बाँकेका स्थानीय तहमा नेकपाका अध्यक्ष र सचिव चयन

 मंसिर २८, २०७५ शुक्रबार १७:२५:४५ | गोविन्द शर्मा

बाँके – नेकपा प्रदेश  नम्बर ५ कमिटीले बाँकेका ८ वटा स्थानीय तहमा अध्यक्ष र सचिव चयन गरेको छ । 

रुपन्देहीको बुटवलमा शुक्रबार सम्पन्न बैठकले जिल्ला कार्यदलको सिफारिस अनुसार अध्यक्ष र सचिव चयन गरेको प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाको अध्यक्षमा डिल्ली बराल र सचिवमा दत्तप्रसाद आचार्य, कोहलपुर नगरपालिकाको अध्यक्षमा वसन्ती अधिकारी र सचिवमा तुलाराज बिष्ट, खजुरा गाउँपालिकाको अध्यक्षमा राजकुमार बिक र सचिवमा यामबहादुर महतारा, जानकी गाउँपालिकाको अध्यक्षमा पदम धिताल र सचिवमा नारायण गिरी, राप्ती–सोनारी गाउँपालिकाको अध्यक्षमा चामबहादुर घर्ती र सचिवमा मनोज केसी, डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील अहमद खान र सचिवमा भोला यादव, बैजनाथ गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर चौधरी र सचिवमा मिरा कार्की तथा नरैनापुर  गाउँपालिका कमिटीको अध्यक्षमा प्रमोद मिश्रा र सचिवमा मेराज खाँ चयन भएका छन् ।

पूर्व एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको छ भने पूर्व माओवादीले तीन तहमा नेतृत्व पाएको छ । तत्कालीन एमालेले कोहलपुर, बैजनाथ, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा नेतृत्व पाएको हो ।  नेपालगञ्ज उपमहानगरपालिका, खजुरा र राप्ती–सोनारीमा तत्कालीन माओवादीले अध्यक्ष पाएको छ । 

अध्यक्ष र सचिव फरक–फरक पार्टीबाट राखिएको छ । पार्टी एकताका लागि गठन गरेको जिल्ला कार्यदलले बाँकेका ८ वटा स्थानीय तह कमिटीका पदाधिकारी नाम प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।  कार्यदलमा पूर्व एमालेबाट अशोक कोइराला र गोपाल गिरी तथा पूर्व माओवादीबाट प्रकाश सुवेदी र अकलबहादुर बम सदस्य रहनुभएको थियो । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया