मलेशियामा महँगी दर घट्दै, उपभोक्तालाई राहत

 असार ११, २०८२ बुधबार ९:३६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति अर्थात महँगी दर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा कम दर भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

मलेशियाको तथ्याङ्क विभागका अनुसार, महँगी कम हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो ।

तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

उत्पादन लागत घटेको सङ्केत स्थानीय उत्पादन मूल्य सूचकाङ्क (पीपीआई) मा पनि देखिएको छ, जुन चालू वर्षको अप्रिल महिनामा ३ दशमलव ४ प्रतिशतले ऋणात्मक रहेको थियो ।

यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७ दशमलव ८ प्रतिशतले कमी आएको उल्लेख छ ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकाङ्कमा महत्त्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ ।

यो समूहको मूल्य वृद्धि मे महिनामा २ दशमलव १ प्रतिशतमा सीमित भएको हो । यद्यपि, मासिक रूपमा हेर्दा भने अप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेकोले उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक सङ्केत मानिएको छ ।

मूल्यवृद्धिमा आएको कमीले नागरिकको दैनिक जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: असार २४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया