नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

नेपालमा डिजिटल कारोबारमा महिलाको सहभागिता न्यून

काठमाण्डाै – नेपालमा ५८ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाले डिजिटल कारोबार गर्ने गरेको पाइएको छ ।

विश्व बैंकले हिजो सार्वजनिक गरेको प्रतिवेदन ‘ग्लोबल फिन्डेक्स २०२५’ अनुसार नेपालमा डिजिटल भुक्तानी सेवा लिने महिला र पुरुषबीच २२ प्रतिशतको अन्तर देखिएको हो । यस्तो अन्तर समग्र दक्षिण एशियामा भने १५ प्रतिशत रहेको छ ।

इन्टरनेटमा पहुँच बनाउन र डिजिटल कारोबारका लागि आवश्यक मोबाइल फोन र सिमकार्डको स्वामित्वमा रहेको लैङ्गिक असमानताका कारण यस्तो अन्तर देखिएको प्रतिवदेनमा उल्लेख छ ।

नेपालमा डिजिटल कारोबारको पूर्ण लाभ सबै समुदायले बराबर रूपमा लिन नसकेको पनि प्रतिवेदनमा उल्लेख छ । नेपालमा आफ्नै नाममा सिमकार्ड नहुने दूरसञ्चार ग्राहकको सङ्ख्या ४० प्रतिशतभन्दा बढी देखिएको र यो कारणले पनि डिजिटल कारोबारमा समस्या हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार गएको आर्थिक वर्षको जेठ मसान्तसम्ममा मोबाइल वालेटमार्फत ४२ अर्ब ८८ करोड ७ लाख रुपैयाँ बराबरको ३ करोड ७८ लाख २२ हजार ९२१ वटा कारोबार भएका थिए ।

प्रकाशित मिति:
थप अर्थ