चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढ्यो

 असार ४, २०८२ बुधबार ९:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा सन्ध्याकालीन सेवा शुरू भएपछि पर्यटकको सङ्ख्या बढेको छ ।

चिडियाखानाले गएको वैशाख १ गतेदेखि बेलुका ७ बजेसम्म प्रवेशको व्यवस्था गरेको थियो । त्यसयता चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या केही बढेको छ ।

वैशाख १ अघि बिहान १० देखि बेलुका ५ बजेसम्म मात्र चिडियाखाना खुल्ने गरेकोमा सन्ध्याकालीन समय दुई घण्टा थप गरी बेलुका ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यवस्थापनले जनाएको छ ।

नयाँ व्यवस्था लागू भएपछि २०८२ वैशाख १५ देखि जेठ १५ गतेसम्म झन्डै एक लाखले अवलोकन गरेका छन् । चिडियाखानाका प्रमुख सत्यनारायण साहका अनुसार यो अवधिमा ९९ हजार २१९ जनाले चिडियाखानको अवलोकन गरेका छन् । यो सेवा शुरू हुनुअघि २०८१ वैशाख १५ देखि जेठ १५ गतेसम्म ८४ हजार ३३६ जनाले अवलोकन गरेको तथ्याङ्क छ ।

गएको वर्ष र यसपालीको तुलना गर्दा १४ हजार ८८३ जना सेवाग्राही बढेको र त्यसबाट चिडियाखानालाई झन्डै २५ लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो ।

अवलोकनबाट उठ्ने शुल्कबाट चिडियाखानाले आफ्ना कर्मचारीलाई तलबभत्ता र त्यहाँ राखिएका जीवजन्तुलाई आहारा खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।

अहिले चिडियाखाना व्यवस्थापनले नेपाली वयस्क नागरिकलाई २००, विद्यार्थीलाई १३५, ज्येष्ठ नागरिकलाई १००,  बालबालिकालाई ७५ रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै ‘सार्क’ देशका नागरिकलाई  ५००  र विदेशी नागरिकलाई  १००० रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरेको छ ।

चिडियाखानामा दैनिक औसतमा दुई हजार जनाले अवलोकन गर्ने गरेका छन् । चिडियाखानामा हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामसलगायत ठूला वन्यजन्तुदेखि दुर्लभ जीवजन्तु रहेका छन् ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखि मात्र सर्वसाधारणलाई खुला गरिएको थियो ।  

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया