बेँसीशहर–चामे सडकमा साउन मसान्तसम्म रातमा गाडी चलाउन रोक
असार २५, २०८२ बुधबार
बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ भन्ने चिन्तामा रहेको भुइँमान्छेलाई कहिलेकाहीँ देश दुनियाँको सुर्ताले पनि पिरोल्छ । सरकारले के गर्दैछ भन्ने चासो पनि राख्नुपर्ने, पत्रकारले के लेखे र के भने भनेर आँखा कान पनि ठाडो पार्नुपर्ने ! किनकि सरकार र पत्रकार दुवैथरी भुइँमान्छेकै लागि काम गर्छाैँ भनेर गफ दिन्छन् । त्यसैले आफ्ना लागि केही गरिहाले कि भनेर भुइँमान्छेलाई सकसक लाग्छ । कहिले सरकारको बाटो हेर्छ, कहिले पत्रकारको । धेरैपटक सरकारले दिनै नसक्ने कुरा दिन्छु भनेर ढाँट्छ, पत्रकारले हुँदै नभएको कुरा भयो भनेर ढाँट्छ । तै पनि दुवैको विश्वास चाहिँ लागिरहन्छ ।
पत्यार लाग्ने, नलाग्ने थरीथरीका कुरा लेखिरहने एकथरी पत्रकारले केही दिनअघि लेखे : गन्नेमान्ने नेताका छोराले काठमाण्डौमा भव्य होटल किने । आफूलाई चोकको होटलबाहिर उभिएर चटपट किनेर खान पनि गाह्रो छ, नेताका छोराले होटल नै किने । जोसँग पैसा हुन्छ, उसैले किन्ने हो । पैसा हुने भनेकै नेता, उनका छोराछोरी, परिवार, आफन्तहरूसँग हो । आफूजस्तै अर्को कुनै भुइँमान्छेले किन्यो भन्ने खबर आएको भए अचम्म मान्नुपर्थ्याे, अब नेताका छोराले होटल किनेको के अचम्म भयो र ? तर अचम्म मान्नुपर्ने गरी अर्को पत्रकार युट्युबमा चिच्यायो : फलाना नेताको छोराले होटल किन्यो । देखेजानेकै पत्रकार चिच्याएपछि कान ठाडो बनाउनै पर्याे । हो नि करोडौं मूल्य पर्ने होटल किन्ने पैसा कहाँबाट आयो ? पत्रकारले चिच्याउन त चिच्याए, तर होटल किनेको भन्ने प्रमाण खुलाएनन् । होटलले विज्ञप्ति निकालेर हैन भनेको सुनिन्छ तर पत्रकारले होटलले यसो भन्यो चाहिँ भन्दैनन् । न होटल किनेको भनिएका नेता र उनका परिवारको कुरा यस्तो छ नै भन्छन् । एकोहोरो यस्तो कुरो आयो मात्रै भन्छन् । भुइँमान्छेलाई पनि थाहा छ, पत्रकारितामा दुवै पक्षको कुरा समेट्नुपर्छ । सत्य, तथ्य, सन्तुलन र विश्वसनीयतामा लेख्ने र भन्ने भएकाले पत्रकारलाई राज्यको चौथो अङ्ग भनिन्छ । अरे र होरे को कुरा पत्रकारले गर्दैनन् । तर हिजोआजका धेरै पत्रकार अरे र होरे मात्रै भनेर चिच्याउँछन् । एकपक्षको मात्रै कुरा उराल्छन् । व्यापारीले सडकमा कमसल र नक्कली सामान बेच्न राखेझैँ बाहिर बोक्रो भित्र खोक्रो शैलीको समाचार लेख्छन्, सुनाउँछन्, देखाउँछन् । नेताको छोराले होटल किनेको समाचार पनि यही शैलीको देखियो– शीर्षक र प्रस्तुति के के न भएजस्तो, भित्रको गुदी कुरा चाहिँ केही न केहीको खोक्रो !
आफूलाई राज्यको चौथो अङ्ग भनेर नाक ठाडा पार्ने पत्रकारका अङ्ग सतीदेवीको झैँ पतन हुन लागेको त हैन भनेर सोच्दासोच्दै फेरि अर्को खबर आयो– सरकारले होटल किनेको कुरा गर्ने पत्रकारलाई पक्राउ पुर्जी जारी गर्याे । अनि अदालतले अनलाइनमा छापिएको अर्को समाचार हटाउन आदेश दियो । अदालतको आदेश सुनेर भुइँमान्छेलाई हाँसो उठ्यो । यदि त्यो समाचार पत्रिका, रेडियो र टेलिभिजनमा आएको भए अदालतले पत्रिका च्यात्न, अनि रेडियो र टेलिभिजन फुटाउन भन्थ्यो कि भन्थेन होला ?!
राज्यका कानून त भुइँमान्छेलाई पनि अलिअलि थाहा छ । पत्रकारसँगै सबै नेपाली नागरिकले युट्युब र अरू सामाजिक सञ्जालमार्फत लेख्न, बोल्न र प्रश्न उठाउन पाउँछ । यो संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक हो । तर यस्तो हक छ भन्दैमा हुँदै नभएको कुरा भन्न पाइँदैन । यो हकको दुरुपयोग गरेमा मुलुकी अपराध संहिताअन्तर्गत कारबाही हुन्छ । अभिव्यक्ति स्वतन्त्रता दुरुपयोग गरी अरूको मानहानि गर्ने वा गाली, बेइज्जती गर्नेमाथि कारबाही र जरिवानाको स्पष्ट व्यवस्था छ । त्यसैले पत्रकारले यो हक दुरुपयोग गरेर हानि पुर्याएको भए ऊविरुद्ध प्रेस काउन्सिल या अदालतमा मुद्दा दिन पाइन्छ । त्यसपछि पत्रकारले कि प्रमाण देखाउनुपर्छ, कि अदालतले दिएको दण्ड, जरिवाना भोग्नुपर्छ । तर आफैँ कानून बनाउने नेताका छोराले साइबर ब्युरोमा उजुरी दिए । सत्ताधारीमा आफूविरुद्ध जतिसुकै अपुष्ट कुरा लेख्ने वा गम्भीर लाञ्छना लगाउनेलाई पनि राज्यसत्ताको दुरुपयोग गरेर, गलत कानून प्रयोग गरेर तह लगाउन खोज्ने प्रवृत्ति बढ्न थालेको छ ।
पत्रकार वा सञ्चारमाध्यमले आफ्नो हातमा कलम छ भन्दैमा प्रमाण र तथ्यविनै अरूका बारेमा लेख्न पाउँदैन । सत्तामा बसेका र सत्तानजिक रहेकाले पनि आलोचना बन्द गर्ने उद्देश्यले पत्रकार वा नागरिकविरुद्ध साइबर कानूनको दुरुपयोग गर्न मिल्दैन । तर सरकार र पत्रकारहरू बेलाबेला यस्तै नपाइने र नमिल्ने कुरा गर्न प्रतिस्पर्धा गरिहन्छन् । उनीहरूलाई ठीक ठाउँमा ल्याउने निकायमा पनि दलकै दलदल भेटिन्छ । अदालतमा राजनीतिक कोटा, प्रेस काउन्सिलमा सत्ताधारीकै बाँडफाँट ! अनि कुबाटोमा हिँड्न लागेका सरकार र पत्रकारको खुट्टा सही ठाउँमा ल्याउने कसले ?
खानाको चिन्ता छोडेर देशको सुर्ता गरिरहेको भुइँमान्छेले फेरि सुन्यो : मूलधारका सम्पादकहरूले संयुक्त विज्ञप्ति निकाले । विज्ञप्ति देखेर भुइँमान्छे फेरि अलमलमा पर्याे । आम भुइँमान्छेले त्यति नाम नसुनेको सञ्चारमाध्यम पनि मूलधारको, अहिले काम छोडेर र नपाएर फुर्सदिला बनेकाहरू पनि सम्पादक !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।