इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको नामावली सङ्कलन शुरू

 असार ४, २०८२ बुधबार १२:३८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एएफपी

काठमाण्डाै – सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको नामावली सङ्कलन शुरू गरेको छ । इजरायलमा रहेको नेपाली दूतावासले सूचना निकालेर स्वदेश फर्कन चाहनेहरूको नामावली सङ्कलन शुरू गरेको जानकारी गराएको हो ।

दूतावासले सामाजिक सञ्जालमा सूचनासहित नाम दर्ता गर्नका लागि अनलाइन फारामसमेत सार्वजनिक गरेको छ । इच्छुहरूले अनलाइनमार्फत नामसहितको विवरण दर्ता गरेपछि उद्धारको प्रक्रिया अघि बढाउने दूतावासले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध चर्किएपछि इजरायलमा त्रास बढेको छ । सरकारी तथ्याङ्क अनुसार इजरायलमा झन्डै सात हजार जना नेपाली छन् । यस्तै इरानमा समेत १२ जना नेपाली रहेका तथ्याङ्क छ । अहिलेसम्म उनीहरू सुरक्षित रहेका दूतावासले जनाएको छ ।

दुई देशबीचको युद्ध चर्किँदै गएपछि अरू देशले पनि इरान र इजरायलबाट आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् । चीनले आजदेखि इरानमा रहेका आफ्ना नागरिकको उद्धार शुरू गरेको छ । भारतले हिजैदेखि आफ्ना नागरिक फिर्ता ल्याउने काम थालिसकेको छ । यस्तै पाकिस्तानले पनि आफ्ना नागरिकलाई फिर्ता गरिरहेको छ ।

गएको शुक्रवार इजरायलले इरानमा आक्रमण शुरू गरेको हो । त्यसपछि इरानले पनि प्रत्याक्रमण गरिरहेकोमा इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले मङ्गलवार मध्यरात इजरायलविरुद्ध युद्धको औपचारिक घोषणा गर्नुभएको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार इरानले पहिलो पटक इजरायलमा फतह मिसाइल प्रहार गरेको छ । फतह मिसाइल हाइपरसोनिक हो । यो आवाजको गतिभन्दा पाँच गुणा तीव्र उड्छ ।

यसैबीच अमेरिकाको ह्युमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५ सय ८५ जनाको ज्यान गएको दाबी गरेको छ । इजरायलमा इरानको आक्रमणमा परी २४ जना मारिएका छन् ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया