ग्वार्काे 'ओभरपास' मा असार ६ गतेदेखि गाडी चल्ने, ट्राफिक जाम कम हुने अपेक्षा

 असार २, २०८२ सोमबार १५:४५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – ललितपुरको ग्वार्को 'ओभरपास' यही असार ६ गते शुक्रवार उद्घाटन हुने भएकाे छ । सडक विभागका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासकाे उद्घाटन गर्ने तय भएकाे छ ।

सडक विभागका प्रवक्ता एवम् उपमहानिर्देशक इन्जिनियर प्रभातकुमार झाले उज्यालोसँगको कुराकानीमा ओभरपासमा गाडी चलाउन योग्य भइसकेको जानकारी दिनुभयो । यद्यपि ट्राफिक बत्ती जडान, सातदोबाटोतर्फ जर्सी ब्यारियर राख्ने र सामान्य रङ्गरोगनको काम भइरहेको र ती काम असार ६ गतेअघि नै सम्पन्न हुने उहाँले बताउनुभयो ।

unn.prixa.net

ओभरपास सञ्चालनमा आएपछि बालकुमारी–सातदोबाटो मार्ग हुँदै गुड्ने गाडीलाई ट्राफिक जाममा बस्नुपर्ने झन्झट हट्नेछ । सीधै ओभरपासबाट गाडी गुड्ने भएकाले ग्वार्को चोकमा हुने गाडीको चाप कम हुने विभागकाे अपेक्षा छ । तर 'सर्भिस लेन' र ग्वार्को चोक जोडिने ठाउँमा र ओभरपासमुनि गुड्ने गाडीलाई पनि केही समय जाममा बस्नुपर्ने भए पनि पहिलेको तुलनामा जाम कम हुने प्रवक्ता झाको भनाइ छ । यसले यात्रुहरूको समय बचतमा उल्लेखनीय योगदान पुग्ने उहाँले बताउनुभयो ।

सुरक्षाका हिसाबले ओभरपासमा 'क्रस–ब्यारियर' लाई 'लेन सेपरेटर' का रूपमा प्रयोग गरिएको छ भने गाडी ठोकिएमा त्यहीँ रोकिने गरी छेउमा विशेष 'कर्भ' बनाइएको छ । सडकमा राति टल्किने बत्ती (क्याट्स आई) जडान हुँदैछ । ओभरपासमा सडक बत्ती जडानका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको जानकारी विभागले दिएको छ ।

यो ओभरपास नेपालमै नौलो प्रविधिमा निर्माण गरिएको संरचना हो । सामान्यतया ओभरपास पिलर उठाएर निर्माण गरिन्छ तर ग्वार्को ओभरपास वाल (भित्तो) उठाएर निर्माण गरिएको हो । यो नेपालमा सडक संरचनाको विकासमा नयाँ प्रयोग हो ।

विभागले महालक्ष्मीस्थान र नख्खुचोक दोबाटोमा समेत 'अन्डरपास' र 'लेभलअप' गर्ने योजना अघि बढाइएको छ । यदि आवश्यक बजेट विनियोजन भयो भने ती ठाउँमा पनि निर्माण कार्य थालिने सम्भावना रहेको विभागले जनाएको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया