहरू अझै छन् । केही रिटहरू अदालतमा विचाराधीन रहेका छन् र आर्थिक तथा सामाजिक आधारलाई समावेशीताको मापदण्ड बनाउने प्रस्तावहरूबारे गम्भीर छलफल चलिरहेको छ । यस्ता जटिलताका बीच पनि आयोग संविधान र राज्यको नीतिलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको छ ।
आउँदा दिनमा नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै पाठ्यक्रम निर्माण गर्ने, शिक्षण संस्थाहरूमा भएका नयाँ संशोधनहरू समेट्ने र समयअनुसार परिमार्जन गर्ने योजना आयोगले बनाइसकेको छ । ७५औं वार्षिकोत्सवलाई अवसरका रूपमा प्रयोग गर्दै आयोगले वर्षभरिकै विशेष कार्यक्रमहरू सञ्चालन गर्ने र आमनागरिकको सुझावका आधारमा थप सुधारको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
लोक सेवा आयोगको निष्पक्षता, पारदर्शिता र स्वच्छताको विरासतलाई अगाडि बढाउँदै संस्थाले आफूलाई अझ मजबुत, सक्षम र जनउत्तरदायी बनाउँदै लैजाने प्रष्ट सङ्केत दिएको छ । प्रतिस्पर्धामा सफलता भनेको केवल चिनजान वा भाग्य होइन, लगनशीलता, तयारी र इमानदारिताको परिणाम हो । आयोगको आगामी लक्ष्य भनेको जनविश्वासलाई थप मजबुत पार्दै राष्ट्रिय सेवामा उत्कृष्ट जनशक्ति छनोट गर्ने जिम्मेवारीलाई उच्चस्तरमा लैजाने हो ।
अन्त्यमा लोक सेवाको तयारी गर्दै गरेका र गर्ने सोच बनाएका परीक्षार्थीहरूलाई भन्न चाहन्छु– राष्ट्रसेवामा प्रवेश गर्नु केवल जागिर पाउनु मात्र होइन, देश र नागरिकको सेवा गर्नु हो । लोक सेवा आयोग तपाईंजस्ता समर्पित, योग्य र इमानदार जनशक्ति चयन गर्ने जिम्मेवारीमा कटिबद्ध छ । यसैले तपाईंले यो संस्थालाई केवल परीक्षा लिने संस्था होइन, राष्ट्रनिर्माणको साझेदारको रूपमा हेर्नु आवश्यक छ । परीक्षा भन्ने बित्तिकै धेरैमा डर, तनाव र अन्योल सिर्जना हुन सक्छ । आयोगले लिने परीक्षा प्रणाली पारदर्शी र निष्पक्ष छ जसमा तपाईँको मेहनत नै मुख्य हो । नियमित अध्ययन, समयको सही व्यवस्थापन र पाठ्यक्रमअनुसारको तयारी नै लोक सेवामा सफलताको सूत्र हो ।
(लोक सेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
हुमेगाई लोक सेवा आयोगकी प्रवक्ता हुनुहुन्छ ।