सुदूरपश्चिममा रसायनिक मल अभाव

 पुस १, २०७५ आइतबार १९:५३:३७ | विमल बिष्ट
unn.prixa.net

डोटी – सुदूरपश्चिम प्रदेशमा रसायनिक मलको अभाव भएको छ ।

विगतका वर्षहरु जस्तै यस वर्ष पनि किसानहरू हिउँदे बाली लगाउनका लागि आवश्यक पर्ने रसायनिक मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा मलको मौज्दात सकिएपछि यस क्षेत्रमा मल खाद्यको अभाव देखिएको हो ।

सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी यी दुई कम्पनीले पाएको छ । यहाँका पहाडी जिल्लाहरुमा मलको अभाव सिर्जना भएको हो । मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने डोटीका स्थानीयबासी चक्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोरी र गहुँ उम्री सके मल पाउन सकेका छैनौं । उत्पादन त घट्ने नै भयो अब त ।’

किसानको आवश्यकता अनुसार मल पूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक दुर्गाप्रसाद पाण्डेयले स्वीकार्नुभयो । सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यक्ता पर्ने भए पनि झण्डै २० हजार मेट्रिक टन मात्रै मल पुग्ने गरेको क्षेत्रीय प्रबन्धक पाण्डेयले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आवश्यक्ता अनुसार मल आपूर्तिका लागि सरकारी पक्षबाट पहल नहुँदा समस्या आएको हो । हाम्रो गल्ति छैन् ।’ साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले कार्यालयले ३० प्रतिशत रसायनिक मल वितरण गरिसकेको जानकारी दिनुभयो ।

कृषकहरूको सहजताका लागि २०७० सालबाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको छ । गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालकहरू दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन् ।

कार्यालयले सबै स्थानीय तहमा पुर्‍याउने उद्देश्यका साथ मल वितरण गरिरहेको भए पनि गोदाममा नै मल नभएपछि उनीहरु अलमलमा परेका छन् । दैनिक सहकारीमा धाएर किसानले हैरान पारेपछि सहकारी सञ्चालकहरू पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न बाध्य छन् । किसानको मागको आधा पनि मल नपुग्दा किसान समस्यामा परेको उनीहरूको भनाई छ ।

.

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया