‘प्रसाद’ काे पहिलाे हप्ताकाे व्यापार २ करोड

 पुस १, २०७५ आइतबार १८:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - गएको हप्ताबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र प्रसादले पनि सन्तोष जनक व्यापार गरिरहेको बताइएको छ । 

प्रदर्शनको एक हप्ता पूरा हँुदा चलचित्रले घरेलु बजारबाट २ करोड ग्रस कलेक्सन गर्न सफल भएको निर्माता सुवास थापाले बताए । 

चलचित्रले सुरुवाती २ दिनमा निकै आक्रामक व्यापार गरेको थियो त्यसयता भने चलचित्रले औसत व्यापार गरिरहेको छ । 

चलचित्रले २ दिनमै करिब १ करोडको व्यापार गर्न सफल भएको थियो । चलचित्रको विदेशमा पनि धेरै माग आएको निर्माताहरु बताउँछन् ।
नेपालमा प्रदर्शन हुनुअगावै चलचित्र प्रसादले अन्तराष्ट्रिय व्यापार सुरु गरेको थियो । 

यो चलचित्र अस्ट्रेलिया, स्पेन, फिनल्याण्ड, यूके र यूएईमा नेपाल प्रदर्शन अघि नै बिक्री भैसकेको थियो । पछि जापान, कोरिया, अमेरिकालगायतकाअन्य केही देशहरुमा पनि प्रदर्शन गर्ने पक्का भइसकेको निर्देशक दिनेश राउतले बताए ।

अधिकांश चलचित्रहरुको समीक्षामा विभिन्न टिका टिप्पणीहरु आउने गरेका छन् । प्रशस्तै कमीकमजोरी देखाइने गरेका छन् । तर चलचित्र प्रसादको कथाका साथै चलचित्रको प्रस्तुतिलाई समीक्षकहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

चलचित्रले दोस्रो हप्तामा पनि मल्टिप्लेक्स र सिंगल स्क्रीनमा राम्रो प्रदर्शन गरिरहेको छ । 

नायिका नम्रता श्रेष्ठको कामलाई दर्शकले रुचाएका छन् । नेपाली समाजमा घट्ने घटनाहरुको प्रतिविम्बका रुपमा चलचित्र प्रसादलाई लिइएको छ । 
अभिनेता विपिन कार्कीको अभिनयलाई पनि दर्शकले अत्यन्तै रुचाएका छन् । सबैको सकारात्मक टिप्पणीका कारण पनि चलचित्रले दोश्रो सातामा पनि सफल व्यापार गर्नेमा निर्माण युनिट ढुक्क देखिएको छ ।

निर्माण युनिटका अनुसार चलचित्रले सिंगलको तुलनामा मल्टिप्लेक्समा राम्राे व्यापार गरिरहेको छ । चलचित्रमा निस्चल बस्नेत, विपिनकार्की, नम्रता श्रेष्ठलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । 

चलचित्रले विवाह भइपछि पनि सन्तान नभएको कारणले आइपरेका विभिन्न उतार चढावहरुको कथा प्रस्तुत गरेको छ । 
चलचित्रमा समावेश गरिएका गीतहरुलाई पनि दर्शकले रुचाएका छन् । 

सुवास थापा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । 
चलचित्रमा राजेश श्रेष्ठको छायांकन र सुवास भुसालको संगीत रहेकाे छ । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया