एउटै बसपार्कको दुई पटक उद्घाटन !

 मंसिर २९, २०७५ शनिबार १८:१:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर –  चार वर्षअघि २०७१ मा सञ्चालनको लागि उद्घाटन गरिएको फिदिम बसपार्क सञ्चालनको लागि शनिबार फेरि उद्घाटन गरिएको छ ।

फिदिम–२, पल्लोटारमा २०५५ सालदेखि निर्माण सुरु भएको बसपार्क सञ्चालनको लागि २०७१ साल वैशाख १ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गर्नुभएको थियो । तर त्यतिबेला जिल्लाका यातायात व्यावसायिहरुले बसपार्क क्षेत्रमा न्यूनतम भौतिक पूर्वाधारसमेत नभएको भन्दै सवारी साधन नलगेपछि बसपार्क सञ्चालनमा आउन सकेको थिएन ।

त्यसपछि यातायात व्यवसायीको मागलाई मध्यनजर गर्दै बसपार्कमा आवश्यक भौतिक पूर्वधारको निर्माण गरेर शनिबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले नवनिर्मित बसपार्ककोे उद्घाटन गर्नुभएको हो ।

बसपार्क उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले बसपार्क क्षेत्रमा सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेकोले बसपार्क क्षेत्रमा आवश्यक पर्ने सुरक्षाको व्यवस्था मिला दिने भन्दै निर्धक्क भएर सवारी पार्किङ गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । बसपार्क क्षेत्रमा १२ वटा टिकट काउण्टर रहेका छन् भने शौचालय, स्नानकक्ष, यात्रु प्रतिक्षालय, प्रहरी बिटको निर्माण गरिएपछि उद्घाटन गरिएको बसपार्क भौतिक पूर्वधार निर्माण समितिका संयोजक तथा फिदिम–२ का वडाध्यक्ष सुकपाल तुम्बापोले वताउनुभयो ।

मेची राजमार्गको फिदिमस्थित जोरसालदेखि बसपार्क र तुम्देन चोक–बसपार्क जोड्ने ११ मिटर चौडा सडक निर्माण भएको छ । फिदिम–१, मा रहेको शनिबारेमा रहेको अस्थायी बसपार्क साँघुरो हुँदा बजार क्षेत्रमा अस्तव्यस्त रुपमा सवारी पार्किङ हुँदै आएको थियो ।

बसपार्क निर्माणको लागि २०५५ सालमा स्थानीय १० जनाले १० रोपनी जग्गा निःशुल्क दिएपछि बसपार्क निर्माणको काम सुरु भएको थियो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया