काठमाण्डौ उपत्यकासहित २२ जिल्लामा बाढीको जोखिम

 असार ९, २०८२ सोमबार १०:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका तीनसहित २२ जिल्लामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज काठमाण्डौ, ललितपुर, भक्तपुर, इलाम, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको मध्यम जोखिम छ ।

यस्तै झापा, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपालचोक, नुवाकोट, धादिङ, दाङ, प्युठान, रुकुमपश्चिम, रुकुमपूर्व, जाजरकोट, कालीकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, कैलाली र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकश्मिक बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले यी जिल्लाका नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ ।

आज, भोलि र पर्सि कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी तथा पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोशी, नारायणी, कन्काई, र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना  रहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ । 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया