मधेशसहित पाँच प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

 असार ४, २०८२ बुधबार १२:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डौ – अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा सक्रिय रहेको छ । देशको पश्चिमी भू–भागमा भने पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत नेपालमा आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । यस्तै राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । उच्च–पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको पनि अनुमान रहेको महाशाखाले जनाएको छ ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज काठमाण्डौसहित ४५ जिल्लामा बाढीको जोखिम देखिएको महाशाखाले जनाएको छ । सिन्धुपाल्चोक, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर पूर्व, नवलपुर पश्चिम र चितवनमा भने बाढीको जोखिम अलि धेरै रहेको महाशाखाको सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया