काठमाण्डौ – नेपाल नेत्रज्योति सङ्घले विदेशमा पनि आँखा सेवा उपलब्ध गराउन शुरुआत गरेको छ । २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरूको सञ्जालमार्फत स्वदेशमा आँखा उपचार सेवा प्रदान गर्दै आएको सङ्घले हिजोदेखि ओमानको राजधानी मस्कटमा रहेका नेपालीको निःशुल्क आँखा जाँच थालेको हो ।
देश बाहिर रहेका नेपालीलाई आँखा उपचारमा सहजता होस् भन्ने उद्देश्यले नेपाली राजदूतावाससँगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रायः विदेशमा आँखा उपचार सेवा महँगो हुने गर्दछ । अरू देशहरूमा रहेका नेपाली श्रमिकलाई लक्षित गरेर आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महासचिव चन्दले बताउनुभयाे ।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सन् २०२४ मा मात्र सङ्घको सञ्जालमार्फत भारतलगायत अन्य छिमेकी देशमा झन्डै नौ लाख आँखाका बिरामीको परीक्षण गरिएको छ भने एक लाख ६० हजारभन्दा बढी बिरामीको शल्यक्रिया गरिएको छ ।
उहाँका अनुसारा स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।