विश्वमा नेपालभन्दा अर्काे कुनै राम्राे ठाउँ नै छैन : अमेरिकी राजदूत र्‍यान्डी बेरी

 पुस २, २०७५ सोमबार ८:३७:५१ | अच्युत घिमिरे
unn.prixa.net

नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले गएको अक्टोबरदेखि नेपालमा आफ्नो कार्यभार सम्हाल्नुभएको छ । राजदूत भइसकेपछि पहिलोपल्ट उज्यालोलाई अन्तरवार्ता दिने क्रममा उहाँसँग अच्युत घिमिरेले गर्नुभएको कुराकानी :

महामहिम, तपाईंलाई उज्यालोमा स्वागत छ । हामी तपाईंसँग कुरा गर्न पाउँदा खुशी छौं । नेपालका लागि अमेरिकी राजदुतको कार्यभार सम्हालेको यो करिब २ महिनाको समय तपाईंले कसरी बिताउनुभयो ? कहाँ कहाँ घुम्न भ्याउनुभयो ?

सबैभन्दा पहिले त सबैलाई नमस्ते । म यहाँ आउन पाउँदा एकदमै हर्षित छु । मलाई थाहा छ तपाईंहरुको श्रोता र पाठक देशभर छन् र अझ देशभर मात्र नभएर संसारभर छरिएर रहेका छन् । म उहाँहरुलाई पनि यतिबेला 'हेल्लो' भन्न चाहान्छु ।

अँ, यहाँ नेपालमा फेरि आउन पाउँदा म एकदमै उत्साहित छु । पछिल्लो दुई महिना मेरो लागि अत्यन्तै राम्रो रह्यो । मैले सोचे भन्दा पनि व्यस्त समय हुन गयो । मैले धेरै समय विभिन्न महत्वपूर्ण कामहरु गरेर समय बिताएँ । विभिन्न सरकारी निकायका प्रमुखहरु, समाजका विभिन्न व्यक्तित्वहरु, विभिन्न संचारमाध्यमहरुसँगको सम्बन्ध बनाउनमा त्यो समय मैले खर्च गरेँ । 

त्यस्तै विकासका विभिन्न क्षेत्र र  गैरसरकारी संस्थाहरुसँग पनि भेट गरेँ । नेपाल अमेरिकाको ७० वर्ष लामो सहयात्राको सम्बन्धलाई ध्यानमा राखी त्यसलाई कायम राख्दै अझ राम्रो र दीगो सम्बन्ध बनाउनको लागि धेरै समय लिएर विभिन्न कामहरु गर्ने लक्ष्य राखेको छु । 

मैले पहिले पनि यहाँ काम गरिसकेकाले नेपाल मेरा लागि नयाँ ठाउँ होइन । यहाँ मैले पहिले चिनेका पनि विभिन्न साथीभाइहरु भएकाले नेपालमा फेरि काम गर्न पाउनु मेरो लागि अत्यन्तै खुशीको कुरा हो । यसका साथै मैले केही नयाँ सिक्ने मौका पनि पाएको छु । त्यसैले यो मेरा लागि पुरानो परिवेश र साथीभाइहरुसँगको

याद पुनः ताजा बनाउनुका साथै केही नयाँ सिक्ने अवसरका रुपमा पनि मैले यसलाई लिएको छु । 

योसँगै यस अवधिमा मैले दुई तीन पटक काठमाडौं बाहिरका जिल्लाहरुमा जाने मौका पनि पाएँ । म नेपाल दुई महिना अगाडि अक्टोबरमा आएको थिएँ । नेपालीहरुको दुई ठूला चाड दसैँ र तिहारलाई राम्रोसँग नियाल्ने मौका पाएँ । यसरी नेपाली धर्म र संस्कृतिसँग नजिकिने मौका पाएकोमा म निकै गौरव महसुस गर्छु । 

पछिल्लो दुई महिनालाई फर्केर हेर्दा केही थाकेको तर पहिले भन्दा निकै उत्साहित र आशावादी बनेको छु । 

सन् २००७ देखि २००९ सम्म तपाईंले नेपालमा अमेरिकी राजदुतावासको डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसक्नुभएको थियो । अहिले फेरि राजदूतकै रुपमा नियुक्त हुनुभएको छ । यो बीचमा तपाईंले पहिले नेपालमा बसेको भन्दा अहिले आउँदा भौगोलिक र साँस्कृतिक फरक के कस्तो पाउनुभयो ?  

साँच्चै, पछिल्लो १० वर्षमा नेपालमा धेरै विकास भएछ । यो कुराले मलाई निकै सुखद अनुभूति गरायो । सन् २००९ मा मैले नेपाल छोड्दा निकै लामो अवधिको द्वन्द्व सकिएर भर्खरै शान्ति साम्झौतासँगै नयाँ नेपालको स्थापना हुँदैथियो । तर यसपटक आउँदा मैले नेपाल पहिलेको भन्दा निक्कै स्थिर र धेरै नै सहज भएको पाएँ । 

एउटा कुराचाहिँ हो कि काठमाडौँको बाटोमा ट्राफिक पहिलेको भन्दा निकै बढेको छ । यो सँगसँगै काठमाडौंमा मान्छेहरुको दौडधुप पनि बढेको छ । तर ती कुराहरु भन्दा पनि मलाई नबदलेका कुराहरुले ज्यादा सुखद अनुभूति दिए । जस्तो कि नेपालीहरुको आतिथ्यता, राष्ट्रियता जुन म त्यतिबेलाको सम्झन्छु, अझै पनि उस्तै बलियो र अद्वितीय लाग्यो । 

नेपालीहरुको सांस्कृतिक मूल्य र मान्यतालाई उहाँहरुले दिइरहेकोे निरन्तरता देखेर म निकै श्रद्धा गर्छु । हामीले हाम्रो दूतावासमा कार्यरत कर्मचारीहरुले पनि नेपालीहरुको इतिहास, संस्कृति र तिनीहरुको महत्व बुझुन भनेर भरसक्दो प्रयास गरिरहेका छाैँ । हरेक चाडपर्वहरु हामी दूतावासमा नेपाली कर्मचारीहरु सँगसँगै मिलेर मनाउने गरेका छौं । मलाई सधै तानिरहने यो नेपालीपन, जसले मलाई फेरि नेपाल आउन पनि मदत गर्यो, त्यो नेपालीपन अझै पनि उस्तै देख्दा मलाई निकै खुशी लागेको छ । 

तपाईं पहिले नै २ वर्ष नेपालमा बसिसक्नुभएको व्यक्ति । तपाईं अरु देशहरु जस्तो कि विकसित राष्ट्रहरुमै पनि त राजदूत भएर जान सक्नुहुन्थ्यो होला । के म जान्न सक्छु महामहिम, तपाईंलाई त्यस्तो के कुराले फेरि नेपालमै आउन तान्यो ?

मलाई लाग्दैन कि विश्वमा यो भन्दा राम्रो ठाउँ अर्को कुनै हुन सक्छ ।   नेपालमा काम गर्न पाउनु मेरो जीवनकै गौरवको विषय पनि हो । म जवान छँदा मैले पहिले पनि नेपाल आउने मौका पाएको थिएँ । सन् २००७ देखि २००९ सम्म म नेपाल बस्ने मौका पाएँ । नेपालको इतिहास, परम्परा, संस्कृतिहरुबाट म निकै प्रभावित थिएँ । मुख्यतः यिनै  कुराहरुले मलाई फेरि नेपाल आउन आकर्षित गरिरहे । 

नेपाल आइसकेपछि एम्ब्यासडरको रुपमा फेरि मैले नेपालीहरुसँग काम गर्ने मौका पाएको छु, अझै गहिरिएर बुझ्ने मौका पाएको छु । मलाई यहाँको कामप्रतिको नैतिकता, नेपालीहरुको आतिथ्यता, उदारता निकै मन परेको छ । 

विगत ७० वर्षदेखि काठमाडौंमा हाम्रो मिसनलाई हाम्रा दूतावासका नेपाली कर्मचारीहरुले नै व्यवस्थापन गर्दै आएका छन् । यो ७० वर्ष लामो सम्बन्धलाई निरन्तरता दिनुमा उनीहरुको कार्यकुशलताको ठूलो हात छ । उनीहरु नै यसको पर्याप्त आधार बनेका छन् । मलाई उनीहरुको कार्यक्षमता थाहा छ । त्यसैले यो मेरा लागि निकै नै महत्वपूर्ण पेशागत अनुभूतिका रुपमा रहनेछ । 

मलाई थाहा छ नेपालमा धेरै नै सम्भावनका क्षेत्रहरु छन् । मलाई लाग्छ मैले आफ्नो स्रोतहरुको उपयोगबाट उनीहरुलाई ती सम्भावनाहरुको बारेमा अवगत गराउन सक्छु । 

मलाई नेपालप्रति एकदमै ठूलो लगाव छ । म त्यो व्यक्ति हुँ जसलाई थाहा छ कि यहाँ धेरै महत्व र संभावनाहरु छन् तर उनीहरुलाई त्यसको अवगत गराउन जरुरी छ भन्ने कुरामा विश्वास गर्छु । यति भनिरहँदा तपाईलाई लाग्ला कि हामी कसरी त्यस्तो रचनात्मक भूमिका निर्वाह गर्न सक्छाैँ ? मलाई यो विश्वास छ कि हामीले वर्षाैंदेखि सम्भावनाहरुलाई यथार्थमा बदल्न मद्दत गरिरहेका छौं । मानिसहरुको चरित्र, कामप्रतिको बफादारी, बलियो ईतिहास र संस्कृति, संभावित स्वतन्त्रता, स्वतन्त्र रुपमा दक्षिणी टिमवर्कको अभ्यास गर्ने क्षमता जस्ता कुराले हामी दुवै पक्ष, नेपाली र अमेरिकी नागरिकहरुका लागि एक सकारात्मक परिणाम दिन्छ । 

म एक आशावादी मान्छे हुँ । म दुई महिना अगाडि यहाँ आउँदा भन्दा अहिले अझ धेरै आशावादी भएको छु कि हामी सबै मिलेर काम गर्यौ भने सफल हनेछौं, र त्यसले दुवै देशको लागि हित गर्नेछ । 

तपाईंलाई नेपालीहरुको कुन संस्कृति बढी मन पर्‍याे ? हामीसँग बाँड्नयोग्य केही सम्झनाहरु छन् तपाईंको स्मृतिमा ? 

(हाँस्दै...).पक्कै पनि, यहाँको आतिथ्यता, उदारता एकदमै राम्रो छ । मैले पहिले नेपाल आउँदा पनि भद्र आतिथ्यता र बताउनै नसकिने गरी माया पाएको थिएँ जसले गर्दा मलाई वास्तविक नेपाल र नेपाली चिनाउन मद्दत गर्यो जुन कुरा राजदुतको अफिसमा बसेर मात्र चिन्न सम्भव थिएन । 

त्यतिबेला मैले कसैको घरमा परिचित वा पदको आधारमा पाउने सम्मानका रुपमा हैन बरु एउटा पाहुना बनेर नेपाली संस्कृतिक  र धार्मिक कुराहरुको अनुभव गर्ने मौका पाएको थिएँ जसले मलाई नेपालमा परिवारको महत्व, सांस्कृतिक महत्व, निम्न तहमा पनि कति प्रशंसनीय छ भन्ने कुरा बुझ्न र वास्तविक नेपाल चिनाउन मद्दत गरेको थियो । 

मैले विभिन्न घरहरुमा पाएको आतिथ्यता, त्यो पारिवारिक सञ्जालभित्रको माया, विभिन्न भ्रमणहरु, सन् २००९ मा नेपाल छोड्नुअघि र छोडेपछि विभिन्न नेपालीहरुसँग भएको कुराकानी, विभिन्न चाडपर्व, संस्कृति सबै जना मिलेर मनाउने उनीहरुको उदारता, आतिथ्यताले मलाई धेरै नै प्रभावित गरेको छ । 

हुन त मैले अघि पनि आँशिक रुपमा यो प्रश्न तपाईंसंग गरिसकेँ महामहिम, तपाईं कति ठाउँमा घुम्नु भयो ? मेरो मतलब, तपाईं यो पटकको कार्यकालमा कता कता घुम्न चाहनुहुन्छ ?

यो छोटो समयमा मैले घुमेका ठाउँहरुको बारेमा कुरा गर्न प्रर्याप्त समय त नपुग्ला तर यत्ति चाहिँ भन्छु कि मेरो पहिलेको बसाइँमा मैले तराई जाने मौका पाएँ, त्यस्तै पहाड, हिमालतिर पनि जाने मौका पाएँ । कामको व्यस्तताको कारणले गर्दा धेरै ठाउँ जाने ईच्छा हुँदाहुँदै पनि जान मिलेन तर यसका बावजुद पनि मैले झापा जिल्लादेखि सिमिकोटमा एक स्वतन्त्र रेडियोको उद्घाटन कार्यक्रममा दश वर्ष अघि जाने मौका पाएको थिएँ । र, त्यो बीचमा अन्य ठाउँहरुमा पनि पुगेँ ।

यो पटक पनि यहाँ आइसकेपछि २, ३ पटक विभिन्न मिटिंगहरुको सिलसिलामा उपत्यका बाहिर जाने मौका मिल्यो, जुन ठाउँहरुमा पहिले नेपाल आउँदा पनि म जान चाहेको थिएँ तर जान पाएको थिइन । 

तीमध्ये भैरहवादेखि लुम्बिनी पनि एउटा थियो । मलाई त्यहाँ भइरहेको आर्थिक विकास, पूर्वाधार विकासले एकदमै अचम्मित पार्यो । अझ म एकदमै बढी प्रभावित भएको त गौतमबुद्घको जन्मस्थान हेर्दा हो । त्यहाँको विकास, संभावनाहरु र एकदमै ठूलो मात्रामा उपस्थित तिर्थयात्री, भक्तजनहरुले पनि मलाई असाध्यैै रमाइलो अनुभुति दिलाए । 

गएको हप्ता पनि एउटा छुट्टै उद्देश्य लिएर म दोलखा र रामेछाप जिल्ला जाने मौका पाएँ । नेपालस्थित अमेरिकी मिसन, यु.एस.ए.आई.डी., विश्व बैंक, नेपाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जस्ता विभिन्न संघ संस्थाका व्यक्तित्वहरुसँग त्यहाँ गएर भूकम्पबाट प्रभावित घर परिवार, स्कुल जस्ता क्षेत्र र पिडितहरुको पुनःस्थापनाको बारेमा बुझ्ने मौका पाएँ जसले मलाई निकै भावुक पनि बनायो । 

मैले नेपाल बसाईमा घुम्न चाहेका ठाउँहरुको लिस्ट निकै लामो छ । नेपालमा धेरै विविधता रहेको छ । यसको बारेमा भइरहेका छलफल पनि म बुझ्न सक्छु । अमेरिकामा पनि विविधता छ । यस्तो विविधताले नै देशको परिचय बोकेको हुन्छ र यो नै राष्ट्रको एक ठुलो शक्ति हो । त्यसैले म नेपालका विभिन्न ठाउँहरुमा गएर यी विविधताहरुको अनुभव संगाल्न चाहन्छु । 

पछिल्लो समय अमेरिकी सरकारले नेपालका साँस्कृतिक सम्पदाहरुमा आफ्नो सहयोग बढाएको जस्तो देखिन्छ । अन्य क्षेत्र भन्दा यो क्षेत्रमा बढी आकर्षित हुनुको कारण के होला ?

मेरो आफ्नो व्यक्तिगत लगाव पनि यस्ता कुराहरुमा रहेका छन् । केही दिनअघि मात्र मैले काठमाडौंको दरवार स्क्वाएर जाने मौका पाएँ जहाँ विगत १५ वर्ष देखि यु एस मिसनले नेपाली संघ संस्थाहरुलाई यो सांस्कृतिक पुरातत्वको महत्व भएको ठाउँ र भवनहरुको संरक्षण, संवर्द्धनमा महत्वपूर्ण सहयोग गर्दै आएको छ ।

म गर्व गर्छु हाम्रो पहिलो काम, त्यो मेरो आफ्नै द एम्ब्यासडर फण्ड फर कल्चरल प्रिजरभेसन जहाँ विगत १५ वर्ष यता नेपालमा हामीले २३ वटा परियोजनाहरु संचालन गरिसक्यौं । त्यसमध्ये झण्डै ७ वटा भन्दा बढी योजनाहरु काठमाडौँ दरवार स्क्वाएरमा रहेका छन् ।  काल भैरव मन्दिर जुन अहिले हेर्दा पनि धेरै वर्षअघि हेरेको जस्तै सुन्दर लाग्यो मलाई, त्यहाँदेखि गद्दी बैठक पुनर्स्थापनाका लागि हामीले हालसालै गरेको महत्वपूर्ण लगानी हो । तर यो सांस्कृतिक पुरातत्वको महत्व भएको  ठाउँ र भवनहरुको संरक्षण, संवर्धनमा पुरानै योजनाहरुको निरन्तरता नै हो । मलाई आशा छ हामीले आउँदा वर्षहरुमा पनि यस्ता महत्वपूर्ण कार्यलाई निरन्तरता दिनेछौं । 

अब अलिकति व्यक्तिगत कुराहरु पनि गरौं, महामहिम । के म जान्न सक्छु कि तपाईंलाई नेपालमा मनपर्ने खाना के हो ?

(केही हाँस्दै) ...र आधारभूत कुराबाटै शुरु गरौं होला । मलाई सामान्यतया दालभात नै मन पर्छ । धेरै वर्ष दक्षिण एसिया बसेर पनि होला मेरो व्यञ्जन सूचीमा अफिसमा मात्र नभएर घरमा पनि दाल नै पर्छ । के म अर्को कुरा पनि थप्न सक्छु ? 

मलाई नेपाली खानामा तरकारी पनि मन पर्छ । कुखुराको मासु पनि मन पर्छ तर यो भन्दा पनि धेरै अचार मन पर्छ । नेपाली अचारहरुको स्वादमा पनि अचम्मको विविधता छ । यसले कुनै पनि परिकारमा आफ्नो छाप छोड्न सक्छ । मेरो भान्छाको दराजमा सातवटा फरक फरक स्वादका अचारहरु छन् । अचार नेपाली खानेकुरामध्येको मेरो मन पर्ने परिकार हो । 

नेपालमा तपाईंले नेपालीहरुसंगै अथवा दूतावासका कर्मचारीहरुसँग बसेर मनाएको कुनै चाडपर्व छ ?

छ नि । मैले दसैँ र तिहार यो भन्दा अगाडि पनि भने । हामीले केही वर्ष अगाडि एउटा परम्पराको सुरुवात गरेका छौ मिसनमा । कुनै तोकिएको बिदामा जानु अगाडि हामीले सांस्कृतिक कार्यक्रम गर्ने गरेका छौं । यो एकदमै महत्वपूर्ण सुविधा पनि हो । यसले विभिन्न संस्कृति परम्पराहरु बुझ्न, बुझाउन मद्दत गर्छ ।

त्यस्तै यसले स्थानीय कर्मचारीलाई विभिन्न गितहरु गाउने, अन्य प्रतिभा देखाउने मौका दिन्छ । यो मात्र नभएर अझ रमाइलो कुरा त के छ भने अमेरिकन कर्मचारीहरु पनि उक्त कार्यक्रममा भाग लिने, नाच्ने, गाउने गर्छन् । त्यसैले यस्ता कार्यक्रमहरु मेरा लागि ठूलो प्रतिकात्मक कार्यक्रम हुन् । त्यस्तै गएको तिहार हामीले दुतावासमा मात्र नभएर घर घरमा गएर पनि मनायौं । नेपाली कला संस्कृतिको छुट्टै महत्व छ ।

मलाई केही चिजहरुले निकै घच्घचाएका छन् । तीमध्ये एउटा, एकपटक मैले काठमाडौंको दरवारमार्गको कुनै घरको दोस्रो तल्लाको झ्यालबाट ईन्द्रजात्रा हेर्ने अवसर पाएँ । अर्को पटक बिस्केट जात्रा भक्तपुरमा कुनै अग्लो घरको छतबाट हेर्ने मौका पाए । त्यसरी हेर्न पाउनु, त्यो भिडको एक हिस्सा बन्नु, त्यो समाजको हिस्सा बन्न पाउनु मेरा लागि मेरो जीवनको नै सर्वोत्कृष्ट अनुभव थियो । 

नेपाली साँगीतिक भण्डारको पनि पक्कै तपाईंले अध्ययन गर्नुभएको छ होला । कुनै त्यस्तो गीत याद छ तपाईंलाई मनपर्ने नेपाली गीत ?

पक्कै पनि । (हाँस्दै) ....मेरो मन पर्ने नेपाली गीत छ । 

जब म सन् २००७ देखि २००९ मा नेपालमा थिएँ त्यतिबेला मैले आनि छोइंग डोल्मालाई म बस्ने घरमा स्वागत गर्ने मौका पाएको थिएँ जसमा नेपाली र अमेरिकी समूहको भेला थियो । हामीहरु शान्ति र मानव अधिकारसँग सम्बन्धित कुराहरुमा छलफल गरिरहेका थियौ । त्यतिबेला आनीले धेरै सुन्दर प्रस्तुति दिनुभएको थियो । मलाई त्यो अहिले पनि एउटा सफा तस्बिर जस्तो याद आइरहन्छ । उहाँलाई यसरी सुन्न र हेर्न पाउनु निकै गौरवको कुरा थियो । उहाँले गाउनु भएको  फूलको आँखामा...भन्ने बोलको गीतबाट म निकै प्रभावित भएको थिए ।

अन्त्यमा केही भन्न मन लागेको छ तपाईंलाई ?

पक्कै पनि । म नेपाल र अमेरिकाको साझेदारीको बारेमा कुरा गर्न चाहान्छु । म फेरि नेपाल आएर काम गर्नुको पछाडि यो साझेदारीमा काम गर्ने चाहाना हुनु नै हो । यो साझेदारी नेपाल सरकारसँग मात्रै नभएर नेपाली जनताहरुसँग पनि अझ गाढा र प्रगाढ बनाउनु हो । हाम्रो ७० वर्ष लामो सम्बन्धले अहिले विभिन्न राजनैतिक स्थिरता, आर्थिक विकास जस्ता अन्य कार्यहरुले नेपाल र नेपालीलाई मद्दत पुर्याउने उद्देश्यले लिएको छ ।

त्यस्तै, नेपालीहरुको सबल र स्वावलम्बी हुने अभ्यासको कदममा सहयोग गर्नु पनि यो साझेदारीको उद्देश्य हो । मैले धेरै प्रतिभावान् नेपाली कर्मचारीहरुसँग काम गर्ने सौभाग्य पाएको छु । हाम्रो दुतावास मातहतमा ७०० भन्दा बढी कर्मचारीहरु विभिन्न क्षेत्रमा कार्यरत छन् । उनीहरु बीचको सम्बन्ध र साझेदारीहरुबाट पनि प्रगतिको ज्वलन्त उदाहरण प्रत्येक दिन मैले देख्ने मौका पाएको छु । राजदुत भएर मैले गर्न खोजेका राम्रा कामहरुको म एक दुई उदाहारण राख्न चाहन्छु ।

नेपाल सरकारले वर्षको दुई पटक बालबालिकालाई खुवाउने भिटामिन ए कार्यक्रम छ । यसले जीवन बचाउने गर्दछ । यसले हजारौं बालबालिकालाई जीवन दिएको छ । यो कार्यक्रम अहिले पूर्णतः नेपाल सरकारले संचालन गर्ने गरेको छ । आज भन्दा ३० वर्ष अघि युएसएआइडीको आर्थिक सहयोगबाट यो कार्यक्रम शुरु गरिएको थियो । 

त्यस्तै अर्को एउटा उदाहरण, गत हप्ता म रामेछाप पुगेको थिएँ, एउटा पूर्व शिक्षकका रुपमा मेरा लागि यो पनि सुखद कुरा हो कि हामीले नेपालस्थित अमेरिकी मिसन, विश्व बैंक, एडिबी युएसएआइडी,  नेपाल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँगको सहकार्यमा थोरै लगानी गरेर भूकम्पका कारण ध्वस्त भएको विद्यालय पुनःनिर्माण गरेर हस्तान्तरण गर्‍याैँ । त्यहाँ ८०० जना विद्यार्थीहरु यो विद्यालयबाट लाभान्वित हुन पाए । अब तिनीहरुले राम्रो शिक्षा लिन पाउनेछन् । यसले मलाई सारै नै खुशी तुल्याएको छ । मलाई अझ खुशी पार्ने कुरा त के छ भने हामी अब केही महिना भित्रैमा यस्तै १७ वटा अरु विद्यालयहरुको पुननिर्माण सक्ने गरी काम गरिरहेका छौं ।

यस्ता केही उदाहरणात्मक कामले मलाई राजदूतको रुपमा यहाँ काम गर्दा सुखद अनुभूति दिएको छ ।

धन्यवाद महामहिम तपाईंको महत्वपूर्ण समयका लागि । 

धेरै धन्यवाद । मलाई यहाँ सहभागी गराउनुभएकोमा ।


 

अन्तिम अपडेट: चैत ३०, २०७५

अच्युत घिमिरे

घिमिरे उज्यालाे रेडियाे नेटवर्कका कार्यक्रम संयाेजक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया