भुरीगाउँको खानेपानी ट्याङ्कीभित्र पसेका ३ जनाको फोटो सामाजिक सञ्जालमा भाइरल

 जेठ ३१, २०७५ बिहिबार १९:५४:९ | भावुक योगी
unn.prixa.net

ट्यांकी सफा गर्न पसेका कर्मचारी

बर्दिया – ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँ बजारमा रहेको भूरीगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई समितिको खानेपानी ट्याङ्की भित्र ३ जना व्यक्ति पसेको फोटो यतिबेला सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ ।

ट्याङ्कीभित्र तीन जना पसेको फोटो एक जना कर्मचारीले खिचेर फेसबुकमा राखेपछि फोटो सामाजिक सञ्जालमा भाइरल बनेको हो । खानेपानी ट्याङ्कीभित्र डुबुल्की मार्न गएको शंका गर्दै सामाजिक सञ्जालमा उपभोक्ताहरुले आक्रोश समेत पोखेका छन् ।

‘सामाजिक सञ्जाल फेसबुकमा आएको फोटो सत्य हो’, भूरीगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव चन्द्रमणि पौडेलले भन्नुभयो, ‘तर कर्मचारीहरु ट्याङ्की सफाईका लागि भित्र पसेका हुन्, त्यो ट्याङ्की सफाईपछि सबै पानी उपभोक्तालाई नदिई बाहिर फालिएको छ ।’

‘ट्याङ्कीभित्र पसेर यसरी हरेक ४ देखि ५ महिना भित्रमा सफाई गरिन्छ र फोहोर पानी बाहिर फालिन्छ’, यसपटक झाडापखाला प्रकोपको खबर आएपछि ट्याङ्की सफाई गरिएको भूरीगाउँ खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष मणिराज जैशीले भन्नुभयो । 

उपभोक्तालाई सूचना नदिई ट्याङ्की भित्र पस्नुले ट्याङ्की सफाइ गरिएको पानी उपभोक्तालाई सिधै दिइएको भन्ने आशंका गर्दै उपभोक्ताहरु आक्रोशित भएका छन् ।

२ लाख २५ हजार लिटर क्षमता रहेको ट्याङ्कीमा झण्डै आधा भागमा पानी छ तर खानेपानीका कर्मचारीहरु सफाइमा पुगेको भनाईप्रति अधिकांश उपभोक्ताहरु सन्तुष्ट छैनन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया