मलेसियामा बिनागल्ती कोर्रा, फर्किंदा विमानमा बेईज्जत

 मंसिर २७, २०७५ बिहिबार १४:४०:४२ | सन्जिता देवकोटा

मलेसियामा अहिले संगठित रुपले नेपाली कामदार ठगिन थालेका छन् । मलेसियामा गर्दागर्दैको काम छुटाएर कामदारलाई अबैधानिक बनाइदिने, अबैधानिक भएपछि कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अबैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा नेपाली दूतावासको नाम प्रयोग गरी कामदारको परिवारलाई नेपालमा ठग्ने संगठित धन्दा गर्ने गिरोहको फन्दामा अहिलेसम्म दर्जनभन्दा धेरै परिवार परिसकेका छन् ।

यसरी फन्दामा परेका चार परिवारको कथाव्यथाको श्रृंखला हो 'मलेसियामा कामदार फसाउँदै नेपालमा परिवार लुट्दै'। यो श्रृंखलामा आज प्रस्तुत छ बाँकेका सिरज अली गाधीकाे कथा । 

 

काठमाडौं – च्यातिंदै गएपछि पुरानो पाइन्ट काटेर बनाएको र प्लाष्टिकको डोरीले कम्मरमा अड्काएको पुरानो, मैलो र खुइलिएको जिन्सको हाफपाइन्ट देखाउँदै बाँकेका सिरज अलीले भन्नुभयो ‘यही पाइन्टको  भरमा जेलमा र घरफिर्ती केन्द्रमा ७ महिना बसेको हो’ । 

सात महिनाअघि अलीको वजन ६२ किलो थियो, पाइन्ट कम्मरमा टपक्क मिल्थ्यो । तर जेलमा बस्दा कम्मरमा पाइन्ट अड्काउनै नसक्ने गरी तौल घट्यो । भन्नुहुन्छ ‘अरु लुगा थिएन, त्यही भएर यो डोरीले बाँधेरै भए पनि कम्मरमा अड्याएको छु ।’ 

मलेसियामा अवैधानिक भएर काम गर्दा जेल परेका सिरज अली घरफिर्ती केन्द्र र जेलमा गरी झण्डै सात महिना बिताएर नोभेम्बर १५ मा काठमाडौं आइपुग्नु भएको हो । घर जाने मेलो अझै मिलेको छैन ।

त्यसैले उहाँको समय काठमाडौं बानेश्वरको देवीनगरमा धोवीखोलाको छेवैमा रहेको प्रवासी नेपाली समन्वय समितिको आवासगृहको खाटमा बसेर टोलाएर बित्दैछ । 
‘यो डोरी पनि बल्लबल्ल पो पाएको त, नत्र त यसो हिँड्दा पनि समात्दै हिँड्नु पथ्र्यो,’ हाफपाइन्ट ओल्टाईपल्टाई हेर्दै सिरजले भन्नुभयो । मलेसियामा अवैधानिक भएर काम गर्दा जेल परेका सिरज घर फर्किंदा ठगीमा पर्नुभयो । जेल परेदेखि काठमाडौं ओर्लंदासम्म हजारौं हण्डर खेप्नुपर्‍यो । 

साथीभाइले कमाएको देखेर विदेश

परिवार र आफन्तको साथ चटक्कै छाडेर विदेशिने धेरैका उदेश्य उस्तै हो – कमाउने । दुई चार वर्ष परिवारसँग टाढा हुँदाको पीडा सहेर भए पनि बाँकी जिन्दगी सुखैमा रमाउने  । सिरजको सपना पनि यस्तै थियो मलेसिया उड्दा ।

 सिरजलाई विदेश जानुपर्ने बाध्यता थिएन । खेतीपातीले खान पुग्थ्यो । बाख्रा, भै‌ंसी पाल्दा खर्च चल्थ्यो । त्यसैगरी चलेको थियो ६ वर्ष अघिसम्म उहाँको दैनिकी । तर गाउँबाट विदेशिनेको लहरमा एक दिन उहाँलाई पनि मिसिन मन लाग्यो ।

‘मेरो जेठो दाइ पनि मलेसियामै थिए, गाउँका अरु साथीले पनि विदेशमा कमाएको देखेँ, अनि मलाई पनि जाउँजाउँ लागिहाल्यो,’ सिरज विदेश जाने निर्णय गर्दाको क्षण सुनाउनुहुन्छ । 

सन् २०१२ मा सिरज पहिलो पटक मलेसिया उड्नुभयो । ‘३ वर्ष काम गर्दा झण्डै आठ लाख रुपैयाँ कमाएँ, त्यो कमाईले फर्किएर बाख्रा पाल्दै थिएँ, फेरि जान मन लाग्यो अनि २०१७ मा गएको हो फेरि,’ सिरजले दोस्रो पटक विदेश जाँदाको अवस्था सुनाउनुभयो । 

सन् २००१७ मा उहाँ दोस्रो पटक जानुभएको थियो मलेसिया । मलेसियाको हावापानी नौलो थिएन सिरजका लागि । डिलक्स म्यानपावरबाट मलेसिया पुगेका उहाँलाई म्यानपावरले ग्लास बनाउने काम हो भनेर सम्झौता गराएको थियो । 

तर पहिलो पटक जाँदा जस्तो भएन दोस्रो पटकको मलेसिया यात्रा । काम अर्कै पर्‍यो । जंगलमा बाटो खन्ने ठाउँमा सहयोगीको काम दिईयो उहाँलाई । 

‘काम पनि अर्कै, न भनेको सेवा सुविधा, खाना पनि नपाइने अनकन्टार जंगलमा काम थियो,’ सिरज सुनाउनुहुन्छ । काम त भनेको मिलेन नै, काम लगाउने साहुसँग मन पनि मिलेन ।

‘पाँच महिना भएको थियो, साहुसँग झगडा पर्‍यो, त्यसपछि म काम छाडेर भागेँ,’ सिरज भन्नुहुन्छ । 

श्रम स्वीकृति लिएर गएको काम उहाँले साहुसँग झगडा परेकै कारण छाडिदिनुभयो । सिरजलाई कमाउनु थियो । ‘भनेको बेलामा तलब नदिने, शहरको मुख पनि देख्न नपाइने जंगली काम छाड्दा त मलाई कस्तो पनि लागेको थिएन,’ उहाँ सुनाउनुहुन्छ । सजिलै छाडिदिनु भएको थियो त्यो बेलामा काम  । 

सिरजले काम छाडेसँगै मलेसियामा अनुमति लिएरै काम गरिरहेको छु भनेर देखाउने प्रमाण पनि छुट्यो । नेपाली नागरिक हुँ भनेर देखाउने परिचयपत्र पनि छुट्यो । 
कागजपत्रविहीन भएपछि उहाँले फलाम कम्पनीमा काम गर्नुभयो । काम गर्ने अनुमति लिएर, सम्झौता गरेर काम गर्न गएको कम्पनीले त हेला गर्‍यो । कागजपत्र बिना लुकेर काम गर्दा झन सास्ती खेप्नुपर्‍यो सिराजले । ‘भागेर काम गर्दा काम लगाउने तर भनेको बेला तलब नदिने, वास्तै नगर्ने, झ्याउ हुनेरहेछ,’ सिरज सम्झनुहुन्छ । 

पाँच महिना भएको थियो सिराजले भागेर काम गर्न थालेको । मलेसियामै कार्यरत गाउँका काकाले आफ्नो कोठामा इद मान्न बोलाए । छुट्टी भएकाले सिरज काकाकोमा जानुभयो । 

‘यही हाफपाइन्ट र सेन्डो लगाएर सुतिरहेको थिएँ, प्रहरीले खै पासपोर्ट भन्यो, आफूसँग भए पो देखाउनु, पुलिसले समाते पछिका दुःखको हिसाब किताव डरलाग्दो छ हजुर’ सिरजले भन्नुभयो । 

गल्ती बिनै कोर्रा 

कति थियो त याद छैन, तर प्रहरीले काकाको कोठामा छापा मारेर पक्राउ गर्दा सिरजको साथमा पैसा र मोवाइल थियो । प्रहरीले लिए । पक्राउ गरेर १४ दिन त त्यसै राखे प्रहरीले । एक कोर्रा र ६ महिनाको जेल सजाय तोकियो सिरजलाई । कोर्रा हान्नु पर्ने सजाय किन तोकियो भन्ने पनि थाहा छैन ।

‘कोर्रा पनि हान्यो, त्यो बेला कति गाह्रो भयो नि, कोर्रा त एक पटक हान्यो सकियो तर जेलमा र घरफिर्ती केन्द्रमा बढी दुःख पाइयो’ सिरजले अनुहार अँध्यारो लगाउँदै भन्नुभयो । 

जेलमा सुत्न मिल्ने ठाउँ थिएन, पानी थिएन । नुहाउन पाईंदैथ्यो । ज्यान त कति चिलाउँथ्यो कति । ‘माछा पानीमा उमालेर दिने, नुनतेल केही हुन्नथ्यो, पानी उस्तै, भात पनि एक गाँस मात्रै हुन्थ्यो,’ जेल बसाई सम्झँदै सिरज भन्नुहुन्छ, ‘खायो कि चिलाउने, नुहाउने एउटा ठाउँ थियो, १५ मिनेट पानी छाडिदिन्थ्यो, पानी छाडेका बेला १५/२० जना लाइनमा बस्ने कसले कसले पाउने, कहिले त साबुन शरीरमा हुँदै पानी सुुक्थ्यो ।’

‘हात र खुट्टामा मात्र हैन भित्रभित्र सबैतिर छ, जिउभरी छ यस्ता फोकाहरु, कति चिलाउँछ,’ सिरजले फोका देखाउँदै भन्नुभयो । औषधी माग्दा उल्टो कुट्थें प्रहरीले ।

‘खाली टाउकोमा मात्र कुट्ने, नाङ्गै बनाएर पिट्थ्ये नि,’ सिरज जेलमा पाएको यातना सुनाउनुहुन्छ । जेलमा ४ महिना यसरी नै बिते सिरजका । ६ महिनाको जेल सजाय तोके पनि ४ महिना उहाँलाई घरफिर्ती केन्द्र लेङगेङ ल्याइयो । 

क्याम्पका प्रहरीलाई भाइले पैसा दिए

लेङगेङ घरफिर्ती केन्द्रमा ल्याएको मिति सम्झनुहुन्न सिरज । घर फर्किने पाउने खुशी मात्रै थियो त्योबेला । लेङगेङ घरफिर्ती केन्द्र ल्याएको भोलिपल्ट प्रहरीले तल्लो तलामा बोलाए । र भने, ‘तिमी कुन देशको नागरिक ?’

‘नेपाली हुँ,’ सिरजले भन्नुभयो ।

त्यसपछि नाम, नेपालको ठेगाना, परिवारको सम्पर्क नम्बर लगायत थुप्रै कुरा सोधियो । जे जे प्रहरीले सोधे, जवाफ दिनुभयो सिरजले  । भोलिपल्ट अघिल्लो दिन फारम भर्ने प्रहरीले तिम्रो दूतावासको फोन आएको छ भन्दै बोलाए । 

दूतावासले आफूलाई फोन गर्‍यो भन्ने शब्द सुन्दा मन फुरुङ भएको थियो सिरजको । हतार हतार फोन समात्नुभयो । ‘तिमी सिरज हैन त, तिमी अवैधानिक भएर जेल परेको रहेछौं, अब घर जानुपर्छ, त्यसका लागि १५ सय रिंगिट लाग्छ, चिन्ता नगर छिट्टै घर जान पाउँछौ’ फोनमा बोल्ने व्यक्तिले एकै स्वरमा भने । 

‘मसँग त पैसा छैन, यहाँ म जस्ता पीडित धेरै छन्, सबैलाई घर जानुपरेको छ, कसैसँग पैसा छैन के गर्ने,’ सिरजले जवाफ दिनुभयो । 

‘मलेसियामा तिम्रो को छ ?’ उताबाट सोधे । 

‘भाइ छ,’ सिरजले भन्नुभयो । 

भाइको नम्बर उहाँले अघिल्लो दिन फारममा पनि लेख्नुभएको थियो । क्याम्पबाट प्रहरीले भाइलाई फोन लगाइदिए । 

भाइसँग सिरजले आफ्नो भाषामा कुरा गर्नुभयो । ‘म लेङगेङ क्याम्पमा छु, मलाई भेट्न आउ, टिकट काटिदेउ भनेर हाम्रो भाषामा भने,’ सिरज भन्नुहुन्छ, ‘मैले आफ्नो भाषामा कुरा गरेको सुनेपछि फोन काटिदियो, त्यसपछि त कहाँ फोन गर्न पाउनु ।’

लेङगेङ क्याम्पमा भाइ आए । तर प्रहरीले सिरजसँग भेट्न दिएनन् । भाइले प्रहरीकै हातमा १७ सय ५० रिंगिट पैसा छाडेर फर्किए । सिरजले टिकटका लागि दूतावासलाई दिनु भनेर प्रहरीलाई नै पैसा दिनुभयो । प्रहरीले दूतावास हुँ भनेर फोन गर्ने व्यक्तिलाई कसरी पैसा दिए भन्ने विषयमा पनि सिरज बेखबर हुनुहुन्छ । 

जेलमाभन्दा सास्ती खेप्नुपर्‍यो घरफिर्ती केन्द्रमा । ‘४० जनाको क्षमता भएको कोठामा ८०/९० जना राख्थ्यो, बस्ने ठाउँ पनि नहुने, कुट्ने, खान नदिने, पानीमा त के हालेर दिन्थ्यो कुन्नी, पानी खायो कि मान्छे त बौलाहा जस्तो हुने, सुतेको सुत्यै हुने हुन्थ्यो,’ सिरज घरफिर्ती केन्द्रमा पाएको सास्ती सुनाउनुहुन्छ । 

प्रहरीलाई पैसा बुझाएको २७ दिनपछि अथवा नोभेम्बर १५ तारिखका दिन मात्रै उहाँले घर फर्किन पाउनुभयो । ‘उनीहरुको मिलेमतो हुँदोरहेछ, मेरो भाइलाई कति फोन गरेको रे, उसले १७ सय ५० रिंगिटभन्दा दिएनछ,’ सिरज भन्नुहुन्छ । 

विमानमा बेईज्जत

१५ नोभेम्बरका दिन सिरजसँगै मलिन्दो एअरलाइन्समा फर्किने १७ जना नेपाली कामदार थिए । जहाजको ढोकामा ल्याएपछि मात्रै हतकडी खोलिदिए प्रहरीले । सबैको अवस्था उस्तै थियो । ज्यानमा एकसरो लुगा, शरीरभरी घाउ ।  

विमानमा रहेका अरु यात्रुहरु हेर्दै हाँस्थे । झण्डै सात महिना नुहाउन र लुगा फेर्न नपाएको शरीर । महिनौ नमाझेको दाँत । ‘जिउभरी घाउ सबै पाकेको थियो, यही हाफपाइन्ट बाहेक लुगा थिएन,’ सिरजका गहभरी आँसु भए । सिरजको सपना थियो – कमाएर जहाजमा फर्किने, बुवालाई घडी उपहार ल्याइदिने । 

‘पहिले विदेशबाट फर्किंदा मैले एउटा घडी लगाएको थिएँ, बुवालाई मलाई चाहिँ ल्याइदिनस् भन्नुभएको थियो, योपालि बुवाको लागि राम्रो घडी ल्याउँछु भन्ठानेको आफैं नाङ्गै फर्किनु पर्‍यो,’ सिरज पछुतो मान्दै भन्नुहुन्छ । 

विमानस्थलमा शरीरमा एकसरो लुगाबिनै ओर्लनु पर्दा शरीरभरी पाकेका फोकाले भन्दा बढी मरेका सपनाले पोलेको थियो । 

विमानले मलेसियाबाट काठमाडौं त ल्याइदियो तर गाडी चढेर बाँकेसम्म जाने पैसा छैन सिरजसँग । ‘कुनै काम पाए दुईचार महिना गर्थें, एक जोर लुगा किन्थें, अनि घर जान्थें,’ सिरज भन्नुहुन्छ, ‘यही हाफपाइन्टमा दुःख देखाउन के जानु घर !’

अन्तिम अपडेट: असार १, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया