ललितपुर ग्वार्कोको जाम आधाले घट्यो, लोकल बस भने ओभरपासमा गुडेनन्

 असार ९, २०८२ सोमबार १०:१५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओभरपास सञ्चालनमा आएपछि ललितपुरको ग्वार्कोमा गाडीको जाम आधाले घटेको छ । पहिलेको तुलनामा जाम आधाले घटेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले उज्यालोसँग कुरा गर्दै ओभरपास सञ्चालनमा आएपछि चक्रपथको सातदोबाटो–कोटेश्वर खण्ड हुँदै चल्ने गाडीलाई सहज भएको बताउनुभयो । अब जामको समस्या धेरै कम भएको उहाँको भनाइ छ ।

ग्वार्कोमा बनेको ओभरपास तीन दिनअघि गएको शुक्रवारदेखि सञ्चालनमा आएको हो । आठ लेनको सडकमध्ये बीचको चार लेनमा ओभरपास बनाइएको छ ।

ग्वार्कोमा रोक्न तथा मोडिन नपर्ने गाडी मात्रै ओभरपासबाट गुड्ने गरेका छन् । ग्वार्कोमा यात्रु झार्ने र चढाउने लोकल गाडीहरु भने ओभरपासबाट नभएर पुरानै दायाँ–बायाँको सडकबाट चलिरहेका छन् । काठमाण्डौको कलङ्कीमा भने चक्रपथ ओहोरदोहोर गर्ने सबै गाडी अन्डरपासबाटै गुड्नुपर्छ ।

कलङ्कीमा ओर्लने तथा त्यहाँबाट चढ्ने यात्रु खसीबजार या मकालु पेट्रोलपम्पसम्म पुग्नुपर्छ । तर ग्वार्को ओभरपासमा भने यस्तो व्यवस्था नभएको र लोकल बस ओभरपाससँगै दायाँ बायाँको लेनबाट समेत चल्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । ओभरपासबाट चल्ने गाडी ग्वार्को चोकमा रोक्न मिल्दैन । त्यसैले लोकल गाडी ओभरपासबाट नभइ दायाँ बायाँको लेनबाट गुड्ने गरेका हुन् ।

ओभरपास मुनिबाट गुड्ने गाडीले पहिलेझैं ट्राफिक सङ्केतको पालना गर्दै यात्रा गर्नुपर्ने हुन्छ । यद्यपि, पहिलेको जस्तो लामो समय जाममा बस्नुपर्ने अवस्था भने अहिले छैन । 

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया