बर्खाको यात्रा : यात्रु र गाडीचालकले सावधानी अपनाऔँ

 असार ९, २०८२ सोमबार १३:१३:१५ | विनाेद घिमिरे
unn.prixa.net

विपदको बेला जोगिने उपाय भनेकै पूर्व सावधानी हो । सरकारी निकायको साथसाथै स्वयम् व्यक्ति सचेत नभएसम्म विपद्का घटनालाई न्यूनीकरण गर्न सकिंदैन । आफैंले नै केही पूर्व तयारीहरु र सतर्कताहरु अपनाउनु पर्ने हुन्छ । घरबाट निस्कनुअघि मौसमको अवस्थाबारे जानकारी लिनुपर्छ । मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरिरहेको हुन्छ । त्यसैले भरपर्दो सञ्चारमाध्यममार्फत मौसम र बाटोको अवस्थाबारे जानकारी लिने गरौं । नेपाल प्रहरीले पनि सामाजिक सञ्जालबाट सूचना, जानकारी दिइरहेको हुन्छ, हेर्ने गरौं ।

बर्खाको बेलामा सकेसम्म अत्यावश्यकभन्दा बाहेका टाढाको यात्रा नगरौँ । त्यस्तै भूक्षय, बाढी, पहिरोको खतरा छ भने स्थानीय सरकार, नेपाल प्रहरीसँग समन्वय गरेर सुरक्षित बसोबासको व्यवस्था मिलाउँ ।  खोलानालामा पानीको बहाव बढी रहेको बेलामा जबरजस्ती असुरक्षित तरीकाले पार गर्ने नगरौँ । खोला छेउछाउका जोखिमपूर्ण बस्ती भए त्यसलाई स्थानान्तरण गरौँ ।

कतिपय जिल्लाहरुमा बाढी पहिरोका बारेमा जनाउ दिनका लागि खतराका सङ्केतहरु पनि जडान गरिएका छन् । त्यसबारे पनि विशेष चनाखो भएर जानकारी लिने गरौँ । हाम्रो देशका पहाडी क्षेत्रमा बाटोमा हिँड्दाहिँड्दै भिरालो जमिनबाट माथिबाट ढुङ्गा खस्न सक्छ । त्यसैले पानी परेको बेलमा त्यस्तो क्षेत्रमा नजाउँ । जानै परे पनि चनाखो भएर वारपार गर्ने गरौँ । अहिले मनसुनको समय छ । शहरी क्षेत्रमा पनि ठूला –ठूला ढलहरु फुट्ने र पानी जमेको ठाउँमा ढल फुटेको नदेखिने हुँदा गाडी चालकहरुले विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

कतिपय चालकहरु आफूलाई बहादुर ठान्नु हुन्छ । गाडी चालकहरु आफ्नो मात्रै होइन अरू ४५–५० जना यात्रुहरुको जीवनको जिम्मा लिएर हिँड्नु हुन्छ । त्यसैले उहाँहरुले छिटो होइन कि सुरक्षित पुर्‍याउँछु भन्ने किसिमले गाडी चलाउन जरुरी छ । बर्खाको बेलामा पानी परिरहेको, कटिहाल्छु नि भनेर जबर्जस्ती चलाउने प्रवृत्ति छ । जसले गर्दा कहिलेकाहीँ गाडी चालकले जोखिम मोल्दा ठूलो दुर्घटना हुन सक्छ । केही दिनअघि नवलपरासीको विनयी खोलामा पनि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस नै बगाएर यात्रुको उद्धार गर्नु परेको थियो । प्रहरी घटनास्थलमा हुँदा पनि प्रहरीको आँखा छलेर जबरजस्ती पार गर्न खोज्दा प्रहरीले नै यात्रुको उद्धार गर्नु परेको थियो । यस कुरामा हामीले ध्यानाकर्षण पनि गराएका छौ । ७७ वटै जिल्लाका सुरक्षाकर्मीलाई परिपत्र गरेर सूचित गराएका छाैं ।

प्रहरीले जबरजस्ती गाडी पार गर्न थालेको चालकलाई रोक्ने भन्दा पनि चालकले आफैँ महसुस गर्नुपर्छ । हामी सबैमा स्वःअनुशासन चाहिन्छ । आफू मात्र नभइ ४५/५० जना यात्रुहरुको जीवन लिएर हिँडेको छु भन्ने कुरा महसुस गर्नु पर्‍यो । रोक्ने सबै ठाउँमा प्रहरी नहुन पनि सक्छ । त्यसैले यस्ता घटना नहोस् भनेर अहिले रातिको समयमा पनि सम्भावित जोखिम हुने ठाउँमा सुरक्षकर्मीहरु खटाएका छौँ ।

गाडी चालकले जोखिम नलिई त्यस्ता जोखिमयुक्त ठाउँको जानकारी लिएर चाँडै होइन सुरक्षित पुर्‍याउँछु भन्ने कुरामा ध्यान दिन जरुरी छ । रातिको समयमा जोखिमयुक्त ठाउँमा गाडी चलाउने गर्नु हुन्न ।

त्यस्तै त्यस्ता ढल बग्ने ठाउँमा अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई जान रोकौं । किनकी काठमाण्डौ उपत्यकामा पनि विगतका वर्षमा ढलमा मान्छे पसेर ज्यान नै गुमाउनु परेका दुःखद घटना भएका थिए । त्यस्तै लामो दूरीको यात्रा गर्दा अझै बढी चनाखो हुन आवश्यक छ । बर्खाको समयको लामो यात्रा जोखिमपूर्ण हुने भएकाले अत्यावश्यकभन्दा यात्रा नगर्नु नै राम्रो हुन्छ । मौसम पूर्वानुमान महाखाशाले पनि भनिरहेको छ । यसपटक बर्खामा अरूबेलाभन्दा वर्षा धेरै हुन्छ । त्यसैले त्यसबारे पूर्व सतर्कता र पूर्व सावधानी अपनाउन जरुरी हुन्छ । पूर्व सतर्कता, पूर्व सावधानी र आफ्नो सुरक्षा आफैँ गर्दा राम्रो हुन्छ ।

अहिले पनि सुरक्षा निकाय र विपदसँगसम्बन्धी सरोकारवालाहरु बीच समन्वय गरेर पूर्व तयारीका कामहरु भइरहेको छ । जोखियुक्त ठाउँहरु पहिचान गरेर कहाँ केको खतरा छ भनेर त्यस बारेमा विपद् प्रतिकार्य योजना तयार भएका छन् । गाउँ–गाउँमा अहिले नेपाल प्रहरीले सूचकहरु पनि बनाएको छ । विपद्का लागि स्वयंसेवकहरुलाई पनि तालिम दिएका छौँ । बर्खाको समयमा हुन सक्ने घटनाको पहिचान गरेर आवश्यक सतर्कता सबैले अपनाउन जरुरी छ । विपद्को घटना भइहालेमा नागरिक समाज, नेपाल प्रहरी र सम्बद्ध सबै निकाय एकसाथ हातेमालो गरेर अगाडि बढौँ । विपदको बेलामा नजिकको प्रहरी कार्यालय अथवा नेपाल प्रहरीको हटलाइन १०० नम्बरमा खबर गरौँ ।

(नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेसँगको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विनाेद घिमिरे

प्रहरी नायब महानिरीक्षक घिमिरे नेपाल प्रहरीका प्रवक्ता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया