सामाजिक सुरक्षा कोषमा झण्डै तीनसय रोजगारदाता सूचीकृत, प्रदेश १ मा पनि सुरु

 पुस १, २०७५ आइतबार १६:५३:५८ | उज्यालो सहकर्मी

काठमाडौं – सामाजिक सुरक्षा कोषमा रोजगारदाताले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । आइतबार बिहानसम्ममा काठमाडौंसहित प्रदेश नम्बर ३ का २९७ रोजगारदाता योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । 

पहिलो चारणमा गएको मंसिर ६ गतेदेखि सरकारले काठमाडौंबाट र मंसिर १५ गतेदेखि काठमाडौं उपत्यका बाहिर प्रदेश नम्बर ३ का रोजगारदाताको सूचीकरण थालेको हो । सूचीकरणको लागि काठमाडौंमा फागुन ६ गतेसम्म र काठमाडौं उपत्यका बाहिर प्रदेश ३ मा फागुन १६ गतेसम्मको समय बाँकी छ ।

प्रदेश १ मा पनि सुरु

प्रदेश १ का रोजगारदाताको सूचीकरण आइबारदेखि सुरु भएको छ । सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका बारेमा जानकारी दिन प्रदेश नम्बर १ को लागि बिराटनगरमा पुस ८ गते अन्तक्र्रिया कार्यक्रम राखिएको सामाजिक सुरक्षा कोषका निर्देशक शंकर नेपालले जानकारी दिनुभयो ।

 सातै प्रदेशका रोजगारदाता र कामदारसँग योजनाका बारेमा जानकारी दिने उदेश्यले अन्तरक्र्रिया गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेश नम्बर २ का रोजगारदाताको सूचीकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचीकरण माघ १ गतेदेखि, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचीकरण माघ १५ गतेदेखि सुरु हुँदैछ । 

रोजगारदाताले आफू सूचीकृत भएको तीन महिनाभित्रमा आफ्नो संस्थामा कार्यरत श्रमिकको सूचीकृत गर्नुपर्नेछ । पछि नियुक्त भएका श्रमिकको हकमा नियुक्त भएको तीन महिना भित्रमा सूचीकृत गर्नुपर्नेछ ।

सूचीकरणमा नपरेका श्रमिकले उजुरी गरेमा त्यस्ता रोजगारदातालाई कारबाही गर्ने प्रावधान सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस् 

अब सबै श्रमिकलाई पेन्सन

सामाजिक सुरक्षा योजना : चुनौती कति ? कार्यान्वयन कसरी ?

'सामाजिक सुरक्षा कार्यक्रमको सफलता र असफलता श्रमिक र रोजगारदाताकै हातमा छ'

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया