कम्युनिष्ट र कांग्रेसले नागरिकलाई सिंहदरबारको सट्टा अन्याय र भ्रष्टाचार मात्रै दिए : अध्यक्ष थापा

 पुस १, २०७५ आइतबार १८:३४:१३ | निर्मला खडायत
unn.prixa.net

फाइल तस्बिर

कैलाली – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकले कम्युनिष्ट र कांग्रेसलाई मतदान गर्दा सरकारको महसूस गर्न नसकेको बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन उद्घाटन सभामा बोल्दै उहाँले गाउँ–गाउँमा सिंह दरबारको नारा दिएर स्थानीय निर्वाचन गराएका कम्युनिष्ट र कांग्रेसले नागरिकलाई सिंहदरबारको सट्टा अन्याय र भ्रष्टाचार मात्रै दिएको बताउनुभएको छ । 

नागरिकले विकासको सपना बोकी कम्युनिष्ट पार्टीलाई दुई तिहाइका साथ विजयी गराए पनि सरकारका शुरुवाती कामबाटै नागरिक सन्तुष्ट हुन नसकेको थापाले बताउनुभयो । देशको अवस्था हेर्दा निकै कहाली लाग्दो बनेको भन्दै उहाँले शान्ति सुरक्षा तथा भ्रष्टाचारबाटै सरकार पूर्ण रुपमा असफल भएको प्रष्ट हुने बताउनुभयो । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने दोषीलाई सरकारले नै लुकाउन खोजेको उहाँको आरोप छ । 

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने, नक्कली अपराधी खडा गर्ने, निर्मला पन्तको बुवाको नक्कली औंठा छाप लिने र अपराधीलाई लुकाउने काममा सरकारकै प्रशासनिक संयन्त्र सक्रिय भएर लागेको उहाँको आरोप छ । नागरिकको संरक्षण गर्ने जिम्मेवारी पाएको सरकार अपराधी संरक्षणमा लागेको उहाँको भनाइ छ । संगठन कमजोर भएका कारण आफूले चुनावमा हार बेहोर्नु परेको उहाँले बताउनुभयो ।

आफूसँग एजेण्डा सही भए पनि केही कार्यकर्ताहरुले नै घात गर्ने गरेको उहाँको गुनासो छ । चुनावमा नेपाली कांग्रेससँग सहकार्य गर्नु आफूहरुको भूल भएको उहाँले स्मरण गर्नुभयो ।

चुनावको पूर्व सन्ध्यामा पार्टीको विभाजन हुनु र कमजोर संगठन, साधन स्रोतको अभावका कारण पनि चुनावमा सोचे अनुसारको परिणाम पाउन नसकेको थापाको भनाई थियो । थापाले अबको विकल्प राप्रपा मात्रै रहेको बताउनुभयो । 

अन्तिम अपडेट: चैत २३, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया